सदरलाइन / रुद्र सुवेदी,
नेपालगञ्ज : कृषि क्षेत्रमा बिमा सेवा दिने सेवा प्रदायक बिमा कम्पनीहरु किसान मैत्री हुन नसकेको नेपालगन्जमा आयोजित एक कर्याक्रमका सहभागिले औल्याएका छन् ।
प्रदेश नंम्बर ५ प्रदेश सरकार भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय पशुपन्छि विकास महाशाखा बुटवलले नेपालगञ्जमा आयोजना गरेको पशुपन्छी बिमा सम्बन्धी प्रादेशिकस्तरिय बिमा कम्पनी, वित्तिय संस्था र सरोकारवालासँगको अन्तरक्रियाका क्रममा सो कुरा औल्याएका हुन ।
कार्यक्रमका सहभागि किसानहरुले कृषिक्षेत्रमा सेवा दिने बिमा कम्पनीले कृषि उपज तथा पशुपन्छीको मूल्य निर्धारणमा समेत बैज्ञानीकरण नहुँदा किसानले बिमाबाट पाउनु पर्ने जति फादा पाउन नसकेकोे गुनासो गरे ।
कार्यक्रममा बाँकेका किसान दिपन्द्रकुमार जोशीले किसानसंग बिमा कम्पनीले बिमा दस्तुर मात्र लिने तर, किसानलाई समस्या पर्दा बिमा कम्पनीहरुले विभिन्न झमेला लगाउने गरेको दुखेसो पोख्दै भने–‘ हाम्रो पशुधन जोखिमको सम्बोधन होला भनेर बिमा गरायो तर, हामी जोखिममा परेको बेला बिमा कम्पनीले ढडास दिनु भन्दा पनि हतोत्साही बनाउने गरेको छ ।’
उनले बिमा गरेको पशु मर्दा बिमाको रकम लिने प्रकृया अत्यन्तै झमेला हुने गरेको बताउदै स्थानीय तहले पशु मरेको नोक्सानी भएको भन्ने सिफारिस गर्दा चर्को शुल्क लिएर सिफारिस दिने, मरेको पशुको मुचुल्का गर्न बिमा कम्पनी वा एजेन्ट नआउने गर्दा किसान मर्कामा परेको बताए ।
बाख्रा पालक किसान प्रेमसागर पौडेलले बिमा कम्पनीले बिमा गरेको पशुको नामसारी, ठाँउसारी नगर्ने, तथा बिमित आमा पशुबाट जन्मेको बच्चाको पनि बिमा सुरक्षित नहुने हुँदा बाख्रा पालक किसानलाई बिमाको प्रिमियम मात्र तिर्ने त्यसको प्रतिफल पाउने काम अत्यन्तै न्यून हुने गरेको बताए ।
उनले बाख्राको तुहिने र जन्मेको बच्चाको मृत्युदर ४० प्रतिशत हुने भन्दै आमा बिमित भए उसको गर्भमा रहेको बच्चा जन्मेर बिमा गर्ने उमेर नपुग्दासम्म आमा कै बिमाले कभर गर्ने नीति बनाउन आग्रह गरे । पशुको बिमा गर्दा मुल्य तोकिने परिपाटि अत्यन्तै अब्यवहारिक भएको भन्दै बैज्ञानिक मुल्याङ्कन पद्दतीबाट मुल्य तोक्न आग्रह समेत गरे ।
जोशी र पौडेलको जस्तै प्युठानका किसान बिरबहादुर केसी, रुपन्देहीका गाईपालक किसान प्रेमनारायण घिमिरे र बंगुरपालक किसान संघ प्रदेश नं. ५ का अध्यक्ष सुर्य वंशीले पशुको मुल्य अनुसारको बिमा कम्पनीले बिमाको मुल्य निर्धारण गर्न माग गरे ।
प्रदेश नंम्बर ५ प्रदेश सरकार भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव तेजबहादुर सुवेदीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा बोल्दै मन्त्री आरती पौडेलले प्रदेश सरकारले किसान मैत्री नीतिलाई प्रथामिकतामा राखेर अनुसरण गर्ने बताईन ।
उनले किसानको लगानी सुरक्षित गर्नको लागि कृषि बिमाको अवधारणा ल्याईएको बताउदै यसमा भएका असहजतालाई सहज बनाउदै किसानमैत्री बनाउदै लैजानको लागि प्रदेश सरकार तयार रहेको स्पष्ट पारिन । उनले भनिन–‘कृषि बिमा कार्यक्रम संघिय सरकारले लागु गरेको कार्यक्रम भएपनि प्रदेश सरकारले पनि किसानलाई सहुलियत दिन र त्यसको लाभ उठाउन प्रचारात्मक कार्य गर्दै आएको छ ।’
उनले प्रदेश सरकारले किसान राहत र सहयोग दिने उदेश्यले उत्पादन गरेको अनुपातको आधारमा अनुदान दिने, सहुलियत दरमा कृषिऋण र सो को व्याजमा अनुदान दिने नीति बनाउन लागेको बताईन ।
मन्त्री पौडेलले प्रदेशमा कृषिको उत्पादन बृद्धिको लागि कृषि स्वयमसेवक गठन गरी उनीहरु मार्फत नै कृषि विमाको कुराहरु किसानका घर घरमा पुराउने प्रतिबद्धता जनाईन ।
प्रदेशका १२ वटै जिल्लाका किसान प्रतिनिधि सहभागी रहेको सो कार्यक्रममा मन्त्रालयका पशुपन्छि विकास महाशाखाका प्रमुख प्रदिप पौडेल र बिमा समितिका निर्देशक सुशीलदेव सुवेदीले कृषि बिमाको बारेमा प्रस्तुती गरेको कार्यक्रममा बिमा कमपनीका प्रतिनिधिले आफ्नो कार्य क्षेत्रमा भएको प्रगतिको बारेमा जानकारी गराइएको थियो । राजधानी दैनिकबाट