सदरलाइनडटकम,
७ मंसिर, नेपालगन्ज : सरकारले संविधान संशोधन गर्दा प्रदेश नं ५ बाट केही जिल्लाहरु झिकेर अर्को प्रदेशमा मिलाउन लागेको भन्दै एमाले बाँकेले सो कार्य नगर्न चेतावनी दिदै विरोध जनाएको छ ।
सरकारले प्रदेश नं. ५ बाट गुल्मी अर्घाखाँची, पाल्पा, प्यूठान लगायतका जिल्लाहरु झिकेर नवलपरासीदेखि बर्दियासम्मको प्रदेश बनाउने गरी संविधान संशोधनको तयारी गरेकोले विरोधमा उत्रनु परेको एमाले बाँकेका अध्यक्ष अशोक कोईरालाले जानकारी दिए ।
उनले सो को विरोधमा एमाले बाँकेको पार्टी कार्यालयबाट एक विरोध ¥याली निकाल्दै नगर परिक्रमा गरेर स्थानीय बीपीचोकमा कोणसभाको आयोजना गर्दै सरकारले प्रदेश नं ५ लाई संविधान संशोधन गर्दा भएका जिल्ला यथावत राख्नुपर्ने माग समेत राखे ।
सो विरोध ¥यालीलाई सम्बोधन गर्दै एमाले बैकल्पिक केन्द्रीय सदस्य तथा बाँके क्षेत्र नं २ का संसद दिनेशचन्द्र यादवले संविधान संशोधनमा स्थानीयको भावनालाई कुठाराघात हुने गरी सत्ता जोगाउन र कसैलाई खुसी पार्नको लागि गरिने सिमांङ्कनको हेरफेर कदापि नमानिने बताए ।
उनले भने–‘नयाँ सिमांङ्कनको कुरा आएको छ । सबै सत्तापक्षले नै निधो गर्ने हो कि स्थानीयको भावना पनि बुझ्ने हो । स्थानीयको भावना बिना गरेको सिमाङ्कन हेरफेरलाई कसरी मान्ने ।’ उनले कुनै पनि हालतमा प्रदेशको सिमाङ्कनको नाममा टुक्रयाउन नहुने र टुक्रयाएमा शशक्त आन्दोलन चर्काउने समेत चेतावनी दिए ।
यसैगरी एमाले बाँके क्षेत्र नं. १ का संसद देवराज भारले प्रदेश नं ५ को सिमाङ्कनलाई हेरफेर गर्दा स्थानीय जनताको बीचबाट जनमत लिन आवश्यक रहेको औल्याए । उनले भने–‘कसैलाई खुसी पार्न र कसैको सत्तामोहलाई पुरा गर्न जनभावन विपरित एमाले जानै सक्दैन र जाँदैन पनि ।’ कोणसभा बिपीचोकमा नै समापन गरिएको थियो ।