नेपालगन्जमा हुने राष्ट्रिय खेलको मिति तय

२९ चैत्र २०७४, बिहीबार १६:३०
 


सदरलाइनडटकम
२९,चैत, नेपालगञ्ज :  आठौं राष्ट्रिय खेलकुदको मिति तय भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) को अध्यक्षतामा बुधबार सातदोबाटोमा बसेको १०९ औं बोर्ड बैठकले आठौं राष्ट्रिय खेलकुद मंसिर २१ देखि २८ गतेसम्म गर्ने निर्णय गरेको राखेपका प्रेस सल्लाहकार रोहित दाहालले जनाएका छन् । यसअघि आठौं राष्ट्रिय खेलकुद मंसिरमा गर्ने निर्णय भएपनि मिति भने तोकिएको थिएन ।
नेप्लिज फेडेरेसन अफ बडी बिल्डिङ एन्ड फिट्नेसको आयोजनामा दोश्रो राष्ट्रव्यापी शारीरिक सुगठन च्याम्पियनसिप भदौ १ र २ गते काठमाडौंमा हुने भएको छ । कुल ८ लाख १० हजार नगद पुरस्कार राशी रहेको प्रतियोगितामा विभिन्न ३ विधामा प्रतिस्पर्धा हुने संघका महासचिव अजय वज्राचार्यले जनाएका छन् । पुरुष शारीरिक सुगठन, खुला पुरुष फिजिक र खुला महिला फिट्नेसमा प्रतिस्पर्धा हुनेछ ।
शारीरिक सुगठनतर्फ ५५ केजी, ६० केजी, ६५ केजी, ७० केजी, ७५ केजी र ७५ केजीमाथि तौलसमूहमा प्रतिस्पर्धा हुनेछ । हरेक स्पर्धाका विजेताले ३० हजार, उपविजेताले १५ हजार र तेश्रो हुनेले १० हजार नगद पुरस्कार पाउने छन् । शारीरिक सुगठनतर्फ अभरअल विजेतालाई ३ लाख नगदबाट पुरस्कृत गरिने छ । पुरुष फिजिकमा पहिलो हुनेले ५० हजार, दोश्रोले २५ हजार र तेश्रोले १५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । महिला फिट्नेसमा शीर्ष तीन स्थान हात पार्नेले पनि पुरुष फिजिककै सरह नगद पुरस्कार हात पार्ने छन् । आयोजकका अनुसार प्रतियोगिता सञ्चालन गर्न करिब ३० लाख रुपैयाँ खर्च हुनेछ ।
यस्तै विद्यालय खेलकुद शिक्षकहरुको भेलाले रविनकुमार पोखरेलको संयोजकत्वमा १३ सदस्यीय विद्यालय खेलकुद शिक्षक संघ बुधबार गठन गरेको छ ।
मदन भण्डारी स्पोर्ट्स एकेडेमीअन्तर्गतको नवगठित संघको सह–संयोजकमा विजेन्द्र श्रेष्ठ, सचिवमा हरिश डिसी, सह–सचिवमा सचिन लामा र कोषाध्यक्षमा सुनिता राजथला रहेका छन् । विवश घिमिरे, राजेश कुसी, प्रद्युम्न सिंह, सुमन तिमल्सिना, महेश पोखरेल, शंकर भुजेल, जयनरेश सिंह र दिनेश ठगुन्ना सदस्यमा चयन भए ।
राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान) का पूर्व कार्यकारी निर्देशक डा. प्रकाश प्रधानलाई संरक्षकमा मनोनित गरिएको छ । त्यस्तै मधुकुमार चालिसे, दिपक निरौला, विरेन्द्र बोगटी, समिता खतिवडा, प्रतिमा सैंजु र रमेश खड्कालाई सल्लाहकारमा चयन गरियो ।
पदाधिकारीहरुलाई मदन भण्डारी स्पोर्ट्स एकेडेमीका अध्यक्ष विनोद श्रेष्ठले बधाइ तथा कार्यकाल सफलताका शुभकामना दिएका थिए । त्यसैगरी मनमोहन मेमोरियल क्रिकेट सेन्टरले पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृति दिवसको सन्दर्भमा मनमोहन स्मृति अन्तर प्रदेश यु–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रतियोगिता बैशाख १३ देखि १९ गतेसम्म कीर्तिपुर अन्तर्रा्ष्ट्रिय क्रिकेट मैदानमा हुने सेन्टरका अध्यक्ष ठाकुर गैरेले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । प्रतियोगितामा सातै प्रदेशका टिमको सहभागिता रहने छ । त्यसका लागि बैशाख ६ र ७ गतेसम्म खेलाडी छनोट सम्पन्न गर्ने आयोजकले जनाएको छ । प्रदेशअन्तर्गत १ को विराटनगर, २ को वीरगन्ज, ३ को काठमाडौं, ४ को पोखरा, ५ को भैरहवा, ६ को सुर्खेत र ७ को धनगढीमा छनोट हुनेछ । एक टिममा १४ खेलाडीसहति १–१ प्रशिक्षक र व्यवस्थापक रहने छन् । पहिलो र दोश्रो हुने टिमलाई नगद र खेल सामाग्रीसहित क्रमशः ५ लाख र २ लाख ५० हजार रुपैयाँ प्रदान गरिने छ । खेल ३० ओभरको हुनेछ । सेन्टरले २०७४ सालमा उत्कृष्ट प्रदर्शन गर्ने १–१ पुरुष÷महिला खेलाडी र १ प्रशिक्षकलाई ‘मनमोहन राष्ट्रिय क्रिकेट सम्मान– २०७४’ बाट सम्मान पनि गर्ने भएको छ ।

Next Post

‘नेपालगन्ज कप’ क्रिकेटको टाईटल स्पोन्सरका लािग आर्शिवाद पेन्ट्ससँग ८ लाखमा सम्झौता

२९ चैत्र २०७४, बिहीबार १६:३०
सदरलाइनडटकम २९ चैत, नेपालगन्ज : आगामी बैशाख ३ गतेदेखि कोहलपुरमा आयोजना हुने ‘नेपालगन्ज कप’ क्रिकेटको टाईटल स्पोन्सर आर्शिवाद पेन्ट्सले गर्ने पक्का भएको छ । आयोजक ग्रीन ईभेन्टोसंग बिहीबार एक कार्यक्रमबीच आर्शिवाद पेन्ट्सबीच टाईटल स्पोन्सरको सम्झौता भएपछि सो कुराको पक्का भएको हो । आयोजक ग्रीन इभेन्टोसँग आर्शिवाद् पेन्ट्सले ८ लाख रुपैयाँमा […]