प्रविधि भित्रिएसँगै मकै खेतीतर्फ कृषक आकर्षित

६ मंसिर २०७५, बिहीबार १८:५९
 

सदरलाइनडटकम,
डुडुवा (बाँके), यदुराज मिश्र : मेशिनबाट मकै छर्ने ‘सीड कम फर्टी ड्रिल’ मेशिनको बिहीवार बाँकेको डुडुवामा परीक्षण गरिएको छ । सिमिट इण्टरनेशन (सिसा) नेपालको प्राविधिक सहयोगमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन इकाई मकै जोनले डुडुवा गाउँपालिका वडा नं. २ बेतहनीमा मेशिनको परीक्षण गरेको हो ।
मेशिनबाट बीउ छर्दा छिटो हुने भएकोले समयसमेत बच्ने मकै जोनका प्रमुख एवं बरिष्ठ कृषि अधिकृत देवेशकुमार मिश्रले बताए । बाँकेका कृषकले गत बर्षदेखि मेशिन मार्फत मकै छर्न थालेको जानकारी दिँदै उनले नयाँ प्रविधि भित्रिएसँगै कृषितर्फ आकर्षण बढेको बताए । गत बर्ष १२ हेक्टर जमिनमा मेशिनद्वारा मकै छरिएको भन्दै उनले यसबर्ष सीड ड्रिल मेशिनमार्फत ३०–४० हेक्टरमा मकै छर्ने योजना रहेको जानकारी दिए ।
मकै जोनले लागु भएपछि मकै खेतीको क्षेत्रफल र कृषक संख्या बढेको उल्लेख गर्दै प्रमुख मिश्रले बाँकेमा ३५ कृृषक समूह र सहकारीमा आवद्ध एक हजार पाँचसय ४३ जना कृषकले मकै खेती गर्दै आएको जानकारी दिए । परीक्षण कार्यक्रममा मकै जोन सञ्चालक समितिका संयोजक एवं अगुवा कृषक जयपाल मौर्यले मकै छर्ने र रासायनिक मल हाल्ने काम मेशिनले एकसाथ गरेकाले समय र लागतको बचत भएको बताए ।



जाफरपुर्वाका किसान रफिक खाँले मेशिनबाट मकै छरेको देखेपछि मकै खेती गर्न इच्छा जागेको बताए । खेतबारीमा काम गर्ने कामदार पाउन समस्या भएको बेला नयाँ प्रविधिले मकै खेती गर्न सहयोग पुर्याउने भन्दै यस वर्षदेखि आफुले पनि मकै खेती गर्ने योजना बनाएको बताए । बाँकेमा धान रोप्ने, गहुँ छर्ने, काट्ने मेशिनको प्रयोग गर्ने कृषकको संख्या बढ्दै गएको सिसा नेपालका क्षेत्रीय संयोजक शालिन आचार्यले जानकारी दिए ।
सीड ड्रिल मेशिनले एक घण्टामा कम्तीमा एक विघा क्षेत्रमा मकै छर्न सक्ने भन्दै उनले मेशिनको प्रयोगले श्रमशक्तिको समस्याबाट मुक्ति मिल्ने र कम समयमा धेरै काम गर्न सकिने कुरामा जोड दिए ।

Next Post

डडेल्धुरामा बस दुर्घटना हुँदा सोह्र जनाको मृत्यु, सत्ताइस घाईते

६ मंसिर २०७५, बिहीबार १८:५९
सदरलाइनडटकम, डडेल्धुरा : डडेल्धुराबाट डोटी जाँदै गरेको स्कुल बस दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ । डा. केआई सिंह राजमार्गअन्तर्गत डडेल्धुराको अमरगढी नगरपालिका ११ रडुवा खोलामा से १ क २९३ नम्बरको बस दुर्घटना हुँदा १० जनाको घटनास्थलमा र ६ जनाको जिल्ला अस्पताल डडेल्धुरामा मृत्यु भएको हो । प्रमुख जिल्ला अधिकारी […]

सम्बन्धित