यो तीन महिनामा प्रधानमन्त्रीले बोलेका कुरा केही पूरा गरेनन् : एमाले उपाध्यक्ष भीम रावल

२० कार्तिक २०७३, शनिबार १२:३४
 

 सदरलाइनडटकम, unnamed
२० कार्तिक, काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष भीम रावलले भारतीय राष्ट्रपति प्रणव मुखर्जीको तीन दिने राजकीय नेपाल भ्रमण सकारात्मक भएको स्पष्ट पारेका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उपाध्यक्ष रावलले राजनीतिक दृष्टिकोणमा शीर्ष तहको भ्रमणको आदान–प्रदान हुनु एकदमै सकारात्मक भएको टिप्पणी गरे । उनले अघि भने,‘यो भ्रमणले द्धिपक्षीय पारस्परिक सम्बन्धलाई थप उचाईमा पुर्याउन मद्धत पुगेको छ ।’
क्लबका सभापति ऋषि धमलाको सभापत्विमा आयोजित साक्षात्कारमा उपाध्यक्ष रावलले कुटनीतिक रुपमा राष्ट्रपति मुखर्जीको भ्रमणमा नेपाल सरकारले राष्ट्रिय दिवस जस्तो गरि सार्वजनिक विदा दिएर पहिलेकै चलन दोहोर्याएको गुनासो पोखे । उनले अघि थपे,‘यस्तै गर्ने हो भने देश फेरि सामन्ती बाटोमा जाने हो कि भन्ने चिन्ता देखियो ।’
उपाध्यक्ष रावलले छिमेकी राष्ट्रको नेपालप्रतिको सद्भावलाई आफूहरुले सकारात्मक रुपमा लिएको स्पष्ट पारे । यद्धपी उनले राष्ट्रपति मुखर्जीको भ्रमणको बेला उपत्यकामा एम्बुलेन्स समेत चल्न नदिएर नागरिकलाई सास्ती दिने कामप्रति कडा आलोचना गरे । रावलले थपे,‘यस्तो पाराले देशलाई बलियो बनाउँदैन, यो त चाकडी हो ।’
उनले संविधान संशोधनको हल्ला फैलाएर सरकारले नौटंकी देखाएको समेत आरोप लगाए । उनले अघि थपे,‘यो सरकारले कुन–कुन बुँदामा संविधान संशोधन गर्न चाहेको छ, संविधानको कुन कुन धारामा कुन कुन वर्ग वा जातिलाई के के विभेद गरिएको छ, त्यो त अहिलेसम्म भन्न सकेको छैन ?’ उनले सरकारले संविधान संशोधनबारे अमूर्त हल्ला फैलाएकोमा तिव्र आलोचना गरे । रावलले संविधान संशोधनबारे सत्तारुढ दलहरुले अहिलेसम्म पनि आफ्नो दलसँग कुनै छलफल तथा परामर्श नै नगरेको दाबी गरे ।
तीन वटै निकायको निवार्चन समयमै हुुनुपर्छ भन्नेमा आफ्नो पार्टी गम्भिर रहेको उल्लेख गर्दै पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारले चुनावको कार्यतालिका समेत प्रस्तुत गरेको भएपनि यो सरकारले त्यसलाई गायब बनाएको आरोप लगाए । उनले भने,‘हामीले सरकारको नेतृत्व गर्दा हामीले कार्यतालिका पेश गरेका थियौं, तर यो सरकारले खोई ? कहाँ ल्यायो कार्यातालिका ?’ चुनाव नगर्ने षडयन्त्र हुनु भनेको देश र जनताप्रतिको अपराध भएको रावलको आरोप छ ।
निलम्बित अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध संसदमा दर्ता भएको महाअभियोग प्रस्ताव संविधान र कानून बमोजिम अघि बढिरहेको उल्लेख गर्दै नेता रावलले त्यसबारेमा महाअभियोग सिफारिश समितिले पनि काम गरिरहेको जनाए ।
उनले महाअभियोग प्रस्ताव पारित गर्न काँग्रेसले के गर्छ भन्ने आशंका भएपनि काँग्रेसकै जिम्मेवार मन्त्रीहरुले सदनमा त्यसबारेमा स्पष्ट आफ्नो धारणा राखिसकेकोले त्यतातिर चिन्ता नगर्न आग्रह गरे । उनले भने,‘कानूनभन्दा माथि कोहीपनि छैन ।’ यद्धपी उनले भ्रष्टाचारीलाई कारबाही गर्नको लागि अख्तियार आयोगलाई पूर्ण रुपमा सहयोग पुर्याउन आफ्नो दल सदैव तयार रहेको विश्वास व्यक्त गरे ।
उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारको तीन महिने कार्यकालबारे टिप्पणी गर्दै भने,‘प्रधानमन्त्री दाहालले भारत भ्रमण गर्दा जारी गरेको संयुक्त विज्ञप्ती हामीले हेरिसकेका छौं, त्यो वक्तव्यमा उल्लेख भएका कतिपय बुँदाहरु नेपालको संविधान विपरित छन् ।’
उनले प्रधानमन्त्री दाहालले दुवै छिमेकी राष्ट्रहरुसँग र आफूले पराष्ट्र नीति सन्तुलित सम्बन्ध राख्छु भनेर सार्वजनिक रुपमै भाषण गरेको उल्लेख गर्दै थपे,‘भारत र चीनका राष्ट्रपति आउँदा सार्वजनिक विदा दिने, अनि अरु देशका प्रमुखहरु आउँदा के गर्नुहुन्छ ?’ रावलले सरकारको यो पछिल्लो निर्णयले नेपालको कुटनीतिलाई फितलो बनाएको आरोप लगाए । उनले थपे,‘हाम्रो प्रधानमन्त्री आँफै पराष्ट्र नीति सन्तुलित राख्छु भन्नुहुन्छ, अनि यस्तो निर्णय गर्नुहुन्छ, यसले उहाँको सन्तुलित नितीको घैंटो आफै फूटाउनुभएको छ ।’ त्यस्तै उनले प्रधानमन्त्री दाहालले भुकम्पपीडितलाई राहत द्रुत गतिमा दिने भनेर बोलेको भएपनि त्यो अहिलेसम्म पूरा नभएको आरोप लगाए ।
रावलले अघि थपे,‘उहाँले भारतसँग थप ऋण लिएर भएपनि १ लाख थप गरेर भुकम्पपीडितलाई दिने भन्नुभयो, तर अहिलेसम्म दिनुभएको छैन, बोलेरमात्रै हुँदैन नि?’ उनले प्रधानमन्त्री दाहालले ठूला–ठूला परियोजना निर्माण गर्ने, बजार भाउ नियन्त्रण गर्ने, शान्ति र सूरक्षा कायम गर्ने कुरा गरेपनि यो तीन महिनामा केहीपनि गर्न नसकेको आरोप लगाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मुखर्जीको भ्रमण पूर्ण सफल भयो : खनाल

२० कार्तिक २०७३, शनिबार १२:३४
सदरलाइनडटकम,  २० कार्तिक, काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणि खनाल बलदेवले पनि भारतीय राष्ट्रपति मुखर्जीको तीन दिने नेपाल भ्रमण पूर्ण रुपमा सफल भएको दाबी गरे । खनालले भने,‘उहाँको भ्रमणले नेपाल–भारत सम्बन्धमा देखिएका पछिल्ला सबै खाले तित्तताहरु हटेका छन्, उहाँको सद्भावपूर्ण भ्रमण भएकोले यो भ्रमण एकदमै सफल […]