प्रहरी महानिरीक्षकमा ठाकुर ज्ञवाली नियुक्त

२८ माघ २०७६, मंगलवार १७:४८
 

सदरलाइनडटकम,
काठमाण्डौ : सरकारले नेपाल प्रहरीको महानिरीक्षकमा एक नम्बर प्रदेशका डिआइजी ठाकुर ज्ञवालीलाई नियुक्त गरेको छ । ज्ञवालीले अर्का प्रतिस्पर्धी डिआइजी तारिणी लम्साललाई पछि पार्दै नेपाल प्रहरीको २७ औँ आइजीपी भएका हुन् ।
सरकारले प्रहरी ऐन ०१२ र प्रहरी नियमावली ०७१ को नियम ४१ मा नेतृत्व गर्न सक्ने कुशलता, उत्तरदायित्व बहन गर्नसक्ने क्षमता र ज्येष्ठतासहित ६ वटा आधारमा टेकेर ज्ञवालीलाई आइजीपी बनाएको हो । सोमवार बसेको बैठकले निर्णय लिन नसकेपछि मंगलवार अपरान्ह प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले ज्ञवलीलाई आइजीपी बनाउने निर्णय गरेको हो ।
ज्ञवालीलाई आइजीपी बनाउने विषयमा सोमवार गृहमन्त्री रामबहादुर थापा बादल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच सहमति भएको थियो । दुई नेताबीचको छलफलपछि वरियताको पहिलो नम्बरमा रहेका ज्ञवालीलाई आइजीपी बनाउने प्रस्ताव गृहमन्त्रालयले मन्त्रिपरषद्मा लगेको थियो ।
२६औँ आइजीपी सर्वेन्द्र खनालले ३० वर्षे सेवा अवधि पूरा गरी मंगलवारदेखि अवकाश पाएसँगै मन्त्रिपरिषद्ले ज्ञवालीलाई नयाँ आइजीपी बनाएको हो । ज्ञवली अबको पाँच महिनासम्म उक्त पदमा रहनेछन् ।
असार अन्तिम साता उनी पनि ३० वर्षे सेवाअवधि पूरा गर्दै अवकाशमा जानेछन् । आइजीपी खनालसहित तीन एआइजी र १८ डिआइजीले ३० वर्षे उमेर हदका कारण मंगलबारबाट अवकाश पाएका छन् । २०७४ चैतमा प्रतिस्पर्धी रमेश खरेललाई पछि पार्दै खनाल महानिरीक्षक बनेका थिए ।

अवकाश पाएकाहरु :
अवकाश पाउनेमा एआइजी पुष्कर कार्की, धीरु बस्न्यात र ठूले राई रहेका छन् । यस्तै, डिआइहरु राजेन्द्रमान श्रेष्ठ, मनोज न्यौपाने, महेन्द्र पोखरेल, नारायणसिंह खड्का, सुरेशबिक्रम शाह, महेश बिक्रम शाह, पिताम्बर अधिकारी, केदार रिजाल, शेरबहादुर बस्नेत, दिनेश अमात्य, कमल जिटी, सुरज केसी, रामप्रसाद श्रेष्ठ, पूर्णचन्द्र जोशी, विकास श्रेष्ठ, हरिभक्त जोशी, विनोद शर्मा घिमिरे, दानसिंह बोहोरा छन् । एसएसपी दिलिपसिंह बस्नेतले पनि अवकाश पाएका छन् ।
आइजीपी खनालसँगै सबै २०४६ माघ २९ मा प्रहरी निरीक्षकबाट प्रहरी सेवामा प्रवेश गरेका थिए । सेवा अवधि सकिए पनि खनालले भने ६ महिना कार्यअवधि लम्ब्याउने प्रयास गरेका थिए । तर, गृहमन्त्री रामबहादुर थापाले उक्त कुरालाई अस्वीकार गरेपछि खनाल बिदा भएको हुन् ।
नयाँ आइजीपीका लागि तीनजना डिआइजी प्रतिस्पर्धामा देखिएका थिए । यसअघि एआइजीबाट आइजीपी हुने गरेका थिए । तर, यो पटक आइजीपीसँगै सबै एआइजीले पनि अवकाश पाएपछि भएपछि डिआइजीबाटै सीधै आइजीपी चयन गरिएको हो ।
आइजीपीका लागि प्रदेश १ का डिआइजी ठाकुर ज्ञवाली, सुदूरपश्चिम प्रदेशका डिआइजी तारिणीप्रसाद लम्साल र प्रहरी प्रधान कार्यालयका डिआइजी सूर्यप्रसाद उपाध्यायबीच प्रतिस्पर्धा चलेको थियो । तर, मन्त्रिपरिषद्को बैठकले वरियता क्रमका आधारमा अगाडि रहेका ज्ञवालीलाई नयाँ आइजीपीमा नियुक्त गरेको हो ।


को हुन् ज्ञवाली ?
२०४७ असार २५ गते प्रहरी निरीक्षकबाट प्रहरी सेवामा प्रवेश गरेका ज्ञवालीले आगामी असारसम्म प्रहरीको नेतृत्व सम्हाल्नेछन् । २७औँ महानिरीक्षक ज्ञवाली २०७५ असोज २० गते डिआइजीमा बढुवा भएका थिए ।
तर ज्ञवालीसँगै डिआइजी बनेका ११ अधिकृतमध्ये पहिलो नम्बरका विनोद शर्मा घिमिरे र दोस्रो नम्बरका विकास श्रेष्ठले मंगलवारै अवकाश पाएका छन् । डिआइजीमा बढुवाका बेला तेस्रो रोलक्रममा रहेका उनी आइजी हुने बेला पहिलो रोलक्रमा आएका हुन् ।
सरकारले चेन अफ कमाण्डमा असर नपुग्ने गरी ठाकुरलाई नै आइजीपी बनाएको हो । ठाकुरसँगै आइजीपीका लागि प्रतिस्पर्धामा रहेका तारिणी लम्साल र सूर्य उपाध्याय मेरिट लिस्ट पछाडि थिए ।
ज्ञवालीलाई नेपाल प्रहरी भित्र विवादमा नपरेका अधिकृतका रुपमा हेरिन्छ। उनलाई ‘लो प्रोफाइल’ रहेर उत्कृष्ट काम गर्ने अधिकृतकारुपमा चिनिन्छ । विवादमा नपरेका उनलाई आइजीपी बनाउन गृहमन्त्री र प्रधानमन्त्री दुवैले एकमत बनाएका थिए । कञ्चनपुरको चर्चित निर्मला पन्त हत्याकाण्डमा उनी अनुसन्धान अधिकृतकारुपमा केन्द्रीय अनुसन्धान ब्यूरोबाट गएका थिए । (थाहाखबरबाट)

Next Post

फागुनको तेस्रो साता नेपालगञ्जमा क्यान ईन्फोटेक हुने

२८ माघ २०७६, मंगलवार १७:४८
सदरलाइन / लक्ष्मी तिमिल्सेना , नेपालगञ्ज  : कम्प्युटर एशोसिएसन महासंघको बाँके शाखाले आउँदो फाल्गुन २० गतेदेखि २४ गतेसम्म नेपालगञ्जमा ‘क्यान ईन्फोटेक–२०२०’ को आयोजना गर्ने भएको छ । मङगलबार नेपालगञ्जमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै कम्प्युटर एशोसिएसन महासंघ बाँके शाखाका अध्यक्ष रमणीप्रसाद शर्माले सो कुराको जानकारी गराएका हुन् । सुचना तथा संचार […]