चुनावको मिति तलमाथि गरे सरकारको औचित्य समाप्त हुन्छ : रावल

७ चैत्र २०७३, सोमबार १७:५२
 

सदरलाइनडटकम  

 

७ चैत, काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपाध्यक्ष भीम बहादुर रावलले वर्तमान सरकारले निर्वाचन गराउन नसके सरकारमा बस्नुको औचित्य नहुने स्पष्ट पारेका छन् । उनले भने,‘यो सरकारले निर्वाचनको मिति तलमाथि गर्यो भने सरकारमा बसिरहने अधिकार हुँदैन्, तत्काल सरकारको कुर्सी छोड्नुपर्छ ।’ उनले सरकारले चुनाव गराउन नसके एमालेले राष्ट्रिय सहमतिको सरकारको नेतृत्व गर्ने समेत स्पष्ट पारे ।
रावलले भने,‘यो सरकारले चुनाव गर्न सकेन भने हाम्रो पार्टी सरकारको नेतृत्व गर्न तयार छ, तर यसको लागि सबै दलबाट ठोस प्रस्ताव आउनुपर्छ, यतिकै एमालेले सरकारको नेतृत्व गर्छु भनेर जाँदैन् ।’
यद्धपी उनले मुलुक निर्वाचनको प्रक्रियामा गैसकेकोले अब निर्वाचन हुँदैन कि भनेर आशंका गर्न नहुने जिकिर गरे। उनले अहिले संविधान संशोधन प्रस्तावलाई थाँती राखेर निर्वाचनमा जानुपर्ने बारे आफ्नो पार्टीको स्पष्ट अडान रहेकोले पार्टी आफ्नो अडानबाट एक ईन्च पनि तलमाथि नहुने स्पष्ट पारे ।
रावलले स्थानीय तहको निर्वाचन रोक्नु पर्ने कुनै कारण नभएको बताएका छन् । उनले निर्धारित मितिमा नै निर्वाचन हुने विश्वास व्यक्त गर्दै कुनै एक राजनीतिक दलले निर्वाचनमा भाग नलिँदैमा निर्वाचन नरोकिने बताए ।
निर्वाचनमा भाग लिन नलिने त्यो पार्टीको इच्छाको कुरा भएको बताउँदै उनले भने –‘बीस वर्षदेखि हुन नसकेको निर्वाचनमा सहभागी हुन पाउने भएपछि जनता उत्साहित देखिएका छन् । त्यसैले जनतालाई अधिकार दिन तोकिएकै समयमा निर्वाचन गराउनुपर्छ ।’
उनले सङ्घीयता चाहने दल संयुक्त मधेसी मोर्चाले नै सङ्घीयताको विरोध गरेको उल्लेख गदै भर्खर गठन भएको स्थानीय तहको कार्यालय तोडफोड गर्नु ठीक नभएको धारणा व्यक्त गरे ।  


रावलले एउटाले एमालेको अभियानलाई अराजक देख्ने र अर्कोले पेट्रोल बम हान्ने अचम्मको दृष्य पार्टीको मेची–महाकाली अभियानमा देखिएको आरोप लगाए। उनले भने,‘कुनै राजनीतिक दलको शान्तिपूर्ण कार्यक्रमलाई अराजकता देख्ने दलको सिद्धान्तमाथि जनताले प्रश्न उठाएका छन्, जनताकाबीचमा जान रोक्ने काम गर्नेहरु निर्वाचनबाट गराएका छन्।’ उनले संविधान संशोधन गर्नै हुँदैन भनेर आफ्नो पार्टीले नभनेको बरु जनताको मत जितेर दुई तिहाई लिएर संविधान संशोधन गरे भैगयो नि त भन्दै मोर्चामाथि प्रश्न तेर्साए।
रावलले आफू भर्खरै कञ्चनपुरको आनन्दबजार पुगेर शहीद गोविन्द गौतमका परिवारलाई भेटेर फर्किएको बताउँदै भने,‘माटोको पक्षमा बोल्दा आज गौतमजीको हत्या भएको छ, हाम्रा जनता गोली खाएर मरेका छन्, अनि यही विचमा कसैले आएर नकारात्मक भूमिका खेल्छ, यी सबै कुराहरु अब व्यवस्थापन गर्नुपर्छ।’ उनले सिमा व्यवस्थापनको कार्ययोजना आवश्यक रहेको बताए ।
मुलुको भलाईका लागि पनि संविधान कार्यान्वयन गर्नुपर्ने र त्यसको लागि सबै दलले गम्भिर भएर चुनावमा भाग लिनुपर्ने रावलको भनाई थियो।

