सिमांकनबाहेक अन्य विषयमा हामी संशोधन प्रस्तावमा समर्थन गर्छौ :एमाले नेता रघुवीर महासेठ

९ चैत्र २०७३, बुधबार १६:५९
 

सदरलाइनडटकम  
९ चैत, काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रभावशाली नेता एवम् पूर्वमन्त्री रघुवीर महासेठले मधेशी मोर्चाले चुनावमा भाग लिने प्रतिबद्धता जनाए आफूहरु संविधान संशोधन प्रस्तावमा लचक हुन सक्ने बताएका छन्।
बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा नेता महासेठले मधेशी मोर्चापनि चुनावमा आउनुपर्ने बताउँदै भने,‘उहाँहरुपनि चुनावमा आउनुपर्छ, भोलि यो पार्टीको कारण हामी चुनावमा जान पाएनौं भनेर पछुताउने काम नहोस्, बेलैमा विचार पुर्याउनुहोस्।’
उनले अघि भने,‘मधेशी मोर्चाले पहिलो संविधान संशोधनमा पनि दुई वटा विषय पारित भए हामी मान्छौं भन्नुभयो, दुईवटा विषय पारित हुँदापनि उहाँहरुले पछि फेरि अर्को बखेडा झिक्नुभयो।’ यद्धपी उनले यसपटक संविधान संशोधन प्रस्तावमा उल्लेख गरिएका चार वटा विषयहरुमध्ये प्रदेशको सिमांकनको बारेमा प्रमुख तीन दल काँग्रेस, एमाले र नेकपा माओवादी केन्द्रवीच समान धारणा रहेको स्पष्ट पारे।
क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै नेता महासेठले मधेशी मोर्चाका नेताहरुले चुनाव नचाहेपनि जनताले चुनाव चाहेको स्पष्ट पारे। उनले भने,‘मधेशी मोर्चाभित्रपनि अनिल झाजीजस्ता थुप्रै नेताहरु चुनावको पक्षमा हुनुहुन्छ, तर के गर्नु उहा त केवल विद्यार्थी मात्रै हो, हेडमास्टरले भनेको कुरा मान्नैपर्यो, नमानेपछि फेरि अप्ठ्यारो पर्छ।’ उनले मधेशी मोर्चाका नेताहरुलाई नितान्त नेपाली भएर नेपालको समस्याबारे सोच्न समेत आग्रह गरे। महासेठले थपे,‘मधेश बिग्रियो भने नेपाल नै बिग्रिन्छ ।’
फरक प्रसँगमा नेता महासेठले हालै सम्पन्न भएको आफ्नो पार्टीको मेची–महाकाली अभियान अन्र्तगर्त भैरहवामा भएको आमसभामा एमाले शीर्ष नेताहरुले मधेशी जनतालाई चिढ्याउनेगरि भाषण गरेको भनेर माओवादी केन्द्रका नेता दिननाथ शर्माले लगाएको आरोपको खण्डन गर्दै भने,‘भैरहवामा हामीले मधेशी जनताको चित्त दुःखाउने कुरा गरेकै छैनौं, यो वाहियात आरोप हो, मधेश नेपाल हो, मधेशका जनता देशप्रति निकै उत्तरदायी हुनुहुन्छ, तर मधेशी मोर्चाका नेताहरुको बारेमा हामीले बोल्नैपर्ने बाध्यता थियो र हामीले बोलेका हौं।’ उनले मोर्चाका नेताहरुले छिमेकीको सल्लाह लिएर चलेको आरोप समेत लगाए।
उनले विदेशीले नेपालको आत्मसम्मानमा चोट पुर्याउने काम गरेको उल्लेख गर्दै भने,‘नाँगो हस्तक्षेप हामी सहन सक्दैनौं, हामीले त बरु मधेशी जनताको हृदय जितेका छौं, यो कुरा उहाँहरुलाई गएर सोच्नुहोस् त ।’ उनले मोर्चाका नेताहरु भारतीय नेताहरुबाट निर्देशित भएको समेत आरोप लगाए। उनले मोर्चाका नेताहरुप्रति टिप्पणी गर्दै भने,‘आन्दोलन गर्ने हो भने नेपालमा गर्नुहोस्, प्रतिष्पर्धा गर्नुहोस, हामी यहाँ आफ्ना कुरा राखेर जनतामा जाऔं न, किन दिल्ली, युपी र विहारमा गएर क्लास लिनुहुन्छ ?’
फरक प्रसँगमा उनले युपीको नयाँ मुख्यमन्त्रीमा हिन्दुवादी नेता नियुक्त भएको विषयलाई लिएर केहीले नेपालमा अब परिवर्तन आउँदैछ भनेर अफवाह फैलाएको आरोप लगाए। उनले भने,‘केही हुनेवाला छैन, मोदी पनि आएकै हुन नि, नेपालमा केही हुनेवाला छैन।’
उनले आईजीपी विवादमा सर्वोच्च अदालतले दिएको अन्तिम फैसलाप्रति अहिले नै आफूहरुले कुनै टिप्पणी नगर्ने स्पष्ट पारे। उनले भने,‘न्यायपालिका स्वतन्त्र छ, कार्यपालिका पनि संविधान अन्र्तगर्त नै हो, अब सरकारले यसबारेमा कस्तो निर्णय लिन्छ अनि त्यसपछिमात्रै हामी यसबारेमा बोल्छौं।’
यद्धपी उनले सरकारले गरेको निर्णयमा न्यायापालिकाले र न्यायापालिकाले गरेको निर्णयमा कार्यपालिकाले एकले अर्कोलाई हस्तक्षेप गर्न नमिल्ने बताए। महासेठले दुवै निकायले आफ्नो क्षेत्राधिकारभित्रै रहेर कार्यसम्पादन गर्नुपर्ने बताउँदै अदालतको निर्णयलाई आफूले सम्मान गर्ने स्पष्ट पारे।

