सदरलाइनडटकम,
नेपालगन्ज : बातावरणमैत्री व्यवसाय प्रवद्र्धनका लागि नेपालगन्जमा उद्यमीलाई आर्थिक सहयोग गरिएको छ । वातावरण संरक्षणमा टेवा पुर्याउन सहयोग गर्ने साझेदार संघसंस्थालाई भेरी बातावरण विशिष्ठता समूह (बीग्रुप)ले सोमवार एक समारोहबीच आर्थिक सहयोग गरेको होे । नेपालगन्ज उपमहानगरपालिकाको सहकार्यमा बातावरणमैत्री कार्यक्रम सञ्चालन गरिरहेको भेरी बातावरण विशिष्ठता समूह (बीग्रुप)ले बातावरणमैत्री ८ वटा उद्यमी संस्थालाई १९ लाख ८० हजार अनुदान सहयोग दिएको हो ।
नेपालगन्ज उद्योग वाणिज्य संघको समन्वयमा बजारीकरणअन्तर्गत थारु हस्तकलामा आधारित घरेलु सामग्री बनाउने पञ्चशील हस्तकला केन्द्रलाई ६ लाख, कागजका झोला बनाउने एकता महिला सशक्तीकरण केन्द्रलाई ६ लाख, फोहर प्लाष्टिकबाट टायल बनाउने नेपाल वेष्ट रिसाइक्लर्सलाई ३ लाख ३० हजार अनुदान सहयोग गरिएको बी ग्रुपका अध्यक्ष राजकुमार क्षेत्रीले बताए ।
यस्तै बेमौसमी तरकारी खेतीका लागि सिर्जशील आयआर्जन कृषक समुह, आलानगर महिला कृषक सहकारी संस्था र भज्जुपुर्वा कृषक समुहलाई ९०÷९० हजार प्रदान गरिएको छ । मिलीजुली महिला सिलाई कटाई समुहलाई पनि ९० हजार अनुदान सहयोग उपलब्ध गराइएको क्षेत्रीले जानकारी दिए ।
सम्वद्ध उद्यमीहरुलाई चेक हस्तान्तरण गर्दै मेयर डा. धवलशम्शेर राणाले आर्थिक सहयोगले बातावरण प्रदुषण नियन्त्रणसँगै बातावरणमैत्री व्यवसाय प्रवद्र्धनमा मदत पुग्ने विश्वास व्यक्त गरे । कार्यक्रममा संघका अध्यक्ष नन्दलाल वैश्यले सामग्री उत्पादनसँगै बजार प्रवद्र्धनमा पनि ध्यान दिन जरुरी रहेको आवश्यकता औल्याए ।