सदरलाइनडटकम,
काठमाण्डौ : पेट्रोलियम पदार्थ वितरणमा नेपाल आयल निगमले लागू गरेको कोटा प्रणाली हटाएको छ । चालकहरुको आन्दोलन फिर्ता भएसँगै निगमले आइतवारबाट कोटा प्रणाली हटाएको हो ।
कोटा प्रणाली हटेसँगै आइतवारदेखि उपभोक्ताले खोजेजति तेल पाउने नेपाल आयल निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले बताए । इन्धन अभावले पेट्रोल पम्पमा लाम लागेपछि निगमले दुई दिनअघि मोटरसाइकल, स्कुटरलाई बढीमा पाँच लिटर र हल्का सवारी साधन कार, भ्यानलाई बढीमा १५ लिटर पेट्रोल दिनेगरी कोटा निर्धारण गरेको थियो ।
त्यसैगरी डिजेलबाट चल्ने छोटो दुरीका सवारी साधनलाई बढीमा ५० लिटर र लामो दुरीका सवारी साधनलाई बढीमा सय लिटरसम्म डिजेल उपलब्ध गराइएको थियो ।
