कोहलपुर (बाँके) : बाँकेको कोहलपुरमा तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकप–२०८१ फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजकले पत्रकार सम्मेलन मार्फत जानकारी गराएका छन ।
फागुन १७ शनिबारदेखि २४ गतेसम्म कोहलपुरको तेह्र बिघा खेल मैदानमा सञ्चालन हुने यो प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय टोलीहरूले प्रतिस्पर्धा गर्ने आयोजक कोहलपुर रेसिङ्ग सहारा क्लबले जनाएको छ ।
पत्रकार सम्मेलनमार्फत क्लबले प्रतियोगिता स्थानीय पर्यटन र खेलकुद पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको खेल संयोजक कर्ण बस्नेतले जानकारी दिए ।
प्रतियोगितामा अफ्रिकी मुलुक घाना र भारतसहित कुल आठ टोलीहरूको सहभागिता रहने क्लवका अध्यक्ष क्लवका अध्यक्ष चक्रबहादुर क्षेत्रीले जानकारी दिए । उनले दिएको जानकारी अनुसार सहभागी टोलीहरूमा घानाको अफ्रिकन राष्ट्र फुटबल क्लब, भारतको साहारा फुटबल क्लब, प्लानिङ्ग ब्वाइज युनाइटेड क्लब काठमाडौँ, लुम्बिनी फुटबल एकेडेमी घोराही, काक्रेबिहार फुटबल क्लब सुर्खेत, राइजिङ्ग स्टार फुटबल क्लब नवलपरासी, राइनो फुटबल क्लब गण्डकी प्रदेश, र आयोजक कोहलपुर रेसिङ्ग सहारा क्लब बाँके रहेका छन् ।


प्रतियोगितामा खेलाडीहरूलाई विशेष सम्मान तथा पुरस्कार प्रदान गरिनेछ। प्रथम स्थान प्राप्त टोलीलाई ८ लाख रुपैयाँ, दोस्रो स्थानलाई ४ लाख रुपैयाँ प्रदान गरिनेछ । म्यान अफ द टुर्नामेन्टलाई ५१ हजार रुपैयाँ दिइनेछ भने बेस्ट कोच, गोलकीपर, राइजिङ स्टार, डिफेन्डर, फर्वाडलाई जनही १० हजार रुपैयाँ दिइनेछ । हरेक खेलको म्यान अफ द म्याचले ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने कार्यक्रम तय भएको प्रचार संयोजक विष्णु प्रसाद वेल्वासेले जानकारी दिए ।
प्रतियोगिता सम्पन्न गर्न कूल ९१ लाख २६ हजार रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको आर्थिक समिति संयोजक चेतकान्त भट्टराईले बताए । उनका अनुसार आवश्यक बजेट व्यवस्थापनका लागि विभिन्न स्रोतहरू परिचालन गरिनेछ ।
प्रतियोगिताको शनिबार दिउसो लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले गर्ने तय भएको छ । कार्यक्रममा एन्फाका केन्द्रीय सदस्य भोजराज शाही लगायतको उपस्थिति रहेको थियो ।