सदरलाइनडटकम,
काठमाण्डौ : दशैंको मुखमा सार्वजनिक यातायातको भाडा आइतवारदेखि लागु हुनेगरी दश प्रतिशतले बढेको छ । यातायात व्यवसायीहरूले दशैंको अग्रिम टिकट बुकिङनै रोकेपछि सरकार दश प्रतिशत भाडा बढाउन सहमत भएको हो ।
हालै मात्र इन्धनको मूल्य बृद्धि भएपछि व्यवसायीले ५ गतेबाट खुल्ला गर्ने भनिएको अग्रिम टिकट बुकिङ रोकेका थिए । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयमा शनिवार भएको वार्तामा इन्धनको मूल्यबृद्धिलाई मुख्य आधार मानेर भाडादर १० प्रतिशत बढाउने सहमति भएको थियो ।
सहमतिअनुसार आइतवारबाट नयाँ भाडादर कायम गर्न यातायात व्यवस्था विभागलाई शनिवार पत्राचार गरिएको थियो । छलफलमा समय सापेक्ष भाडादर कायम गर्न दुई महिनाभित्र प्रतिवेदन दिने गरी समिति गठन गर्ने र मंसिर २९ गतेसम्म भाडा समायोजन गर्ने सहमति भएको छ ।
