जानकी गाउँपालिकाले थाल्यो शिक्षा नीति मस्यौदामा छलफल

१४ जेष्ठ २०७५, सोमबार १९:४१
 

सदरलाइनडटकम
१४ जेठ, जानकी (बाँके) : स्थानीय तहमा गुणस्तरिय शिक्षाको लागि आफ्नो पालिका क्षेत्रमा शिक्षा नीतिको मस्यौदा तयार गरी सरोकारवाला निकायसंग छलफल सुरु गरेको छ । बाँकेको जानकी गाउँपालिकाले तयार पारेको शिक्षा नीतिको मस्यौदामा सोमवार विद्यालयका प्रधानाध्यापकहरुसँग छलफल गरेको हो ।
जानकी गाउँपालिकाका अध्यक्ष रामनिवास यादवले गुणस्तरीय शिक्षालाई केन्द्रमा राखेर नीति बनाउन लागेको बताए । ‘गाउँपालिकामा शिक्षाको अवस्था सुधार्ने जिम्मा तपाई हामी सबैको हो, के गर्दा राम्रो हुन्छ सुझाव दिनुहोस्’–गाउँपालिका अध्यक्ष यादवले भने–‘तपाईले दिएका महत्वपूर्ण सुझावलाई हामीले मस्यौदामा समावेश गर्नेछौं ।’
उनले स्थानीय सरकारले सबै कुराको ज्ञाता नहुने कुरामा जोड दिदै भने–‘जनप्रतिनिधि र कर्मचारीले गर्ने होईन,सबै सम्वद्ध विज्ञसँग छलफल र सुझाव लिन्छौंँ । विद्यालयमा पढाउने कुरा घरको काम होईन, सिकाईस्तर चाहियो, त्यसको लागि भौतिक पूर्वाधार र आर्थिक अवस्था सुधार गर्ने जिम्मा हाम्रो भयो ।’
गाउँपालिका अध्यक्ष यादवले जनप्रतिनिधिले चाहेर मात्रै शिक्षामा सुधार नआउने भएकोले गाउँपालिकामा शिक्षक, अभिभावक, विद्यार्थी, कर्मचारी सबैले चासो दिन समेत आग्रह गरे ।
शिक्षाका समस्या शिक्षकहरुलाई नै थाह हुने भनेकोले गुणस्तरीय शिक्षाको लागि आवश्यक कमी कम्जोरी पहिचान गर्न प्रधानाध्यापकहरुसँग शिक्षा नीतिको मस्यौदामा छलफल गरिएको गाउँपालिका उपाध्यक्ष भूमिसरा धितालले बताईन् । उनले शिक्षाको गुणस्तर वृद्धिका लागि सहज हुने गरी शिक्षा नीति बनाउन आफूहरु अग्रसर भएको बताउँदै शिक्षक, विद्यार्थी वा अभिभावकप्रति आफुहरु कुनै पूर्वाग्रही नहुने जानकारी दिईन् ।
जानकी गाउँपालिकाका शिक्षा स्रोतव्यक्ति मुनिर अहमद खाँले छोरा छोरी विद्यालय नपठाउने अभिभावकमाथि गाउँपालिकाले सेवा रोक्ने प्रावधान बनाउनु पर्ने सुझाव दिए ।
छलफलको सहजिकरण गर्दै त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक कृष्णकुमार लम्सालले सबै क्षेत्रलाई डोहो¥याउने शिक्षा क्षेत्र भएकोले यसमा स्थानीय तहहरुले विशेष ध्यान दिनुपर्ने बताए । उनले शिक्षा नीतिको मस्यौदामा सुझाव दिएका थिए ।
स्थानीय तहमा शिक्षा क्षेत्रको चुनौति र अवसर दुवै रहेको उल्लेख गर्दै सह–प्राध्यापक लम्सालले भने–‘सबै सम्वद्ध निकायसँग समन्वयका आधारमा नीति निर्माण र कार्यान्वयन भए शैक्षिकस्तर माथि उठ्ने अपेक्षा गर्न सकिन्छ ।’
जानकी गाउँपालिकाका सल्लाहकार पदम धितालले जानकी गाउँपालिकामा अहिले शिक्षाको अवस्थामा कम्जोर रहेकोले सुधार गर्नेगरी शिक्षा नीति बनाउनु पर्नेमा जोड दिए । उनले विद्यालय अनुगमनका क्रममा विद्यार्थी भर्नाको ५० प्रतिशत मात्रै उपस्थित रहेको पाईएको जानकारी दिए ।
नेपाल राष्ट्रिय शिक्षक संगठन जानकी गाउँपालिकाका अध्यक्ष द्रोण थापाले शिक्षा नीतिको मस्यौदा प्रधानाध्यापकहरुबीच ल्याएर छलफल गरेकोमा खुशी व्यक्त गरे । कार्यक्रममा सहभागि प्रधानाध्यापकहरुले शिक्षा नीतिको मस्यौदामा विभिन्न सुझाव दिएका छन् । जानकी गाउँपालिकामा ३ मावि, ६ आधारभूत गरी ४५ विद्यालय रहेका छन् ।

Next Post

गणतन्त्र दिवश भब्यसंग मनाइयो

१४ जेष्ठ २०७५, सोमबार १९:४१
सदरलाइनडटकम १५ जेठ, नेपालगन्ज :  गणतन्त दिवशको अवसरमामा मंगलबार नेपालगन्जमा प्रभातफेरी र अन्तरक्रियात्मक कार्यक्रमको आयोजना गरेको छ । गणतन्त्र दिवश मनाउन गठित जिल्लास्तरिय समितिको अगुवाईमा बिहान नेपालगन्जमा प्रभातफेरी निकालिएको थियो । त्यसपछि जिल्ला प्रशासन कार्यालयमा रहेको खुल्ला मञ्चमा सभा भएको थियो । सभामा बोल्ने बक्ताहरुले गणतन्त्रको असली कार्यान्वयन जनताको मुहारमा […]