सदरलाइनडटकम,
कोहलपुर (बाँके) : दाङमा शुक्रबार साँझ भएको दुर्घटनाका घाइतेको उपचारमा प्रदेश सरकारले चासो व्यक्त गरेको छ । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलले दुर्घटनाका घाइतेहरुको उपचारका लागि चासो व्यक्त गर्दै बिरामीलाई काठमाडौँ पठाउन हेलिकप्टरको व्यवस्था गरेका छन् ।
नेपालगञ्ज मेडिकल कलेज कोहोलपुरमा उपचार भइरहेका १४ जना बिरामीहरुलाई थप उपचारका लागि काठमाडौँ लैजानुपर्ने अवस्था आएपछि मुख्यमन्त्री पोख्रेलको पहलमा बिरामी लिन काठमाडौँबाट हेलिकप्टर कोहोलपुर उडेको मुख्यमन्त्रीका स्वकिय सचिव सरोज रेग्मीले जानकारी दिए ।
घाइतेहरुको उपचारमा कुनै कसर बाँकी नराख्ने भन्दै प्रदेश सरकारले केन्द्रीय सरकारसँगको समन्वयमा हेलिकप्टर कोहोलपुर पठाएको रेग्मीले जानकारी दिए । दाङको घोराहीमा रहेको कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयका विद्यार्थी चढेको बस दुर्घटना हुँदा २३ जनाको मृत्यु भएको थियो । सल्यानको कपुरकोटस्थित मुलपानी वनस्पति उद्यानको अवलोकन गरी फर्कदै गर्दा तुलसीपुर सल्यान सडक खण्डको तुलसीपुर उपमहानगरपालिका वडानम्वर–३ राम्रीमा शुक्रबार साँझ बस दुर्घटना भएको थियो ।
यसैबीच ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायव उपरीक्षक रमेशबहादुर सिंहले नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारत १३ जना दाङ्ग घटनाका घाइतेलाई थप उपचारको लागि काठमाडौ हेलिकप्टरमार्फत पठाउन लागियको जानकारी दिए ।