सदरलाइनडटकम
१३ पुस, नेपालगन्ज : बुधबारदेखि बाँकेको खजुरा गाउँपालिका–२, सीतापुरमा जारी दोस्रो राष्ट्रिय जुनियर एथलेटिक्स प्रतियोगिता अन्तरगत विहीवार सम्पन्न ८ खेलमा घरेलु टिम मध्यपश्चिमले बर्चश्व जमाएको छ । महिला र पुरुष तर्फका चार–चार खेलमा मध्यपश्चिमाञ्चलका खेलाडीले वर्चश्व कायम गरेका छन् ।
पुरुष तर्फको ८ सय मिटर दौड, पुरुष शटपुट, महिला तर्फको २ सय मिटर दौड र महिलातर्फको लङजम्प प्रतियोगितामा मध्यपश्चिमाञ्चलका खेलाडीले स्वर्ण पदक जितेका छन् । पुरुषतर्फको आठ सय मिटर दौडमा मध्यपश्चिमाञ्चलका माधव चौधरी प्रथम भए । उनले २ मिनेट १० सेकेन्ड ३ पल्समा दुरी पार गरे ।
त्यसैगरि सो खेलमा मध्यमाञ्चलका सुभाष थापा दोस्रो र पश्चिमाञ्चलका रोहित अधिकारी तेस्रो भए । दुरी पार गर्न थापाले २ मिनेट १० सेकेन्ड ५ पल्स लगाउँदा अधिकारीले २ मिनेट ११ सेकेन्ड १ पल्समा दुरी पार गरे ।
बाँके जिल्ला एथलेटिक्स संघले पुरुष शटपुटतर्फ मध्यपश्चिम कै लक्ष्मण चुनारा प्रथम हुँदा पश्चिमाञ्चलका पवन विक दोस्रो र पूर्वाञ्चलका सुभाष तामाङ तेस्रो भए । चुनाराले १० दशमलव ५१ मिटर टाढा थ्रो गरेका थिए भने विकले १० दशमलव ४६ र तामाङले १० दशमलव ४२ मिटर थ्रो गरेको जनाएको छ ।
महिला तर्फको २ सय मिटर दौडमा मध्यपश्चिमाञ्चलकी जयरानी थारु प्रथम, पूर्वाञ्चलकी नेहा चौधरी दोस्रो र पश्चिमाञ्चलकी नेहा श्रेष्ठ तृतिय भइन् । प्रथम भएकी थारुले २८ दशमलव ४२ सेकेन्डमा दुरी पार गर्दा चौधरीले २९ दशमलव ३९ सेकेन्ड र श्रेष्ठले २९ दशमलव ५५ सेकेन्डमा दुरी पार गरिन् ।
त्यसैगरि, विहीवार भएको पुरुषतर्फको २ सय मिटर दौडमा पश्चिमाञ्चलका प्रकाश रानामगरले निर्धारित दुरी २४ दशमलव २८ सेकेन्डमा पार गरि प्रथम भए । उनीसँगै प्रतिष्पर्धा गरेका मध्यपश्चिमाञ्चलका विवश थारु दोस्रो र मध्यमाञ्चलका आशिष खत्री तृतिय भए । थारुले २४ दशमलव ५० सेकेन्डमा दुरी पार गर्दा तृतिय भएका खत्रीले २४ दशमलव ६० सेकेन्ड लगाए ।
विहीवार भएको महिलातर्फको ८ सय मिटर दौडमा मध्यमाञ्चलकी काजल विष्टले २ मिनेट ३९ सेकेन्ड ३ पल्समा निर्धारित दुरी पार गरी प्रथम भइन् । भने, सुदुरपश्चिमाञ्चलकी अनिता भुल २ मिनेट ४० सेकेन्ड ३ पल्समा दुरी पार गरि दोस्रो र मध्यपश्चिमाञ्चलकी सुष्मा सिंह तेस्रो भइन् । सिंहले २ मिनेट ४० सेकेन्ड ७ पल्समा दुरी पार गरेको प्रतियोगिता सचिवालयका संयोजक यम नारायण महतोले जानकारी दिए ।