सदरलाइनडटकम
२० माघ, नेपालगन्ज : बाँकेमा कर्यालय समयमा नजाने २ सय २८ कर्मचारी जिल्ला प्रशाशनको छड्केमा परेका छन् । जिल्ला प्रशासन कार्यालय बाँकेले बिहीबार गरेको छड्केमा सबैभन्दा बढी १ सय ५३ कर्मचारी भेरी अञ्चल अस्पतालको परेको प्रमुख जिल्ला अधिकारी रबीलाल पन्थले जानकारी दिए ।
जिल्ला मालपोत कार्यालय बाँकेका १५ जना छड्केमा परेका छन् । यसैगरी महिला तथा बालबालिका कार्यालय बाँकेका ११ जना, जिल्ला आयुर्वेद अस्पतालकाका २, नेपालगन्ज उप–महानगरपालिकाका ४७ जना विभिन्न दर्जाका कर्मचारी छड्केमा परेको प्रमुख जिल्ला अधिकारी पन्थले बताए ।
उनले बिहीबार बिहान १०.१५ देखि १०.४५ सम्म गरेको आकस्मिक छड्केमा आन्तरिक राजस्व कार्यालय नेपालगन्जका कर्मचारीहरु मात्र पूर्ण रुपले कार्यालयमा भेटिएको जानकारी दिए । उनले कार्यालय समयमा नआएका सबै कर्मचारीलाई स्पष्टीकरण सोधिएको र कारण सहितको जवाफ नआए कारवाही हुने बताए ।
