‘नेपालगन्ज गोल्डकप’ फुटबल जेठ २१ गतेदेखि खजुरमा हुँदै

१३ जेष्ठ २०७५, आईतवार २१:२७
 

सदरलाइनडटकम
१३ जेठ, नेपालगन्ज : बाँके जिल्ला फुटवल संघको आयोजनामा टुबोर्ग तेस्रो नेपालगन्ज गोल्डकप फुटबल प्रतियोगिता आगामी जेठ २१ गतेदेखि खजुराको डीगाउँमा हुने भएको छ । सो प्रतियोगितामा ए डिभिजनका क्लवहरु सहभागि हुने बताईएको छ ।
आगामी मंसीरमा हुने आठौ राष्ट्रिय खेलकुद प्रतियोगताका लागि नेपालगन्ज रंगशाला मर्मत भइरहेकाले नेपालगन्ज गोल्डकपको तेस्रो संस्करण खजुराको डीगाउँस्थित नेपाल राष्ट्रिय आदर्श आधारभूत विद्यालयको खेल मैदानमा हुने भएको हो ।
बाँके जिल्ला फुटबल संघले आइतबार पत्रकार सम्मेलन सो बारे जानकारी दिएको हो । संघका अध्यक्ष भोजराज शाहीले पश्चिम नेपालको गौरवको रुपमा अघि बढेको नेपालगन्ज गोल्डकपलाई खजुरामा गर्दा अझ फुटबलको क्रेज बढ्ने बताए ।
उनले भने–‘नेपालगन्ज रंगशाला मै गर्ने तयारी भएपनि आठौका लागि रंगशाला मर्मत भइरहेकाले खजुरामा गर्नुपरेको कारण खजुरामा सञ्चालन गरिएको हो ।’
उनले नेपालगन्ज गोल्डकपको तेस्रो संस्करणमा आठवटा टीमले प्रतिस्पर्धा गर्ने जनाकारी दिए । संघका अध्यक्ष शाहीले पहिलो संस्करणको विजेता सुदूरपश्चिम–११, दोस्रो संस्करणको विजेता लाली रुपन्देही–११ सँगै नेपालगन्ज–११, त्रिभुवन आर्मी, सशस्त्र प्रहरी, संकटा, च्यासल फुटबल क्लव र भारतको पञ्जाव–११ ले नेपालगन्ज गोल्डकपमा प्रतिस्पर्धा गर्ने जानकारी दिए ।
नेपालगन्ज गोल्डकपको उपाधि विजेतालाई पाँच लाख, उपविजेताले दुई लाख ५१ हजार, प्रतियोगिताको उत्कृष्ट खेलाडीले मोटरसाइकल र हरेक खेलका म्यान अफ द म्याचले एउटा मोबाइल पुरस्कार पाउने छन् ।
उनले प्रतियोगिताको लागत ७५ लाख रुपैया खर्चहुने अनुमान गरिएको जानकारी दिदै भने–‘ आगामी जेठ २१ देखि २८ गतेसम्म सञ्चालन हुने प्रतियोगितालाई टुबोर्ग, रेडबुल, रुस्लान, प्रिति चाउचाउलगायतले सहयोग गरेका छन् । यसपटक टिकट भने ‘स्वविवेक’ को नीति लिइएको छ ।’
संघका अध्यक्ष शाहीका अनुसार, टिकट त राखिन्छ । जसले पैसा दिन्छ । उससँग सहयोग स्वरुप लिइन्छ । पैसा नदिएर पनि फुटबल हेर्न सक्छन् । संघले फुटबललाई माया गर्ने दर्शकले पचास÷सय रुपैयाको टिकट किनिदिने विश्वास गरेको छ ।
उनले प्रतियोगिताको ७५ प्रतिशत तयारी पूरा भइसकेको जानकारी दिए । डीगाउँको मैदानमा यसअघि पनि ठूल्ठूला प्रतियोगिता भइसकेको छ ।
पत्रकार सम्मेलनमा एन्फाका केन्द्रीय सदस्य प्रदेशसिंह राठौर, मध्यपश्चिम खेलकुद विकास समितिका उपाध्यक्ष नरेन्द्र थापा, टुबोर्गका क्षेत्रीय प्रवन्धक योगेन्द्र भट्ट, खेलकुदका अगुवाहरु गोवद्र्धन सिंह सम्झना, निजामुद्दिन सिद्धिकी (मुन्ना), खजुराका वडाध्यक्ष एवं न्यूँ डाँफे क्लवका अध्यक्ष तिलकबीर सुनार, खेलकुद पत्रकार मञ्चका जयनारायण शाहलगायतको उपस्थिति रहेको थियो ।

Next Post

नेपालगन्ज उप–महानगर वडानं.१० ले गर्यो जेष्ठ नागरिकलाई सम्मान

१३ जेष्ठ २०७५, आईतवार २१:२७
सदरलाइनडटकम १३ जेठ, नेपालगन्ज : नेपालगन्ज उप–महानगरपालिकाको लक्षित वर्ग क्षेत्र विकास कार्यक्रम अन्तरगत वडा न १० मा जेष्ठ नागरिकलाई सम्मान गरिएको छ । नेपालगन्ज उप–महानगरपालिका वडा न १० वडा समितिको कार्यालयले वडा न १० का ८० वर्ष भन्दा माथिका २५ जनालाई दोसल्ला, प्रमाणपत्र सहित सम्मान गरेको हो । जेष्ठ नागरिकको […]