विपद् सम्वन्धी अवधी भाषामा पाठ्यक्रम निर्माण

४ पुष २०७५, बुधबार १६:४६
 

सदरलाइनडटकम,
नेपालगञ्ज : बाँकेको डुडुवा गाउँपालिकाअन्तर्गतका विद्यालयहरुमा स्थानीय अवधी भाषामा विपद् सम्वन्धी पाठ्यक्रम लागु हुने भएको छ । विद्यालयमा विपद् जोखिम न्युनीकरणका लागि स्थानीय पाठ्यक्रम तयार पारिएको हो ।
सेभ द चिल्ड्रेनको सहयोगमा बाँके युनेस्को क्लब र डुडुवा गाउँपालिकाको संयुक्त पहलमा पाठयक्रम निर्माण गरिएको छ । नेपाली भाषामा राम इकबाल मण्डल, बद्रेआलम खाँ, गोपीचन्द्र बर्मा र मोहम्मद हुसेन खाँको समुहले तयार पारेको पाठ्यक्रमलाई स्थानीय अवधी भाषामा उपलब्धीमुलक बनाउनका लागि राकेश कुमार मिश्रले अनुबाद गरेका छन् ।
विपद्अन्तर्गत बाढी, आगलागी, सर्पदंश, भुकम्प, शितलहर, गर्मी, हुरी बतास, सवारी दुर्घटनाका विषयमा आठ वटा पाठ निर्माण गरि अनुबाद गरिएको छ । सो विषयका पाठ शिर्षकलाई विद्यालयका कक्षा एकदेखि पाँच कक्षासम्मका विद्यार्थीलाई अध्ययन गराइने छ । अवधी समुदायका बालबालिकाका लागि मातृ भाषामा अध्यापन गराउँदा छिटो, सहज र सरलरुपमा बुझ्नका लागि सो पाठ्यक्रम तयार पारिएको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताए ।
गाउँपालिकामा शिक्षाको अवस्था निकै दयनीय रहेकाले अवधी भाषी समुदायको बाहुल्यतामा उक्त पाठ्यक्रमले सहयोग गर्ने अध्यक्ष चौधरीले विश्वास ब्यक्त गरे । गाउँपालिकाअन्तर्गत १७ वटा सामुदायिक बिद्यालय र १५ वटा मदरसामा सो पाठ्यक्रम लागु गरिने बाँके युनेस्को क्लबका कार्यक्रम संयोजक दिपेन्द्र चौधरीले जानकारी दिए । नेपालको शिक्षा क्षेत्रमा विपद् जोखिम न्युनीकरण तथा बिद्यालय सुरक्षा प्रबद्र्धन र सुदृढीकरण परियोजनाअन्तर्गत बिद्यालयमा विपद् जोखिम न्युनीकरणका लागि बुधवार स्थानीय पाठयक्रम प्रशिक्षण तालिमको समेत आयोजना गरिएको थियो ।
विद्यालयमा पठनपाठनका लागि बिद्यालयका शिक्षकलाई अभिमुखीकरण गरिएको छ । शिक्षकलाई सम्वन्धित विषयबस्तुमा रही पठन शैलीबारे तालिम प्रदान गरिएको हो । तालिमको उद्घाटन कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई बाँकेका प्रमुख गोर्खबहादुर थापाले स्थानीय अवधी भाषाको पाठ्यक्रमले विद्यालयमा बालबालिकाको नियमितता बढ्ने भन्दै सिकाई उपलब्धी हुने बताए ।
उहनले स्थानीय परिवेशलाई प्राथमिकता दिई विपद् अवस्थामा पुर्बतयारीका लागि ज्ञान सिपमा बृद्धि हुने जिकिर गरे । कार्यक्रमको शैक्षिक तालिम केन्द्र बाँकेका प्रमुख माधव शर्माले सहजीकरण गरेका थिए ।

Next Post

क्रियटिभ बुक्सको ‘एलबी क्षेत्री : कप्तान–१९९८’ पुस तेस्रो सातादेखि बजारमा

४ पुष २०७५, बुधबार १६:४६
सदरलाइनडटकम, नेपालगञ्ज  : विभिन्न क्षेत्रमा योगदान दिएका व्यक्तित्वहरुको आत्मकथालाई प्राथामितकाका साथ स्थान दिदै आएको क्रियटिभ बुक्सले खेलकुद् विधाको अर्को पुस्तक ‘एलबी क्षेत्री : कप्तान १९९८’ पुस तेस्रो साता बजारमा ल्याउने भएको छ । सोही क्रममा आज पुस ४ गते बुधबार पुस्तकको कभर सार्वजनिक गरिएको छ । नेपाली राष्ट्रिय क्रिकेट टिमका पुर्व […]