नरैनापुरको कालाफाँटामा एचआईभी संक्रमितका लागि एआरटी डिस्पेन्सिङ सेन्टर सञ्चालनमा

२९ असार २०७५, शुक्रबार १८:०८
 

सदरलाइनडटकम
नरैनापुर (बाँके) : राप्तीपारीका एचआईभि संक्रमितको लागि नरैनपुरको कालाफाँटा स्वास्थ्य चौकीमा एआरटी डिस्पेन्सिङ सेन्टर सञ्चालनमा ल्याईएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेको पहलमा सो सेन्टरको स्थापना गरिएको हो ।
वर्षातको समयमा झण्डै ६ महिना नेपालगन्जसंग सडक सम्पर्क बन्द हुने भौगोलिक अवस्थाका कारण जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेले नरैनापुर क्षेत्रमा रहेका एचआईभी संक्रमितका लागि औषधि सेवनका लागि धेरै सजिलो बनाउन सेन्टरको स्थापना गरिएको जिल्ला जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत तथा एचआईभी फोकलपर्सन रामबहादुर चन्दले जानकारी दिए ।
उनले राप्तीपारी ४० भन्दा बढी एचआईभी संक्रमित भएको तर, एआरटी सेवा लिने २२ जना रहेकोले उनीहरुको सहजता र सेवाका लागि कालाफाँटा स्वास्थ्य चौकीलाई केन्द्र बनाएर सेवा सञ्चालन गरेको बताए । उनले भने–‘अब एआरटी सेवाका लागि नेपालगन्जसम्म दुख पाउनु पर्दैन । घर आँगन जस्तै गरी सेवा स्वास्थ्य चौकीमा स्थापना गरिएको छ ।’
कालाफाँटा स्वास्थ्य चौकीमा सेन्टरको उद्घाटन गर्दै नरैनापुर गाउँपालिका अध्यक्ष मो. इस्तियाक अहमद शाहले स्वास्थ्य जस्तो गम्भीर विषयमा गाउँपालिका जस्तो सुकै सहयोग गर्न तयार रहेको बताए । उनले भने,–‘यस क्षेत्रका एचआईभी संक्रमित एआरटी सेवा लिनका लागि नेपालगन्ज पुग्नु पर्ने बाध्यता अब टरेको छ । त्यहाँसम्म पुग्न संक्रमितलाई अति नै दुख भोग्नु पर्ने अवस्थामा जनस्वास्थ्य कार्यालयको पहल साच्चि कै नागरिकका हितमा स्वास्थ्य सेवा छ भन्ने प्रमाण हो ।’ उनले गाउँपालिकाले यस क्षेत्रको विकासका लागि प्रमुख तीन वटा क्षेत्रलाई प्रथामिकता दिएको बताउदै जस मध्ये स्वास्थ्य पनि महत्वपूर्ण मध्येको एक भएको जिकिर गरे ।अध्यक्ष शाहाले गाउँपालिकाबासीका लागि स्वास्थ्य कार्यक्रममा मात्र होइन बजेटमा पनि प्राथामिकता दिएको जनाए ।
सेन्टर उद्घाटन कार्यक्रममा एचआईभी संक्रमितको उपचारमा विशेषज्ञता गरेका भेरी अञ्चल अस्पतालका विशेषज्ञ डा.संकेत रिसालले राप्तीपारी एचआईभी संक्रमितका लागि अब सरकारको नै उपस्थित भएको बताए ।
सेन्टरको स्थापनाले उनीहरुको स्वास्थ्यमा सहयोग गर्नका लागि नेपाल सरकारले उपचारदेखि औषधिसम्म निशुल्क सेवा उपलब्ध गराउने उद्देश्यले सरकार संक्रमितको दैलोमै पुगेकोे उनको भनाई रहेको थियो ।
डा.रिसालले भारतसँग दैनिक आवत जावत हुने यस क्षेत्रम अझै बढी संक्रमित हुन सक्ने आशंका गरे । संक्रमितको पहिचानका लागि स्थानीय सरकार, स्वास्थ्यकर्मी र स्वयम् आफुलाई शंका लागेका व्यक्तिले परिक्षण गराउनमा अग्रसरता देखाउनु आवश्यकता रहेको बताए । जुन कुरा एचआईभी संक्रमितका पक्षमा हुनेछ ।
कार्यक्रममा बोल्दै डा. रिसालले भने, ‘एचआईभी संक्रमण अधिक मात्रामा माया प्रेमले हुने संक्रमण हो ।’
जिल्ला जनस्वास्थ्य कार्यालयले सेन्टर सञ्चालनका लागि आवश्यक पर्ने औषधि, फर्निचर लगाएतका पूर्वाधारहरु कालाफाँटा स्वास्थ्य चौकीलाई हस्तान्तरण गरेको छ । कार्यक्रममा नरैनापुर गाउँपालिकाका उपाध्यक्ष जयन्ती श्रीवास्तव, प्रमुख कार्यकारी अधिकृत दलबहादुर बस्नेत, स्वास्थ्य शाखा प्रखुम मो मोईन खाँ, स्वास्थ्य चौकी सञ्चालक समितिका उपाध्यक्ष, एचआईभी एड्सको क्षेत्रमा काम गर्ने स्वास्थ्यकर्मी लगाएको उपस्थिति रहेको थियो ।  

Next Post

दाँतमा कीरा किन लाग्छ ? बालबालिकाको दाँतको सुरक्षा कसरी गर्ने ?

२९ असार २०७५, शुक्रबार १८:०८
 आधुनिकताका नाममा डब्बाबन्द र प्याकेट बन्द खानेकुरा, जंक फुड, चकलेट, कोल्ड ड्रिंक्स लगायतका खाद्यको प्रयोग बढ्दो छ । यस्ता खाद्यको प्रयोगले हाम्रो खानपानसँगै जिवनशैली समेत बदलिदिएको छ र साथमा यसले हाम्रो देश नेपालका आधाभन्दा बढी बालबालिकाको दाँत कीराले खाएको छ । दाँतमा कीरा लाग्ने अनुपात गाउँको दाँजोमा सहरी क्षेत्रका बालबालिकामा झण्डै […]