थाइल्याण्डमा बक्सिङ रिङमै बालकको मृत्यु

२८ कार्तिक २०७५, बुधबार १६:३२
 

सदरलाइनडटकम,
काठमाण्डौ : थाइल्याण्डमा भएको बक्सिङ खेलमा १३ वर्षीय बालकको मृत्यु भएपछि चौतर्फी विरोध भएको छ । मुआए थाई मार्सल आर्ट भनिने पाशविक एवं निर्मम खेलमा बालबालिकाले खेल्न नपाउने गरी प्रतिबन्ध लगाउन फेरि आवाज उठेको छ ।
थाई बक्सिङ देशैभर निकै लोकप्रिय छ र युवा अवस्थामै धेरै खेलाडी प्रतिष्ठा एवं धनको लोभमा यस खेलमा आकर्षित हुने गरेका छन् । तर जतिसुकै आलोचना भएपनि १० वर्ष नपुग्दै रिङमा बालबालिकालाई खेलाउने प्रचलन घट्नुको साटो हरेक वर्ष बढ्दैछ । बच्चाहरुले रिङमा आफ्ना प्रतिद्वन्द्वी खेलाडीका टाउकामा खुट्टा र कुहिनाले निर्मम किसिमबाट प्रहार गर्दछन् ।
यी बाल खेलाडीले प्रायः टाउकामा सुरक्षा कवच समेत लगाएका हुँदैनन् । अधिकांश गरिब परिवारबाट आएका यी बालकहरु परिवारको जीवन गुजाराका आधार समेत बनेका छन् । बच्चाहरुलाई रिङमा उतार्नु एक किसिमले जुवाको खाल जस्तो हुने गर्दछ । अनुचा तासाकोको बैंकक नजिकको सामुट प्राकान प्रान्तमा नोभेम्बर १० मा खेलिएको एक खेलमा रिङभित्रै मृत्यु भएको थियो ।
विपक्षी बालकले अनुचाका टाउकामा धेरै प्रहार गरेसँगै उनी भुँइमा ढलेका थिए । स्मार्टफोनमा खिचिएको तस्वीरमा अनुचाको टाउकोमा विभत्स किसिमबाट प्रहार गरिएको देखिएको छ । अचेत भएर ढलेका अनुचालाई मद्दत गर्न उनका सहयोगी तत्कालै रिङभित्र प्रवेश गरे पनि उनको निधन भइसकेको थियो ।
प्रहरीका अनुसार, अनुचाको मृत्यु मस्तिष्कघातबाट भएको छ । स्थानीय सञ्चार माध्यमहरुका अनुसार यी बालक आठ वर्षको उमेरदेखि नै बक्सिङ खेल्ने गरेका थिए । उनले यसअघि १५० भन्दा बढी खेल खेलिसकेका थिए । उनका प्रतिस्पर्धी बालक निटीक्रोन सोन्डे पनि उस्तै उमेरका रहेको प्रहरीले जनाएको छ । अनुचाको मृत्युप्रति उनले फेसबुकबाट दुःख प्रकट गरेका छन् । यी दुवै बालकले टाउकोको सुरक्षाका लागि सुरक्षा कवच लगाएका थिएनन् ।
थाइल्यान्डमा १२ वर्षभन्दा मुनिको उमेरका बच्चाहरुलाई रिङमा उतार्ने कार्य बन्द गर्न एउटा विधेयक संसदमा विचाराधीन छ । अनुचाको मृत्युपछि भने यो विधेयक पारित हुने सम्भावना बढेको छ । अनुचाको मृत्यु भएपछि यो खेलमा बालबालिकाको प्रयोगका विरुद्धमा चौतर्फी आवाज उठेको छ ।
कतिपयले निर्णायकको गल्तीका कारण बालकको ज्यान गएको आरोप लगाएका छन् । थाइल्यान्डका पर्यटन तथा खेलकूद मन्त्रीको भनाइ उद्धृत गर्दै स्थानीय सञ्चार माध्यमले मस्यौदा विधेयक जतिसक्दो चाँडो संसदमा पेश गरिने बताएका छन् ।
(एजेन्सीको सहयोगमा)

Next Post

बिद्यालयमा हुने हिंसा निरुत्साहित गर्न सरोकारवालाको जोड

२८ कार्तिक २०७५, बुधबार १६:३२
सदरलाइनडटकम, नेपालगञ्ज : बिद्यालयमा हुने हिंसालाई निरुत्साहित गर्न सरोकारवालाहरु सजक बन्नुपर्ने बुधवार नेपालगञ्जमा आयोजित एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । शिक्षाको ज्योति प्रदान गर्ने पबित्र स्थल बिद्यालय जस्तो ठाउँमा कुनै पनि प्रकारको हिंसाले शिक्षा आर्जनमा अवरोध पुर्याउने हुँदा सरोकारवालाहरुले यसलाई दृष्टिगत गर्दै निरुत्साहित गर्नुपर्ने उनीहरुले बताएका हुन् । नेपाल राष्ट्रीय आधारभूत […]