नेपालगञ्जका पत्रकार सिद्धिकीको निधन

६ मंसिर २०७५, बिहीबार १५:४३
 

सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्जबाट प्रकाशित समय अधिकार दैनिक पत्रिकाका प्रधान सम्पादक एवं प्रकाशक रहिसअहमद सिद्धिकीको निधन भएको छ । नेपाल पत्रकार महासंघ बाँकेका सदस्य सिद्दिकीको गएराति उपचारका क्रममा नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा निधन भएको हो ।
५६ वर्षीय सिद्धिकीको गएराति साढे ११ बजे निधन भएको पत्रकार अमन अन्सारीले जानकारी दिएका छन् । लामो समयदेखि अस्वस्थ रहेका पत्रकार सिद्धिकीको आर्थिक अवस्था बिग्रिएपछि नेपालगञ्जमै उपचार भईरहेको थियो । लिभरको समस्या रहेको सिद्धिकीको लामो समय उपचार गराउँदा पनि स्वास्थ्यमा सुधार हुन सकेको थिएन । दुई वर्षअघि उनको मुटुको शल्यक्रियासमेत भएको थियो ।
पत्रकार सिद्धिकी दारुलउलूम फैजुन्नबी जामा मस्जिद तथा ईदगाह सञ्चालक समितिका अध्यक्षसमेत हुनुहुन्थ्यो । उनको नेपालगञ्जस्थित कब्रिस्तानमा इस्लाम धर्मानुसार बिहीवार अन्त्येष्टि गरिएको छ ।
सिद्धिकीको निधनप्रति विभिन्न संगठनद्वारा शोक व्यक्त
यसैबीच नेपाल पत्रकार महासंघ बाँके शाखाका साधारण सदस्य तथा समय अधिकार दैनिकका सम्पादक प्रकाशक रहिस अहमद सिद्धिकीको असामायिक निधनले पत्रकार महासंघ बाँके स्तब्ध भएको जनाएको छ । महासंघले बिहीवार जारी गरेको शोक बक्तब्यमा सिद्धिकीको निधनले बाँकेको पत्रकारिता क्षेत्रमा अपुरणीय क्षति पुगेको उल्लेख छ ।
यस्तै शोक बक्तब्य जारी गर्दै प्रेस चौतारी बाँकेले स्वर्गीय पत्रकार सिद्धिकी प्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनप्रति समबेदना प्रकट गरेको छ ।
यसैगरी नेपाल प्रेस युनियनका केन्द्रीय पार्षद् सिद्धिकीको आसमायिक निधनले नेपालगञ्जको समग्र पत्रकारिता क्षेत्र र प्रेस युनियनलाई ठूलो क्षति पुगेको युनियन बाँकेद्वारा जारी शोक बक्तब्यमा उल्लेख छ ।

Next Post

अष्ट्रेलियामा रातो धुलोसहितको आँधी

६ मंसिर २०७५, बिहीबार १५:४३
सदरलाइनडटकम, काठमाण्डौ : अष्ट्रेलियाको न्यू साउथ वेल्स क्षेत्रबाट सुरु भएको धुलोसहितको आँधीले सिड्नी आसपासको जनजीवन कष्टकर भएको छ । अधिकारीहरुले बिहीवार आएको आँधीले जनस्वास्थ्यमा नराम्रो असर पार्ने भनेर सावधान गराएका छन् । ५ सय किलोमिटर चौडा धुलोसहित फैलिएको आँधीले सहर घेर्न थालेको र यसबाट सबैले सावधान अपनाउनुपर्ने उनीहरुले बताएका छन् । […]