सदरलाइनडटकम,
सल्यान : सल्यानमा एकजना जनप्रतिनिधिले राजीनामा दिएर शिक्षक पेशामा संलग्न लागेका छन् । सिद्धकुमाख गाउँपालिका ४ का वडाध्यक्ष दिनेशकुमार बुढामगर वडाध्यक्ष पदबाट राजीनामा दिएर प्राथमिक तहको शिक्षक पेशामा लागेका हुन् ।
२०७४ को स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसबाट निर्वाचित बुढामगरले शिक्षक सेवा आयोगले लिएको प्राथमिक तहको खुलाकोटाअन्तर्गत मुस्ताङबाट नाम निकालेका हुन् । तत्कालीन नेकपा एमालेका वडाध्यक्षका उम्मेदवार देवेन्द्र रोका र बुढामगरले ३२१ समान मत प्राप्त गरेपछि गोलाप्रथाद्वारा बुढामगर निर्वाचित भएका थिए ।
शिक्षक सेवा आयोगले लिएको सबै परीक्षा उतिर्ण भएपछि उनले वडाध्यक्ष पद त्यागेर मुस्ताङमा रहेर सेवा गर्ने निष्कर्षमा पुगेको बताए । ‘वडाध्यक्षमा न त अधिकार देखियो न सुविधा नै, जनताको लागि केही गर्न नसकिने भएपछि पद ओगटेर मात्र के काम भनेर शिक्षण पेशा रोजे’, बुढामगरले भने ।
आगामी दिनमा राजनीतिमा नफर्किने सोचेका बुढामगरले भने, ‘अब विद्यार्थीलाई आफूसँगको ज्ञान सिकाउँछु, शैक्षिक गुणस्तर सुधारका लागि सेवा गर्न चाहान्छु’, बुढामगरले भने । उनले गत बुधवार गाउँपालिकामा पुगेर राजीनामा दिएका थिए । यही दिन गाउँ कार्यपालिकाको बैठक भएकाले यही बैठकबाट बुढामगरको राजीनामा स्वीकृत गर्दै ज्येष्ठ वडासदस्य वीरबहादुर खड्कालाई कार्यवाहक वडाध्यक्षको जिम्मेवारी दिइएको गाउँपालिका अध्यक्ष चित्रबहादुर चलाउनेले जानकारी दिए ।