छुट्टाछुट्टै दुर्घटनामा ३ को मृत्यु ११ घाइते

१७ श्रावण २०७५, बिहीबार १३:५७
 

सदरलाइनडटकम,  
नेपालगन्ज : छुट्टाछुट्टै दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । रोल्पाको माडी गाउँपालिकामा ट्याक्टर दुर्घटनामा हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।
माडी गाउँपालिका–२ घर्तीगाउँबाट ओततर्फ सिमेन्ट बोकेर जाँदै गरेको रा १ त १५०७ नं.को ट्याक्टर माडी–१ धाराबाङमा बुधबार राति दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा दाङ तुलसीपुर उपमहानगरपालिका–७ का २७ वर्षीय चालक आशाराम चौधरी र रोल्पा गंगादेव गाउँपालिका–१ का १८ वर्षीय डम्बरबहादुर वलीको मृत्यु भएको प्रहरीले बताएको छ ।
कच्ची सडकका कारण ट्याक्टर अनियन्त्रित भई सडकबाट ५ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्र फुँयालले जानकारी दिए ।
यस्तै कैलालीमा माइक्रो बसले ठक्कर दिँदा एक जना साइकल यात्रीको मृत्यु भएको छ । नेपालगञ्जबाट धनगढी जाँदै गरेको भे १ ज ६३५ नम्बरको माइक्रोबसकोे ठक्करबाट लम्की चुहा–९ खुमरियका ६५ वर्षीय पञ्चराम चौधरीको मृत्यु भएको हो ।
लम्की चुहा नगरपालिका–६ गुलरामा साइकललाई ठक्कर दिएपछि माइक्रो बस अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किँदा बसमा सवार ११ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय लम्कीका प्रमुख सुरेन्द्र जोशीले जानकारी दिए ।
दुर्घटनामाबर्दिया ठाकुरबाबाकी सीता थापा, नेउपलापुरका महावीर थारु, ठाकुरबाबाकी झुमा खड्का, ताराताल नन्दकला सुनार, कैलाली कैलारी गाउपालिका–८की यमुना गौतम, टंक बोहरा, हसुलियाका रविता चौधरी, श्रेया चौधरी, डडेल्धुराका मोती भट्टराई, धनगढी उपमहानगरपालिका रतिपुरकी समीक्षा मल्ल र पवित्रा सुनार घाइते भएका हुन् ।
घाइतेहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ भने ६ जनालाई थप उपचारका लागि नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा भर्ना गरिएको छ ।

Next Post

शनिबार पनि कार्यालय खोलेर सेवा दिइने

१७ श्रावण २०७५, बिहीबार १३:५७
तुलसीपुर, आगामी भदौ महिनादेखि शनिबार पनि दाङ जिल्ला प्रशासन कार्यालयले सेवा प्रवाह गर्ने तयारी गरेको छ । प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले व्यस्त दैनिकी भएका नागरिकको सेवालाईमध्यनजर गर्दै शनिबार पनि कार्यालय खोलेर सेवा दिने तयारी गरेको जानकारी दिए । भदौदेखि हरेक शनिबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म कार्यालय सञ्चालन […]