मोर्चाको अबरोधकै बीचमा एमालेको आमसभा सम्पन्न (फोटो कथा सहित)

१ चैत्र २०७३, मंगलवार १९:२५
 

सदरलाइनडटकम   
१ चैत, नेपालगन्ज : संविधान कार्यान्वयनको लागि एमालेद्वारा गत फागुन २१ देखि सुरु गरिएको मेची–महाकाली अभियान बाँकेमा मधेसी मोर्चाको बन्द र अवरोधका बीच नेकपा एमालेले मंगलबार नेपालगन्जमा वृहत शक्ति प्रदर्शन गरेको छ । एमालेको आमसभा र मेची–महाकाली अभियानलाई अवरोध गर्न मोर्चा कार्यकर्ताले नेपालगन्ज–गुलरिया सडकखण्डका ठाउँठाउँमा अवरोध सिर्जना गरेका थिए ।
यस क्रममा प्रहरीसँग मोर्चा कार्यकर्ताको झडप हुँदा नेपालगन्ज–गुलरिया सडक खण्डमा पर्ने बाँकेको सोनपुर गोनानामा हवाइ फायर र अश्रुग्याँस समेत प्रहार गरिएको छ । मोर्चाको अवरोध र बन्द छिचोल्दै बाँकेका विभिन्न गाउँगाउँबाट स्थानीय एमाले कार्यकर्ता र समर्थक नेपालगन्ज आइपुगेका थिए ।
नेपालगन्जको सभा र ¥यालीमा स्थानीय मुस्लिम,थारु र मधेसीहरुको उल्लेख्य सहभागिता थियो । एमालेले मधेसी र मुस्लिम समदायलाई लक्षित गरेर मोर्चाको चेतावनीका बाबजुद नेपालगन्जमा सभा गरेको हो । थारु र मुस्लिम समुदायका स्थानीय आ–आफ्ना पहिचान झल्किने सांस्कृति झाँकी सहित एमालेको सभामा सहभागी हुन आएका थिए ।
नेपालगन्ज–२१ कि सकिना खातुनले एमालेले आयोजना गरेको आमसभामा भागलिन आएको बताईन । उनले केप ीओली प्रधानमन्त्री भएको बेलामा सामाजिक सुरक्षा भत्ता बढाएर मुस्लिम समुदायको लागि धेरै काम गरेकोले एमालेको कार्यक्रममा आएको बताइन् । उनले भनिन्–म राजनीति बुझ्दिन तर, ओलीको भाषण सुनौं र उनीलाई देखौ भनेर आएकी हुँ ।’ उनी स्थानीय मुस्लिम महिलाहरुको समूहसँगै जुलसमा आएकी थिइन् ।