पहिला संविधान संशोधन अनिमात्रै निर्वाचन :शर्मा

सत्तारुढ दल नेकपा माओवादी केन्द्रका नेता दिनानाथ शर्माले संविधान संशोधन गरेर निर्वाचनमा जानेगरि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गृहकार्य गरिरहेको स्पष्ट पारेका छन् । उनले भने,‘मधेशी मोर्चाका माँगहरुलाई सम्बोधन गर्नुपर्छ, उहाँहरुको माँग सम्बोधन गर्ने महत्वपूर्ण भूमिकामा अहिले प्रमुख प्रतिपक्षी दल नेकपा एमाले छ।’
उनले एमाले शीर्ष नेताहरुले मेची–महाकाली अभियानको क्रममा भैरहवामा गरेको भाषणको टिप्पणी गर्दै भने,‘भैरहवाको आमसभामा एमाले नेताहरुले गरेको भाषणाले गुल्मी, पाल्पा र अर्घाखाँचीका जनताको मन जित्नुभयो होला तर सिँगे मधेश र मधेशी जनतालाई होच्याउने काम गर्नुहुँदैन, उहाँहरुको घाउ चर्यायो ।’
उनले नेपालमा कुनैपनि पार्टीले बहुमत ल्याउँछु भनेर नसोचे हुन्छ भन्दै सबैले सबै दलको सम्मान गरेर अघि बढ्दा नै देश र जनताको भलो हुने स्पष्ट पारे। उनले भने,‘हामी यो देशमा समस्या थुपार्न सक्छौं, तर समस्याको समाधान गर्न सक्छौं कि सक्दैनौं, प्रधान कुरा त यो पो हो।’ उनले प्रमुख प्रतिपक्षी दल एमालेले आफ्नो अडान सुधार्नुपर्ने समेत माँग गरे। शर्माले थपे,‘एमालेले मोर्चासँग सम्बन्ध सुधार गर्नुपर्छ, प्रगाढ बनाउनुपर्छ।’
उनले संविधान संशोधनमा एमाले र मोर्चालाई एक ठाउँमा उभ्याउनको लागि प्रधानमन्त्री दाहालले प्रत्यन गरिरहेको जिकिर गरे। उनले मधेशी मोर्चाले पनि चुनावमा भाग लिन्छौं भनिरहेको अवस्था भएकोले प्रमुख दलहरु जनताप्रति उदार हुनुपर्नेमा जोड दिए।
अब सरकारले नयाँ आईजीपी कहिले र कसलाई बनाउँछ भनेर पत्रकार ऋषि धमलाले गरेको एक प्रश्नमा उनले भने,‘हाम्रो पार्टीको बैठक नै आईजीपीको विषयमा केन्द्रित रहेर बस्दैछ।’ उनले सर्वोच्च अदालतको फैसलाप्रति अहिले नै आफूले टिप्पणी नगर्ने स्पष्ट पारे। यद्धपी उनले अदालतले कहिले राम्रो त कहिले अप्ठ्यारोमा पार्ने काम गरेको गुनासो पोखे।
शर्माले थपे,‘विकास निर्माणको काममा अवरोध गर्ने काम भएको छ, नागढुँगा–कलंकी सडक बनाउने काममा पनि अवरोध गरेको हो।’ उनले अदालतले निर्णय कार्यसम्पादनमा विचार पुर्याउनुपर्ने बताए। संवैधानिक अंगहरु राज्य अन्र्तगर्त भएकोले कार्यपालिको निर्णयमा हस्तक्षेप गर्न नहुने जिकिर गरे।


