सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्जमा अत्याधुनिक बसपार्क शनिवारदेखि सञ्चालनमा आएको छ । नेपालगञ्ज उपमहानगरपालिकाले निर्माण गरेको आधुनिक बसपार्कको प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलले शनिवार उद्घाटन गरेपछि सञ्चालनमा आएको हो ।
बसपार्कको उद्घाटन गर्दै मुख्यमन्त्री पोख्रेलले विकास निर्माणका सन्दर्भमा नेपालगञ्ज उपमहानगरपालिकाले राम्रो गरेको बताए । नेपालगञ्ज सम्भावना बोकेको क्षेत्र भएको भन्दै उनले केही कार्यालय अन्यत्र स्थानान्तरण हुँदैमा नेपालगञ्ज कमजोर नहुने टिप्पणी गरे ।
मुख्यमन्त्री पोख्रेलले नेपालगञ्ज विमानस्थल स्तरोन्नतीको प्रक्रियामा रहेको जानकारी दिए । कोहलपुर–बुटवल र कोहलपुर–सुर्खेत चारलेनको प्रक्रिया शुरु भएको भन्दै उनले पछिल्ला बर्षमा नेपालगञ्जमा धेरै काम भएको दाबी गरे । दुईबर्षभित्र पूर्व पश्चिम रेलमार्गको काम द्रुतगतीमा भईरहेको भन्दै उनले सय विघा जग्गा उपलब्ध भएमा विश्वविद्यालय यहि बनाउने प्रतिबद्धता जनाए ।
नेपालगञ्जका मेयर डा. धवलशम्शेर राणाले नेपालगञ्जको विकासका लागि महानगरपालिका आवश्यक रहेको भन्दै पार्टीगत राजनीतिबाट माथि उठ्नुपर्नेमा जोड दि । बसपार्क एक महिनापछि निजी क्षेत्रलाई सञ्चालनको जिम्मा दिने भन्दै उनले सरसफाईमा विशेष ध्यान दिइने बताए । नेपालगञ्ज उपमहानगरपालिकाका उपमेयर उमा थापा मगरका अनुसार, ४ विघा १० कठ्ठा जग्गामा १६ करोड १६ लाखमा आधुनिक बसपार्क निर्माण सम्पन्न भएको छ ।
बसपार्कमा १२३ वटा ठुला र ५६ वटा साना बस राख्न सकिने क्षमता रहेको छ । कार्यक्रममा नेकपा बाँकेका अध्यक्ष आईपी खरेल, राप्रपा बाँकेका अध्यक्ष नरेन्द्र पौडेल, खजुरा गाउँपालिकाकी कार्यबाहक अध्यक्ष एकमाया विक, नेपाल यातायात ब्यवसायी राष्ट्रिय महासंघका उपमहासचिव डेकनाथ गौतम, नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यलगायतले शुभकामना ब्यक्त गरे ।