एमालेले नेपालगन्जको सभाको सञ्चालक समेत मुस्लिम नेता पार्टीका बैकल्पिक केन्द्रीय सदस्य मोहम्मद हारुनलाई बनाएर स्थानीय स्तरमा पार्टीको साख बढाउने काम गरेको मुस्लिम अगुवाको भनाई रहेको छ ।
बाँके जिल्ला मुस्लिम,थारु र मधेसी बाहुल्य भएको ठाउँ हो । बाँकेबाट गत संविधानसभा निर्वाचनमा चार निर्वाचन क्षेत्रमध्ये ३ ओटामा एमालेका उम्मेवारले जितेका थिए । मधेसी मोर्चाको बन्दका कारण गाउँगाउँबाट आएका जनता बाटोमै अलपत्र परेको एमाले सांसद तथा केन्द्रीय सदस्य दिनेशचन्द्र यादवले दावी गरे । उनले आफ्ना समर्थकहरुलाई घर घरमा गएर एमालेको कार्यक्रममा नजान धम्क्याइएको आरोप समेत लगाए ।
करकाँदोस्थित सडक बिभागको मैदानमा आयोजित सभामा १५ हजार भन्दा बढि सहभागी थिए । बन्दका कारण सहभागिता अझ कम भएको आयोजकले बताएका छन् ।
प्रहरीको हतियार खोस्न खोजेपछि बाँकेको गोनानामा हवाइ फायर भएको थियो । एमालेको नेपालगन्जमा हुने आमसभामा आउने मानिसलाई रोक्ने क्रममा मधेसी मोर्चाका कार्यकर्ताले आगजनी र प्रहरीमाथि हातपात गरेपछि बाँकेको सोनपुर गोनानामा २ राउन्ड हवाइ फायर भएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार प्रहरीले सम्झाइ बुझाइ गर्न खोज्दा प्रहरीको हतियार खोस्न थालेपछि हवाइ फायर गरिएको हो । प्रहरीले २ राउन्ड अश्रुग्यास र हावामा फायर गरेर बन्दकर्तालाई तितरबितर भएका छन् ।
एमालेको सभास्थलमा आउन लागेकाहरुलाई हातपात गर्ने र गाडीमा आगजनी गर्ने कार्य भएपछि प्रहरीले उनीहरुलाई त्यहाँबाट हटाएको एसपी रविन्द्र बस्यालले बताए । एमालेको सभास्थल नेपालगन्जको कारकाँदोबाट गनाना करीव १५ किलोमिटर पश्चिम गुलरिया नेपालगन्ज सडक खण्डमा पर्छ ।



संघिय समाजबादी फोरमका केन्द्रीय सदस्य तथा मधेसी मोर्चाका नेता इस्तियाक राईले भने आफ्ना कार्यकर्ताले प्रहरीको हतियार नखोसेको दावी गरे । उनले प्रमुख जिल्ला अधिकारीले प्रहरीको पिस्तोल खोसेकाले हवाइ फायर गर्नुपरेको जवाफ दिए पनि त्यस्तो अवस्था नरहेको बताए । अहिले सो क्षेत्रमा मोर्चा कार्यकर्ता तितरबितर भएका छन् । उनीहरुले केहीबेर प्रहरीमाथि ढुंगा प्रहार गरेका थिए ।
मोर्चाले एमालेको अभियानलाई अवरोध गर्न बाँके जिल्ला बन्द आह्वान गरेको छ । उनीहरुले गाउँतिरबाट एमालेको सभामा आउने मान्छेलाई बाटोमै रोक्न खोज्दा प्रहरीले बल प्रयोग गरेको हो ।
एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व प्रधानमन्त्री माधब कुमार नेपाल, एमाले उपाध्यक्ष बामदेब गौतम र पोलिट व्यूरो सदस्य लालबाबु पण्डितले सम्बोधन गरेको सभाको अध्यक्षता बैकल्पिक केन्द्रीय सदस्य दिनेशचन्द्र यादवले गरेका थिए भने सञ्चालन अर्का बैकल्पिक केन्द्रीय सदस्य तथा मुस्लिम नेता मो. हारुण हल्वाईले गरेका थिए ।    

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेका ३१ परीक्षा केन्द्रबाट एसईईको परीक्षामा ८ हजार ७ सय ३७ सहभागी

१ चैत्र २०७३, मंगलवार १९:२५
सदरलाइनडटकम  ३ चैत्र, नेपालगन्ज : बाँकेमा माध्यामिक शिक्षा परीक्षा (विगतको एसएलसी) मा जिल्लामा विभिन्न परीक्षा केन्द्रबाट करिब ९ हजार सहभागी हुने भएका छन् । बिहीबार पहिलो दिन उनीहरुले अंग्रेजी विषयको परीक्षा दिए । स्कुले जीवनमा फलामे ढोकाको नामबाट परिचित प्रवेशिका परीक्षा (एसएलसी) हालको माध्यामिक शिक्षा परीक्षा (एसइई) बाँकेबाट जिल्ला शिक्षा […]