संविधान संशोधन गरेर मात्रै निर्वाचन हुन्छ : मन्सुर 

नेपाली काँग्रेसका नेता फरमुल्लाह मन्सुरले संविधान संशोधन प्रस्ताव पारित गरेर मात्रै निर्वाचनमा जानुपर्ने बताएका छन् ।
मन्सुरले पहिले संशोधन प्रस्ताव पास गरेर मात्रै निर्वाचन गर्नुपर्ने बताएका हुन् । आसन्न स्थानीय तहको निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्नु सरकारको कर्तव्य भएको बताए।
उनले भने,‘सबै नागरिकलाई निर्भिकताका साथ मत हाल्ने वातावरण निमार्ण गर्नुपर्छ, उम्मेद्वारले भयरहित तरिकाले उम्मेद्वारी दिन पाउनुपर्छ, प्रमुख राजनीतिक दलले देशको निकास दिनको लागि प्रयास गर्नुपर्छ, सबै दलले स्थानीय तहको निर्वाचनमा भाग लिने वातावरण निमार्ण गर्नुपर्छ।’
नेपाल प्रहरीको आईजीपी विषयमा नेता मन्सुरले संविधानलाई सर्वोच्च अदालतले हस्तक्षेप गर्न नहुने बताए । उनले भने,‘आईजीपी नियुक्तीबारे कानूनले जान्दछ, तर हामीले बनाएको कानूनलाई सर्वोच्चले हस्तक्षेप गर्नुहुँदैन्।’

मधेशी मोर्चा निर्वाचनमा जान्छ : अनिल झा  

त्यस्तै मधेशी मोर्चाका नेता अनिल झाले सत्ता पक्षले द्वैद चरित्र देखाएकोे आरोप लगाएका छन्। झाले सत्तापक्षलाई कि त संशोधन प्रस्ताव पास गर्छौँ भनेर लाग्नुपर्ने, वा कि त निर्वाचनको लागि घनघोर प्रचार गरेर अघि बढ्नुपर्ने बताउदै भने,‘तर सरकारले द्वैद चरित्र देखाएको छ, द्धिविधा सिर्जना गरिरहेको छ, यो हुन सक्दैन, हामीले १०३ बुँदामा असहमति राख्दै आज तीन बुँदामा आई पुगेका छौँ, त्यही पनि हुन्छ भने प्रष्ट हुन्छ भन्नुपर्यो हुँदैन भने, हुँदैन निर्वाचनमा जानुस् भन्नुपर्यो, हामीलाई निर्वाचनमा भाग लिने वातावरण मिलाउनुपर्यो।’
नेपाल सद्भावना पार्टीका अध्यक्ष समेत रहेका नेता झाले फरक प्रसँगमा ‘यहाँ खसिको मासु पाईन्छ’ भनेर लेखिएको ठाउँमा आज आएर ‘पाईन्छ’ मात्रै बाँकि रहेको बताए ।
उनले भने,‘अब ‘पाईन्छ’ भन्ने कुरामा कति पाईन्छ त्यसैको पर्खाईमा छौँ, एउटा कुरा काँग्रेसले ३ दशक, एमालले २ दशक र माओवादी केन्द्रले १ दशक निर्वाचन बहिष्कार गरेको ईतिहास छ तर मेरो दल र मधेशी मोर्चाले कहिल्यै चुनाव वहिष्कार गरेको छैन, स्ववियू निर्वाचनमा मधेशी विद्यार्थीहरूलाई बञ्चित गराईएको छ, फेरी पनि हामीलाई निहुँ बनाएर स्थानीय तहको निर्वाचनबाट बञ्चित गर्ने खेल हुँदैछ, हाम्रा मागहरू सम्बोधन गर्नको लागि परिणाममुखि कदम चाल्नुपर्छ।’
उनले आईजिपि विवाद र सर्वोच्चको निर्णयलाई कानुनी बाध्यता भएको बताउँदै भने,‘सर्वोच्चको निर्णय बाध्यात्मक स्थितिमा पनि स्किारर्नैपर्छ, किनभन्दा सर्वोच्चको फैसला शिरोधार गर्नु लोकतन्त्रको असली पाटो हो। हामीले अनेक शासन कालमा पनि देखेका छौँ, लोकन्त्रको घाँटी रेटेको स्थितिमा पनि न्यायको बाटोलाई नै स्विकार गरेको सत्य हो।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मानव बेचबिखन विरुद्धको स्थानीय समिति र जिल्ला समतिबीच अन्तरक्रिया

९ चैत्र २०७३, बुधबार १६:५९
सदरलाइनडटकम      ९ चैत, नेपालगन्ज : मानव बेचबिखन बिरुद्धको जिल्ला समिति, बाँके र माईती नेपाल नेपालगन्जको आयोजनामा एकदिने मनव बेचविखन बिरुद्धको अन्तरक्रिया सम्पन्न भएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी रबीलाल पन्थको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमका सहभागिले मानब बेचविखन बिरुद्ध सबै क्षेत्रले एक आपसमा समन्वय गरी आ–आफ्नो जिम्मेवारी पुरा गर्नसके […]