सदरलाइनडटकम,
काठमाण्डौ : जुवाखालमा प्रहरीले छापा मारेपछि जुवाडेहरु तीन तल्लाबाट हामफाल्दा दुईजनाको मृत्यु भएको छ । काठमाण्डौको कागेश्वरी मनहरा–६ स्थित एक भवनको तेश्रो तल्लाबाट हामफाल्दा शुक्रवार राति दुई जनाको मृत्यु भएको हो ।
काठमाण्डौ महानगरीय प्रहरी परिसरले राति जुवाखालमा छापा मार्नलागेपछि हाम फाल्दा स्थानीय ४१ वर्षीय सरोज घले र सिन्धुपाल्चोक भोटेचौरका सुमन लामाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
गम्भीर घाइते उनीहरूको उपचारका क्रममा ललितपुरस्थित बीएण्डबी अस्पतालमा मृत्यु भएको हो । घर बाहिरको ’च्यानल गेट’मा ताला लगाएर जुवा खेलाइएकोे टेण्डी शेर्पाको घरमा प्रहरीले राति १० बजे छापा मारेको थियो ।
प्रहरीले जुवाखालबाट एक महिलासहित २३ जनालाई नियन्त्रणमा लिनुका साथै ४ लाख ५८ हजार रुपैयाँ र केही थान सुनका गरगहना बरामद गरेको महानगरीय प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्त लामाले बताए ।
