नेपालगञ्ज : स्थानीयलाई स्वच्छ पिउने पानीको ब्यवस्था गर्न नेपालगञ्ज उपमहानगरपालिका १५ जयसपुरमा २०६४ सालमा खानेपानीको ओभरहेड टंकी निर्माण थालियो । उक्त टंकी निर्माणको काम १५ वर्षपछि ०६९ सालमा सम्पन्न भयो । ओभरहेड टंकी निर्माण पूरा भएको १० वर्षसम्म पनि उक्त खानेपानी टंकीले पानी पाएको छैन । अहिले उक्त ओभरहेड टंकी जीर्ण भएको छ । जीर्ण टंकी मर्मत गरि सञ्चालनको तयारी गरिएको जयसपुर खानेपानी योजना तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष बकर अलि राईले बताए ।
जयसपुर र आसपासका १५ सय घरधुरीलाई लक्षित गरि खानेपानी योजनाको काम सुरु गरिएको थियो । टंकीमा पानी चढाउनका लागि दुई वटा बोरिङ गाडिएकोमा एउटा माटोले पुरिएको छ । पाइपलाइनको काम पनि अझैँ पूरा भएको छैन । ‘करिव तीन हजार मिटर पाइपलाइनको काम भएको छ । अझैँ १० हजार मिटर पाइपलाइनको काम बाँकी नै छ,’ उनले भने, ‘समयमा रकम नआएर योजना पूरा गर्न सकिएन । योजना पूरा नहुँदै पानी टंकी जीर्ण भएको छ । मर्मत गरेर संचालन गर्ने तयारीमा छौँ ।’
जयसपुर खानेपानी योजना त एउटा उदाहरणमात्र हो । बाँकेमा ८५ खानेपानीका आयोजना संचालनमा रहेको र ४८ वटा निर्माण पूरा भइसकेका छन् । ति मध्ये अहिलेसम्म १६ वटामात्र संचालनमा रहेको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय बाँकेका डिभिजन प्रमुख तिकल न्यौपानेले जानकारी दिए । ‘निर्माण पूरा भएका मध्ये ३२ वटा ओभरहेड टंकी पानी बिनाका छन्,’ उनले भने ।
उनका अनुसार, ११ वटा खानेपानी योजना सञ्चालनको तयारीमा छन् । ति मध्ये चार वटा योजनामा पाइपलाइन विछ्याउन बाँकी छ ।
सरकारले योजनाका लागि पर्याप्त बजेट नपठाउँदा समयमा योजना पूरा हुन नसकेको उनले बताए । ‘एउटा योजना सम्पन्न गर्न ८० लाखदेखि एक करोडसम्म लाग्छ, तर सरकारले एउटा योजनाका लागि एक वर्षमा १०–१२ लाख रुपैँयामात्र पठाउँछ,’ उनले भने, ‘पर्याप्त वजेट नपठाउँदा एउटा योजना पूरा गर्न पाँच–सात वर्ष लाग्छ ।’
खानेपानी डिभिजन कार्यालयले नेपालगञ्जमा तीन वटा ओभरहेड टंकी निर्माण गरेको छ, तर एउटा पनि सञ्चालनमा छैनन् । कोहलपुर नगरपालिकामा दुई वटा संचालनमा छन् भने बैजनाथ गाउँपालिकामा निर्माण भएका चार मध्ये एक संचालनमा र एक संचालनको तयारीमा रहेको न्यौपानेले जानकारी दिए ।
त्यसैगरी, राप्तीसोनारीमा सवैभन्दा धेरै १७ वटा खानेपानी योजना छन् । ति मध्ये १२ सञ्चालनमा छन् । डुडुवा गाउँपालिकाका तीन वटै सञ्चालनमा आउन नसकेको उनले बताए । उनका अनुसार नरैनापुरका आठ, खजुराका तीन र जानकी गाउँपालिकामा रहेको एउटा खानेपानी योजना अधुरो छ । ‘आगामी वर्ष यति नयाँ योजना सुरु गर्ने भनेर सरकारले बजेट पठाउँछ, तर यति योजना सम्पन्न गर्ने भनेर बजेट पठाउँदैन,’ डिभिजन प्रमुख न्यौपानेले भने, ‘पर्याप्त बजेटसँगै स्थानीयले श्रमदान नगरेका कारण कतिपय आयोजना अधुरा भएका हुन् ।’
बाँके जस्तै बर्दियाको अवस्था पनि उस्तै छ । त्यहाँ ६० योजनाको काम जारी छ । ति मध्ये १७ वटा आयोजना संचालनमा रहेको डिभिजन कार्यालयले जनाएको छ । बर्दियामा ४४ वटा ओभरहेड टंकी निर्माण भएको छ भने, आठ वटा संचालन तयारीमा रहेको र तीन आयोजनामा पाइपलाइन विछ्याउन बाँकी छ । सुरु भएका आयोजना छिटो–छिटो निर्माण पूरा गर्नेगरि बजेट पठाएको भए हामीलाई पनि काम गर्न सहज हुन्थ्यो । एउटै आयोजनामा धेरै समय लगाउँदा लागत पनि थपिन्छ,’ न्यौपानेले भने ।