संशोधन प्रस्ताव टुँगो लगाएरमात्रै निर्वाचनमा जानुपर्छ : डा. महत

 प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसका नेता डा. रामशरण महतले संविधान संशोधन प्रस्तावलाई टुँगो लगाएर मात्रै निर्वाचनमा जानुपर्ने बताएका छन् । सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता महतले संसदमा विचाराधिन संविधान संशोधन प्रस्तावलाई छलफल गराएर टुँगोमा पुर्याउनुपर्ने बताएका हुन्। उनले भने,‘संशोधन प्रस्तावलाई अब अड्काएर राख्नुहुँदैन्, यसलाई टुँगो लगाउनुपर्छ, यसलाई छिनोफानो गर्नुपर्छ, प्रस्ताव पास भएपनि नभएपनि मधेशी मोर्चाले संसदबाट आउने नतिजालाई स्विकार गर्नुपर्छ, अनि चुनावमा भाग लिनुपर्छ।’
क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै नेता महतले संशोधन प्रस्ताव पारित गराउनैपर्छ भनेर अड्डी लिन नहुने समेत स्पष्ट पारे। उनले भने,‘अब संशोधन प्रस्तावलाई टुँगोमा पुर्याएर सबै दलहरुलाई निर्वाचनमा सहभागी गराउनुपर्छ, मधेशी मोर्चालाईपनि चुनावमा लिएर जानुपर्छ।’ उनले मधेशी मोर्चालाई बाईपास गरेर चुनावमा जान नहुने धारणा राखे। महतले भने,‘मधेशी मोर्चा चुनावमा गएन भने यो चुनावको कुनै औचित्य रहँदैन्, र यो संविधानको औचित्यमाथि नै प्रश्न चिन्ह खडा हुन्छ।’
नेता डा. महतले संविधान संशोधन प्रस्ताव पारित गराउनको लागि मधेशी मोर्चाले पनि प्रत्यन गर्नुपर्नेमा जोड दिए। उनले भने,‘दुई तिहाई जुटाउनको लागि मोर्चाले पनि आफ्नो तर्फबाट गम्भिर पहल गर्नुपर्छ।’ महतले निर्वाचन र संविधान संशोधन सँगसँगै लैजानुपर्ने बताए । उनले निर्वाचनमा मधेसी मोर्चालाई पनि सहमत गराएर लैजानुको विकल्प नभएको पनि बताए।
उनले निर्वाचनमा भाग लिनको लागि जनतामा ठूलो उत्साह रहेको स्पष्ट पारे। उनले भने,‘निर्वाचनको लागि सबै दलहरु तयार हुनुपर्छ, जनतामा ठूलो उत्साह छ, तर दुई नम्बर प्रदेशमा पनि चुनाव गराउनुपर्छ,’ मधेश केन्द्रित दलहरुलाईपनि चुनावमा लिएर जानुपर्छ, मधेशमा चुनाव भएन भने चुनावको कुनै औचित्य हुँदैन्।’
नेता महतले निर्वाच आयोगले राप्रपाको विधानबाट हिन्दुराष्ट्र र राजतन्त्र भन्ने वाक्यांश हटाएको विरोधमा राप्रपाले गरिरहेको आन्दोलनको विषयमा टिप्पणी गर्दै भने,‘निर्वाचन आयोगले आँफै समस्या सिर्जना गरेको छ, आयोगको यो कदम उचित छैन।’
उनले संविधान अनुरुप छैन भनेर आयोगले यस्तो काम गर्नु अत्यन्तै गलत भएको टिप्पणी गरे। महतले भने,‘जनताले चाहे भने राजतन्त्र त फिर्ता हुन्छ, सम्प्रभुता, राष्ट्रिय एकता र भौगोलिक अखण्डतामा सम्झौता हुन सक्दैन्, अरु सबै विषयमा जनताले चाहे भने संशोधन हुन सक्छ।’
त्यस्तै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकार अल्पकालिन सोचबाट सरकार ग्रसित बनेको समेत आरोप लगाए। उनले भने,‘अहिले सुशासनको अभाव छ, प्रशासन त्यही अनुसार ग्रसित छ, विकास खर्च भएको छैन्।।’
उनले पूरानै संरचना अनुसार निर्वाचनमा गए सबै दलले निर्वाचनमा भाग लिने वातावरण बन्ने थियो भन्दै गुनासो पोखे। उनले भने,‘मैले त पूरानै संरचना अनुसार निर्वाचना जानुपर्छ भनेको थिएँ, अहिले नयाँ संरचना अनुसार जाँदा झनझट हुन्छ, कार्यालय कहाँ राख्ने, प्रशासनीय संरचना कस्तो हुने समस्या हुन्छ भनेर मैले यो कुरा भनेको थिएँ।’
अहिले स्थानीय तहमा विवाद सिर्जना भए पुरानै स्थानीय निकायको निर्वाचन गर्नुपर्ने उनको भनाइ थियो । “नयाँ संरचनामा जाँदा समस्या हुन्छ भने पुरानै संरचनामा गएर निर्वाचन गरौंं,” उहाँले भन्नुभयो – “पुरानो संरचनामा जाँदा मधेसवादी दलमा पनि आउँछन् ।”
मुलुकको निकासको लागि प्रमुख दलहरु सम्मिलित राष्ट्रिय सहमतिको सरकार गठनको लागि पनि काँग्रेस खुल्ला रहेको उनको भनाई थियो। उनले भने,‘म त पहिलेदेखि नै यसको पक्षमा छु, स्थिरता भयो भने मुलुकमा विकास हुन्छ, दिगो विकासको लागिपनि राष्ट्रिय सहमतिको सरकार आवश्यक छ।’ उनले स्थानीय तहको निर्वाचन भएपछि सहमतिको सरकार बन्ने विश्वास दिलाए। उनले राजतन्त्र महँगो भयो भनेर गणतन्त्र ल्याउने अनि सरकार चाही गलत काममा लाग्न थाल्यो भने गणतन्त्र पनि राजतन्त्रभन्दा बढि महँगो साबित हुने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपाल बिना भारत अधुरो छ : भाजपा सांसद सिंह

७ चैत्र २०७३, सोमबार १७:५२
सदरलाइनडटकम ७ चैत, काठमाडौं : नेपाल भ्रमणमा रहेका भारतीय जनता पार्टीका प्रभावशाली नेता तथा सांसद गोपालनारायण सिंहले नेपाल–भारत द्धिपक्षीय सम्बन्ध ऐतिहासिक रहेकोले आगामी दिनमा द्धिपक्षीय सम्बन्ध थप मजबुद हुने बताएका छन् । आईतबार रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कारमा बोल्दै सांसद सिंहले भने,‘नेपाल बिना भारत अधुरो छ, भारत बिना पनि नेपाल […]

सम्बन्धित