कोहलपुर नगरपालिकाको मेयरका लागि यस्ता छन् दावेदार

२६ चैत्र २०७३, शनिबार १७:५८
 

सदरलाइनडटकम
२६ चैत कोहलपुर (बाँके) : स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै जाँदा कोहलपुरका चिया पसल, चोकचोकमा निर्वाचन कै चर्चा हुने गरेको छ । नेता, कार्यकर्ता मात्रै होइन मतदाता समेत निर्वाचनमा कसलाई भोट दिने भन्ने सोचिरहेका छन् ।
२० वर्षपछि हुन लागेको स्थानीय निर्वाचनलाई लिएर यस क्षेत्रका मतदाता उत्साहित भएका छन् । नयाँ संरचना अनुसार वडाबाटै अधिकांश काम हुने भएपछि मतदाता आफ्नो जनप्रतिनिधि छान्न आतुर देखिएका छन् ।
विभिन्न राजनीतिक दलले पनि वडावडामा भेला गरिरहेका छन् । आकांक्षी धेरै भएपछि पार्टीलाई उम्मेदवार छान्न पनि हम्मे हम्मे परेको छ । आकांक्षीहरु विभिन्न च्यानलबाट लविङ्ग गरिरहेका छन् । कोहलपुरका चोकचोकमा मेयरको टिकट कसले पाउने र कसले जित्ने सम्मको अड्कलबाजी हुन थालिसकेको छ ।
साविकको सम्शेरगञ्ज गाविस गाभिएर साढे ७० हजार जनसंख्या भएको कोहलपुर नगरपालिकामा चुनाव जित्न सक्ने पार्टीका लोकप्रिय कार्यकर्तालाई टिकट दिन कसरत भइरहेको छ । कोहलपुरमा अहिले तीन ठूला पार्टीभित्र मेयरको टिकट लिन कार्यकर्ताबीच हानथाप भैरहेको छ । प्रत्येक पार्टीभित्र आधा दर्जन मेयरका आंकाक्षी छन् ।
नेपाली कांग्रेसबाट बलराम शर्मा, भानुभक्त भट्टराई, राजेन्द्र श्रेष्ठ, चिन्तामणि धिताल, नरबहादुर मल्ल, निरज चलाउने र युवराज पौडेल मेयरका आकांक्षी हुन् । शर्मा, भट्टराई र श्रेष्ठले नगर भेलाहरुमा आंकाक्षी भएको बताएका हुन् भने धिताल, चलाउने र पौडेलले आफ्ना कार्यकर्तामाझ आकांक्षी रहेको बताउँदै आएका छन् । यी मध्य शर्मा बलिया र ईमान्दार छबि भएका नेता हुन उनले टिकट पाएमा जित्नसक्ने बलियो आधार रहेको कोहलपुर काँग्रेस भित्र चर्चा चलेको छ । त्यसो त कांग्रेसभित्रका आकांक्षीहरु भट्टराई र श्रेष्ठ पनि चर्चामा छन् ।
त्यस्तै नेकपा एमालेमा गोपाल गिरी, लुटबहादुर रावत, खिलप्रसाद भुषाल, नरेन्द्र शर्मा, कर्णबहादुर थापा, बसन्ती अधिकारी र आरती पौडेलले मेयरका लागि आकांक्षा व्यक्त गरेका छन् । गिरी, भुषाल र अधिकारीले नगर कमिटीको बैठकमा आकांक्षा व्यक्त गरेका हुन् भने रावत र शर्माले नेता कार्यकर्तामाझ आफू पनि आकांक्षी रहेको बताउँदै आएका छन् ।
आकांक्षीहरु मध्ये भुसाल बर्तमान कोहलपुर नगर कमिटीको अध्यक्ष समेत रहेका र कोहलपुरमा हुने गरेका विकास निर्माण र जनकार्यका लागि पार्टीको तर्फबाट अहोरात्र खटिने नेता भएकोले उनले टिकट पाएमा जित्ने सम्भावना बढी देखिएको छ ।
त्यस्तै एमाले बाटै पार्टीका जिल्ला कमिटीका नेता तथा पूर्व गविस अध्यक्ष समेत रहेका लुटबहादुर रावत, एमाले बाँकेका पूर्व सचिव गोपाल गिरी र कोहलपुर उद्योग बाणिज्य संघका अध्यक्ष नरेन्द्र शर्माकोे नाम पनि चर्चामा छ ।
त्यस्तै नेकपा (माओवादी केन्द्र) मा नरेन्द्र न्यौपाने, नरेन्द्र पाण्डे जेम्स, ओमप्रकाश केसी, तेजप्रसाद चापागाई, अवराज खड्का र नारायण लम्सालले आकांक्षा देखाएका छन् । माओवादीमा नरेन्द्र न्यौपानेको नाम बढी चर्चामा छ । न्यौपानेले नेता, कार्यकर्ता भेटघाटलाई पनि तीव्रता दिइसकेका छन् ।
यता कोहलपुरमा राप्रपा, राष्ट्रिय जनमोर्चा, मजदुर किसान पार्टी, नयाँ शक्ति पार्टी नेपाल लगायतका अन्य दलहरु पर्ख र हेरको स्थितिमा छन् । मेयरका आकांक्षीहरुको चर्चा सुनिएको छैन । ठूला दलले मेयरको टुंगो लगाएपछि मात्रै अगाडिको रणनीति तय गर्ने विचारमा साना दलहरु रहेका छन् । फोरम लोकतान्त्रिकबाट फुलाराम थारु उम्मेदवार हुने संभावना छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

समता स्कुल कोहलपुरमा पनि सञ्चालन हुँदै

२६ चैत्र २०७३, शनिबार १७:५८
सदरलाइनडटकम   २६ चैत नेपालगन्ज : गुणस्तरिय शिक्षाको लागि सञ्चालनमा रहेको समता विद्यालय बाँकेको कोहलपुरमा पनि सञ्चालनमा आउँने भएको छ । नयाँ शैक्षिक शत्रबाट सो विद्यालय सञ्चालनमा आउने गरी तयारी अगाडि बढाईएको संचालक समितिका सदस्य सुदर्शन पौडेलले जानकारी दिएका छन् । चर्चित हास्य कलाकार महजोडी (मदनकृष्ण श्रेष्ठ हरिबश आचार्य) द्धारा […]