सदरलाइनडटकम
४ असार, नेपालगन्ज : बाँकेको राप्ती सोनारी गाउँपालिकामा रहेका ५३ वटा सामुदायिक विद्यालयका लागि १सय ३८ शिक्षक अपुग रहेका छन् । राप्ती सोनारी गाउपालिका शिक्षा शाखाका प्रमुख तथा विद्यालय निरिक्षक जीवन न्यौपानेले गाउपालिकामा रहेका सबै सामुदायिक विद्यालयका लागि माध्यामिक तहमा २७, निमावि तहमा ६० र प्राथामिक तहमा ५१ शिक्षक गरी १ सय ३८ शिक्षक दरबन्दी आवश्यक रहेको जानकारी दिए ।
उनले राप्ती सोनारी गाउपालिकामा रहेका १६ माध्यामिक विद्यालयमा कक्षा १–१२ सञ्चालन रहेका ८ वटा र १–१० सम्म सञ्चालन रहेका विद्यालय पनि ८ वटै रहेको जानकारी दिदै भने–‘गाउपालिकामा सञ्चालनमा रहेका माध्यामिक तहका विद्यालयहरु मध्ये ९ वटा विद्यालयमा माध्यामिकतहको एउटा पनि दरबन्दी छैन् । निजि स्रोतको शिक्षक वा तल्लो तहमा दरबन्दी रहेर माथिल्लो कक्षामा पढाई रहेका छन् ।’
उनले यसैगरी कक्षा १–८ सञ्चालनमा रहेका निमावि तहका विद्यालयहरु १६ वटा रहेको भएपनि गाउपालिका भरी ९ वटा मात्र निमावि तहको दरबन्दीका शिक्षक कार्यरत रहेको जानकारी दिदै भने–‘सबै भन्दा बढी निमावि तहका शिक्षक आवश्य रहेका छन् । आवश्यक दरबन्दी अनुसार निमावि तहमा ६० जना शिक्षक आवश्यक रहेकोमा तत्काल ४८ आवश्यक रहेृका छन् ।’
शिक्षा शाखा प्रमुख न्यौपानेले गाउपालिकामा रहेका २१ प्राथामिक तहका विद्यालयका लागि ५१ जना शिक्षक दरबन्दी आवश्य रहेको जानकारी दिए । उनले गुणस्तरिय शिक्षाको लागि गाउपालिकाले ठोस कार्यक्रम लागू गर्ने तयारी रहेको बेलामा आवश्यक शिक्षक दरबन्दी पुरा हुन नसक्दा भनेको जस्तो प्रतिफल पाउन कठिन हुने बताए ।
उनले भने–‘ आवश्यक शिक्षक दरबन्दी पुरा गर्न सकिए शैक्षिक गुणस्तरको लागि कुनै पनि कम्प्रोमाईज्ड गर्न नपर्ने गरी हामी काम गर्दै छौ । तै पनि जे छ त्यसैबाट गुणस्तरिय शिक्षा दिनको लागि निरन्तर प्रयत्नशिल रहेको छौ ।’
यता राप्तीसोनारी गाउपालिकाका अध्यक्ष लाहुराम थारुले गाउपालिकाले गुणस्तरिय शिक्षाको लागि कुनै पनि कसर बाँकी नराख्ने गरी आफुहरुले शिक्षालाई पहिलो प्राथामिकतामा राखेर काम गर्न सुरु गरेको बताए । उनले भने–‘कुनै पनि हालतमा शिक्षालाई पहिलो प्राथामिकतामा राखेर काम गर्न सुरु गरिने छ ।’ उनले विद्यालयको भौतिक पूर्वाधारदेखि विद्यालयको शैक्षिक गुणस्तरमा सुधार ल्याउनको लागि सबै जनप्रतिनिधि एक भएर लाग्दै आएको समेत स्पष्ट पारे ।
यसैबीच शिक्षा विकास तथा समन्वय ईकाई बाँकेका उप सचिव गोर्खबहादुर थापाले बाँकेमा निमावि र मावि तहमा मात्र शिक्षक दरबन्दी अपुग रहेको र प्रवि तहमा केही अपुग भएजस्तो देखिए पनि मावि र निमावि तहमा दरबन्दी थप हुने वित्तिकै आफै प्रावि तहको पूर्ती हुने जानकारी दिए । उनले जिल्लामा राहत र पिसिएफ दरबन्दी गत वर्षदेखि नै कटौती गरिएको बताए ।
उनले भने–‘ बाँकेमा मावि र निमावि तहमा गरी करिव ४ सय दरबन्दी अपुग छ । यसमा करिव २ सय २५ दरबन्दी निमाविको र बाँकी मावि तहको दरबन्दी अपुग रहेको हो । जाहासम्म केही पालिकाका विद्यालयमा प्रावि तहको दरबन्दी अपुग देखिएको छ । दरबन्दी मिलान र मावि तथा निमावि तहको दरबन्दी पुरा भएपछि आफै पुरा हुन्छ ।’