थारु अगुवा भन्छन् : सिकलसेलको सबै जाँच निशुल्क गर

३१ असार २०७५, आईतवार ०८:२९
 

सदरलाइन / रुद्र सुवेदी 
नेपालगन्ज : बाँकेका थारु अगुवा र जनप्रतिनिधिहरुले पश्चिम तराईका थारु समुदायमा मात्र देखा परेको सिकलसेल एनिमियाको जाँचको लागि निशुल्क व्यवस्था गर्नु पर्ने माग गरेका छन् ।
बाँकेको बैजनाथ गाउपालिका वडा नं.८ टिटिहिरियाको थारु समुदायका पूर्व बडघरसमेत रहेका स्थानीय थारु अगुवा चन्द्र चौधरीले विपन्नताको कारण आफुमा रहेको रोग पालेर बसेका समुदायका सबैलाई राज्यले सिकलसेल एनिमिया भए नभएको निशुल्क जाँच गराउन माग गरे ।
उनले भने–‘सिकलसेल एनिमिया थारु समुदायमा रहेको वंशाणुगत रोग हो भन्ने बुझे पनि यो रोगको बारेमा जनस्तरमा छलफल तथा सचेतना अभियान फैलाउनका साथमा रोकथामको उपाय समेत निकाल्न आवश्यक देखिएको छ ।’ उनले समुदायमा जनचेतना फैलाउनको साथै उपचारलाई पनि साथ–साथमै लैजानु पर्ने बताए ।
टिटिहिरियाका थारु समुदायका सचिव समेत रहेका सनिराम चौधरीले थारु समुदायको बाक्लो बाहुल्यता रहेको ठाँउमात्र नभएर थारु समुदायका सबै सदस्यलाई सिकलसेल भए नभएको निशुल्क जाँच गर्नु पर्ने माग गरे । उनले भने–‘सामान्य खेती किसानी गरेर जीविकोपार्जन गर्ने समुदायले सिकलसेल भए नभएको छुट्टाउन एक जनाको जाँच गर्दा थोरैमा पनि १ हजार बढिमा ३ हजारसम्म लाग्ने सुनेको छु । त्यति पैसा उनीहरुसंग हुँदैन विरामी भएपनि नजिकको औषधि पसलबाट दुखाई कम हुने औषधि किनेर खान्छन तर अस्पताल जाँदैनन् ।’
उनले सिकलसेलका कारण शरिरका जोर्नी दुख्ने, जण्डिस भएको जस्तो हुने लगायतका समस्या हुने गरेको सुनेको बताएउदै भने–‘सिकलसेलको उपचारको लागि राज्यले एक लाखबारबरको उपचार निशुल्क दिने थाहा पाए पनि त्यो सुविधा लिनको लागि सुरुको जाँच गर्नको लागि नै समुदायले नसक्ने भएकोले निशुल्क जाँचको ब्यवस्था गर्नु पर्छ ।’
राप्ती सोनारी गाउपालिका वडानं.७ का वडा अध्यक्ष रामलखन थारुले सिकलसेल एनिमियाको बारेमा समुदायमा सचेतना फैलाउनको लागि आफुले वडास्तरबाटै पहल गरेको बताए । उनले सचेतनासंगै रोगको बारेमा समुदायलाई बुझाउदै निराकरणको लागि स्थानीय सरकार, प्रदेश सरकार र संघिय सरकारको साथमा स्थानीय समुदाय जुट्नु पर्ने बताए ।
उनले गाउपालिकाले थोरै मात्रामा भएपनि सचेतनाको लागि पहल गरेको बताउदै राज्यले निशुल्क उपचारको सुविधा दिएर मात्र नुहुने त्यो सुविधा लिनको लागि आवश्यक जाँचको पनि निशुल्क व्यवस्था गर्न माग गरे ।
यसैबीच भेरी अञ्चल अस्पताल नेपालगन्जले राज्यले
सिकलसेल भए नभएको छुट्टयाउनको लागि रगत जाँचको लागि रुपमा ईलेक्ट्रोफोरसिस जाँचको लागि आवश्यक पर्ने क्यमिकल ‘रिएजेन्ट’ निशुल्क उपलब्ध गराए जाँच निःशुल्क गर्न सकिने जनाएको छ ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.प्रकासबहादुर थापाले अस्पतालले सिकलसेल विरामीका लागि निःशुल्क उपचार दिने गरे पनि अझै पूर्ण रुपमा निःशुल्क सेवा दिन नसकिएकोे बताए ।
भेरी अञ्चल अस्पतालमा नेपाल सरकारले सिकलसेल एनिमिया सुचिकृत गरेर एक लाखसम्मको निःशुल्क सेवा दिन प्रवाधन गरेको छ । ‘दिन प्रतिदिन सिकलसेलका विरामिले जानकारी लिएर उपचार लिने गरेका छन् । अस्पतालले विरामीबाट १ हजार ईलेक्ट्रोफोरसिस जाँचको लागि सेवा शुल्क लिएर विरामी जाँच गरि रहेको छ’– डा. थापाले भने– ‘अब आउने दिनमा यसलाई पनि निःशुल्क बनाउने तर्फ लागिरहेका छौँ । साउन १ गतेबाट यो सेवा निःशुल्क हुनुपर्छ भनेर मैले एक, दुई ठाउँमा पनि भनि सकेको छु । ईलेक्ट्रोफोरसिस जाँचको लागि रिएजेन्ट स्थानीय तह वा प्रदेश सरकारबाट या कुनै संघ संस्थाबाट व्यवस्था भयो भने यो जाँच पनि निःशुल्क गर्नेछौ ।’

Next Post

कर्णाली प्रदेशका चिकित्सकद्वारा आन्दोलनको घोषणा

३१ असार २०७५, आईतवार ०८:२९
सुर्खेत- १६ दिनदेखि जुम्लामा अनशनरत डा. गोविन्द केसीको समर्थनमा मंगलबारदेखि कर्णाली प्रदेशका सबै स्वास्थ्य संस्थामा इमरजेन्सी बाहेकका सेवा बन्द हुने भएका छन् । नेपाल चिकित्सक संघले कर्णालीका १० वटै जिल्लामा इमरजेन्सी बाहेकका सेवा ठप्प पार्ने निर्णय गरेको छ। ‘डा. केसीका जायज माग पूरा गराउन कर्णालीका १० वटै जिल्लामा इमरजेन्सी वाहेकका […]

सम्बन्धित