नेपालगञ्ज : बाँकेको कोहलपुर नगरपालिकाका नगरप्रमुख पुर्णप्रसाद आचार्यले बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल बिरुद्ध सामाजिक सञ्जालमा पदिय दुरुपयोगको आरोप लगाउदै स्ट्याटस लेखेका छन् ।
उनले प्रजिअ रिजाल माथि एसईईको परीक्षा केन्द्र निर्धारण गर्दा केही संस्थागत विद्यालयसँग सौदावाजी गरेका आरोप लगाउदै आफ्नो फेशबुक वालमा लामो स्ट्याटस लेखेका हुन् ।
नगर प्रमुख आचार्यको स्ट्याटस सार्वजनिक भएपछि प्रतिक्रिया दिदै प्रजिअ रिजालले नगरप्रमुखको इच्छा अनुसारको काम नहुँदा आफुलाई बदनाम गर्ने उद्देश्यले यस्तो स्ट्याटस लेखेको दाबी गरे ।


‘कोहलपुर नगरपालिकाका मेयर पुर्णप्रसाद आचार्यले आफूलाई ‘भ्रष्ट’ भन्दै फेसबुकमा स्ट्याटस लेखेर चरित्र हत्या गरेपछि प्रमाण ल्याएर आरोप पुष्टि गर्न चुनौती दिएको छु’– बाँकेका प्रमुख जिल्ला अधिकारी रिजालले भने ।
प्रजिअ रिजालको गृहमन्त्रालयमा सरुवा भएको अवस्थामा जाँदाजाँदै नैतिकरूपमा भ्रष्ट भएको र समाजलाई चौपट पार्न खोजेको गम्भीर आरोप लगाउँदै नगरप्रमुख आचार्यले आरोप लगाउदै आफ्नो फेसबुकमा स्ट्याटस लेखेका थिए । बास्तविकता बुझ्नका लागि नगरप्रमुख आचार्यलाई फोन सम्पर्क गर्दा फोन उठेन ।