मनाङ मस्र्याङ्दीलाई पराजित गर्दै रुपन्देही–११ सेमिफाईनलमा

२९ फाल्गुन २०७३, आईतवार १९:४३
 

सदरलाइनडटकम  
२९ फागुन, नेपालगन्ज : नेपालगन्जमा जारी दोस्रो नेपालगन्ज गोल्डकप फुटबल प्रतियोगिताको आईतबारको खेलमा लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लवलाई पराजित गर्दै रुपन्देही–११ सेमिफाइनलमा पुगेको छ ।
एक गोलले पछि परेको रुपन्देहीले अन्तिम १२ मिनेटमा प्रतियोगितालाई आफ्नो पक्षमा पारेको थियो । मनाङले ७५ मिनेटमा सुशील लामाको गोलबाट अग्रता लिएको थियो । ८७ मिनेटमा उत्तम गुरुङको गोलबाट बराबरी गरेको रुपन्देहीले अमर डंगोलको ८९ मिनेटको गोलले अग्रता बढाएको थियो । मनाङले त्यसपछि काउन्टर अट्याक गरेपनि गोल गर्न सकेन ।
पछिल्लो चार भेटमा रुपन्देहीले मनाङलाई तीन पटक स्तब्ध बनाएको छ । सुरुङ गोल्डकप, सिमरा गोल्डकपमा रुपन्देहीले मनाङलाई पराजित गरेको रुपन्देही रमपङ गोल्डकपमा भने मनाङसँग हारेको थियो ।
मनाङमा तीन र रुपन्देहीमा एकजना विदेशी खेलाडी थिए । रुपन्देहीबाट खेलेका विदेशी खेलाडी मुसाले स्तरीय प्रदर्शन गरे । उनैले म्यान अफ द म्याचको पुरस्कार पाए । रुपन्देहीले मनाङका विदेशी खेलाडी अफिज ओलावालालाई कडा निगरानी राखेको थियो । खेलमा मनाङका दुई र रुपन्देहीका एकजनाले पहेलो कार्ड पाएका थिए ।
मनाङका आठ जना खेलाडी राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा रहेकाले नेपालगन्ज आउन पाएनन् । प्रशिक्षक छिरिङ लोप्सनले सिनियर आठ जना बन्द प्रशिक्षण रहेको र जुनियरलाई मिलाएर नेपालगन्ज आउदा खेलको तालमेल नमिलेको दाबी गरे ।
‘दोस्रो गोल पुरै अफसाइडमा थियो, लाइन्समेनले हेरेनन्, प्रशिक्षक लोप्सनले भने, ‘ए डिभिजन प्रतियोगिता गराउने हो भने मैदान र रेफ्री स्तरीय राख्नुस् । होइन भने, अर्को पटक हामीलाई नबोलाउनुहोला ।’
क्याप्टेन निराजन मल्लले नयाँ र पुरानाका बीचमा तालमेल नमिलेको र एक गोलले अग्रता लिइसकेपछि पनि अन्तिममा सम्हालिन नसकेको बताए ।


रुपन्देहीका प्रशिक्षक दयाराम सापकोटाले अन्तिम १२ मिनेट खेलाडीले बढी मिहेनत गरेकाले जित निकालेको दाबी गरे । क्याप्टेन दिलिप क्षेत्रीले गोल खाएपछि आक्रमक खेल्दा नतिजा निकाल्न सकेको बताए ।
रुपन्देहीको विजयसँगै सेमिफाइनलको समीकरण पूरा भएको छ । सोमबार पहिलो सेमिफाइनल संकटा र सुदूरपश्चिम–११ का बीच हुनेछ । रुपन्देहीले सेमिफाइनलमा प्रहरीसँग भेट पक्का गरेको छ ।
पाँच लाख पुरस्कार रहेको नेपालगन्ज गोल्डकपमा म्यान अफ द सिरिज हुने खेलाडीलाई मोटरसाइकल पुरस्कार दिने आयोजक बाँके जिल्ला फुटबल संघले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एमालेको मेची–काली अभियान आज बाँके पुग्दै भोली नेपालगन्जमा आमसभा

२९ फाल्गुन २०७३, आईतवार १९:४३
सदरलाइनडटकम   ३० फागुन, नेपालगन्ज : नेकपा एमालेले संविधान कार्यान्वयनको लागि थालेको मेची–काली अभियान सोमबार बाँके प्रवेश गर्ने भएको छ । सोमबार बिहान बुटवलबाट प्रस्थान गरेको अभियानको टोलीलाई बाँके र दाङ्गको सिमाना शिवखोलामा एमाले बाँकेले स्वागत गर्ने कार्यक्रम रहेको एमाले बाँकेका अध्यक्ष अशोक कोईरालाले जानकारी दिए । एमाले बाँकेको आयोजनामा […]