नरैनापुरको नीति तथा कार्यक्रम सार्वजनिकसंगै राजपत्र प्रकाशित

१० असार २०७५, आईतवार २२:४९
 

सदरलाइनडटकम,
नरैनापुर (बाँके) : बाँकेको नरैनापुर गाउँपालिकाले आर्थिक बर्ष २०७५÷७६ को नीति तथा कार्यक्रम संगै राजपत्र प्रकाशित गरी आईतबार सार्वजनिक गरेको छ । गाउँपालिकाको कार्यालय वडा नम्बर ४ नरैनापुरमा बसेको दोस्रो गाउँसभा बैठकमा अध्यक्ष इस्तियाक अहमद शाहले भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि, सिंचाई, विद्युत र तटबन्धलाई उच्च प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन ।
‘शिक्षा, स्वास्थ्य, सरसफाई र पूर्वाधारःसमुन्नत नरैनापुरको मूल आधार’ को संकल्पसहित नीति तथा कार्यक्रम प्रस्तुत गरिएको हो ।
नीति तथा कार्यक्रममा एकिकृत सहरी विकास योजना निर्माण गरी लागू गर्ने, हुलाकी सडकदेखि वडा कार्यालयहरुसम्म पक्की सडकले जोड्ने, विपत्को जोखिममा रहेको गंगापुरमा हलिप्याडको व्यवस्था गरिने उल्लेख छ ।
त्यस्तै एक वडा एक हेलिप्याडको नीति पनि लिइएको छ । प्रत्येक नागरिकलाई अनिवार्य बैंक खाता खोल्ने व्यवस्था गराइने, नयाँ खाता खोल्ने नागरिकलाई एक पटकका लागि एक सय रुपैयाँको समेत व्यवस्था गरिने नीति तथा कार्यक्रममा भनिएको छ ।
प्राथमिक स्वास्थ्य केन्द्रलाई ३० शैयाको अस्पतालका रुपमा विकास गर्ने, शौचालय बाहिर दिशा पिसाब गर्नेलाई कारबाहीको दायरामा ल्याउने, विद्यालयमा भर्ना भइसकेपछि ९० प्रतिशत विद्यालयमा उपस्थित हुने छात्रछात्रालाई जनही २ सय रुपैयाँ छात्रबृत्ति उपलब्ध गराउने, कक्षा ८ देखि १० सम्म अध्ययनरत नियमित विद्यालयमा हाजिर हुने छात्राहरुलाई आवतजावतमा कठिनाई भए मापदण्ड बनाई एक छात्रा एक साइकल वितरण कार्यक्रम लागू गरी महिला शिक्षालाई प्रोत्साहन गर्ने, एक वडा एक सोलार सिंचाई पम्प मार्फत् नमूना सिंचाई विकास कार्यक्रम लागू गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
त्यस्तै घरेलु सौर्य उर्जा कार्यक्रमलाई निरन्तरता दिई उज्यालो नरैनापुरको अभियान थालिने, राप्ती नदी तथा अन्य खहरे खोलाहरुमा प्रत्येक बर्ष आउने बाढीबाट हुने कटानलाई न्यूनीकरण गर्न तटबन्ध निर्माण गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।
प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले आइतबार नीति तथा कार्यक्रम मात्र प्रस्तुत गरिएको बताउँदै बजेट भने २÷४ दिनमै ल्याइने जानकारी दिए ।


राजपत्र प्रकाशित

नरैनापुर गाउँपालिकाले आफूले बनाएका कानुन राजपत्रमा प्रकाशित गरी सार्वजनिक गरेको छ । गाउँपालिका कार्यालयमा आइतबार आयोजित नरैनापुर राजपत्र सार्वजनिकीकरण कार्यक्रममा अध्यक्ष इस्तियाक अहमद शाह र उपाध्यक्ष जयन्तिदेबी श्रीवास्तबले राजपत्र सार्वजनिक गरेका हुन ।
हालसम्म बनेका ८ वटा ऐन, नियम र कार्यविधि राजपत्रमा प्रकाशित गरेर सार्वजनिक गरिएको हो । शिक्षा ऐन, आर्थिक कार्यविधि ऐन, शिक्षा नियमावली, उपभोक्ता समिति सञ्चालन कार्यविधि लगायतका ८ वटा ऐन, नियम र कार्यविधि राजपत्रमा प्रकाशित गरिएको प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले जानकारी दिए ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा भएको व्यवस्था अनुसार बनेका ऐन, नियम र कार्यविधि राजपत्रमा प्रकाशित गरी सार्वजनिक गर्नुपर्ने हुुन्छ । नरैनापुर राजपत्र प्रकाशित गर्ने बाँकेको तेस्रो गाउँपालिका हो । यसअघि डुडुवा र खजुराले राजपत्र प्रकाशित गरेका छन् ।

Next Post

डुडुवाले गर्यो नीति तथा कार्यक्रम सार्वजनिक

१० असार २०७५, आईतवार २२:४९
सदरलाइनडटकम, डुडुवा (बाँके) : डुडुवा गाउँपालिकाको तेस्रो गाउँसभाले नयाँ आर्थिक वर्ष ०७५/०७६ को नीति तथा कार्यक्रम आइतबार सार्वजनिक गरेको छ । गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार चौधरीले ११ वटा शिर्षक अन्र्तगत शिक्षा, स्वास्थ्य, कृषि, पशु, वन बाताबरण, समुदायको विकास, भौतिक पुर्वाधार, सडक, नाला, खानेपानीका योजना, रोजगारी, सरसफाई ढल निकास, विपत व्यवस्थापन, सुशासन […]