सदरलाइनडटकम,
काठमाण्डौ : संयुक्त राष्ट्र संघको आव्हानमा शान्ति स्थापनार्थ दक्षिण सुडानमा रहेका एक नेपाली सैनिक गोली लागेर घाइते भएका छन् । अनमिस मिसनअन्तर्गत सुडानमा रहेको सिद्धिबक्स गण (शा.से.) चौथो डफ्फामा कार्यरत सैनिक जवानको आइतवार बेलुका स्थानीय समयानुसार साढे आठ बजे खुट्टामा गोली लागेको सैनिक जनसम्पर्क निर्देशनालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
उक्त सैनिक खतरामुक्त भएको र अहिले उनको सुडानको राजधानी जुवामा उपचार भइरहेको बताइएको छ । दक्षिण सुडानको पिपुल्स लिबरेशन आर्मीका जवानले गोली चलाएको जनाइएको छ । नेपाली सेनाले उनको परिचय खुलाएको छैन ।
दक्षिणी सुडानको यई भन्ने स्थानमा रहेको नेपाली सेनाको कम्पनी अपरेटिङ बेशका लागि पानी लिएर फर्किँदै गर्दा ती जवानलाई खुट्टाको गोलीगाँठो नजिक गोली लागेको थियो ।
