नेपालगञ्ज : बाँके कारागारमा कैदीबन्दीलाई सिदाबापतको रकम वितरण गरिएको छ । राज्यबाट प्राप्त हुने सुविधामा कैदीबन्दी प्रत्यक्ष पहुँच पु¥याउन कारागारका कैदीबन्दीलाई सिदाबापत पाउने रकम वितरण गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलको नेतृत्वमा ९ सय २० जना कैदीबन्दीलाई कात्तिक १ देखि १५ गतेसम्मको १२ सय रुपैयाँ दिइएको हो । कैदीबन्दीले कारागारमा सिदाबापत दैनिक ८० रुपैयाँ नगद र ७ सय ग्राम चामल पाउँछन् । प्रजिअ पोखरेलका अनुसार कैदीबन्दीहरुले आगामी दिनमा सेवासुविधा प्रत्यक्ष रुपमा प्राप्त गर्नेछन् ।
कारागार व्यवस्थापन विभागअन्तर्गत बाँके कारागारमा पहिलो पटक कैदीबन्दीलाई प्रत्यक्ष रुपमा सेवा सुविधा उपलब्ध गराइएको प्रजिअ पोखरेलले बताए । ‘राज्यबाट प्रदान गरिएको सेवा सुविधा विचौलियाले दुरुपयोग गर्न नपाउन् भन्ने उद्देश्यले हामीले प्रत्यक्षरुपमा कैदीबन्दीकै हातमा सुविधा पुगोस् भनेर यो व्यवस्था लागू गरेका हौं,’ उनले भने ‘कारागार प्रशासन र कैदीबन्दी बीचको सोझो सेवा प्रवाह र चौकीदार, नाईके र सहायक नाईकेबाट प्रायः हुने गरेको रकम चुहावट रोक्नका लागि यो व्यवस्था लागू गरेका हौं ।’ यसअघि चौकीदार, नाईके र सहायक नाईकेमार्फत रकम वितरण हुने गरेको थियो ।
बाँके कारागारका निमित्त नायव सुब्बा नयनबहादुर कार्कीका अनुसार कैदीबन्दीलाई जाडो र गर्मी मौसममा प्रयोग हुने लुगाबापत नगद दिने व्यवस्था गरिएको छ । कैदीबन्दीले खाना र लत्ताकपडा सुविधा भए पनि बस्ने ठाउँ साघुरो भएको भन्दै उपयुक्त बासको व्यवस्था गर्न प्रजिअसमक्ष माग गरेका थिए ।
साथै उनीहरुले बिरामी भएको अवस्थामा समयमा उपचार नपाएको गुनासो गरेका थिए । बन्दीको समस्या सुनेपश्चात् प्रजिअ पोखरेलले कारागार विभागसँग छलफल गरेर सम्बोधन गर्ने आश्वासन दिए ।
तीन सय ५० जनाको क्षमता रहेको उक्त कारागारमा हाल ९ सय २० जना कैदीबन्दी छन् । क्षमताभन्दा बढी कैदीबन्दी रहेको कारागारको अवस्था जीर्ण छ । उक्त कारागारमा ४ सय ७५ जना कैदी र ४ सय ४५ जना थुनुवा रहेका छन् ।