सदरलाइनडटकम
बाँसगढी (बर्दिया) : छाडा पशुचौपायाका कारण दुर्घटना बढ्न थालेपछि बर्दियाको बासगढीमा कडाई गरिने भएको छ । बासगढी नगरपालिकाले आफ्नो चौपाया छाडा छाड्ने पशुधनीमाथि कानुनी कारबाहीको प्रक्रिया अघि बढाउने भएको हो ।
घरपालुवा जनावर छाडा छाडेमा कानुनी कारवाही गरिने नगरपालिकाद्वारा बिहीवार जारी विज्ञप्तिमा उल्लेख छ । नगरपालिका क्षेत्रभित्रको सडकमा छाडा चौपाया भेटिएमा पशुधनीमाथि कानुनी कारवाही प्रक्रिया अघि बढाइने विज्ञप्तिमा भनिएको छ ।
छाडा पशुचौपायाका कारण दुर्घटना निम्तिने, यातायातमा असहजता हुने, फोहोर मैला बढेर नगर दुर्गन्धित हुनुका साथै रोग व्याधिको खतरा रहेकोले कडाई गर्न लागिएको नगरपालिकाले जनाएको छ ।
छाडा पशुचौपाया धनीका बारेमा सूचना दिने व्यक्तिलाई पुरस्कार समेत प्रदान गरिने नगरपालिकाले विज्ञप्तिमार्फत घोषणा गरेको छ ।
नोट : फोटो नेपालगन्ज सुर्खेतरोडमा यत्रतत्र बसेका छाडा पशु