दाङ : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशमा देखा परेका स्वास्थ्य समस्या निदान गर्न विश्व स्वास्थ्य संगठनसंग सहकार्य गर्न प्रदेश सरकार तयार रहेको बताएका छन् ।
विश्व स्वास्थ्य संगठनका प्रतिनिधिहरुसंग सोमवार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राप्ती उपत्यका देउखुरीमा भएको भेटमा मुख्यमन्त्री आचार्यले विश्व स्वास्थ्य संगठनसंग सहकार्य गरेर अघि बढ्न प्रदेश सरकार तयार रहेको बताएका हुन ।
तथ्यांकको आधारमा लुम्बिनी प्रदेशमा बाल मृत्युदर, मातृ मृत्युदर, बालविवाह, कुपोषण, मानसिक रोग, नसर्नेरोग जस्ता स्वास्थ्य समस्या उच्च रहेको छ । यी स्वास्थ्य समस्या निदानको लागि प्रदेश सरकारको एक्लो प्रयासले मात्रै सम्भव नरहेको भन्दै विश्व स्वास्थ्य संगठनको साथ सहयोग आवश्यक पर्ने बताए ।
‘विश्व स्वास्थ्य संगठनले नेपाल र लुम्बिनीको स्वास्थ्यवस्थामा गरेको लगानीको उच्च प्रशंसा गर्न चाहन्छु । आगामी दिनमा पनि लुम्बिनी प्रदेशमा विश्व स्वास्थ्य संगठनको साथ सहयोग चाहिन्छ’ मुख्यमन्त्री आचार्यले भने,‘तथ्यांकले देखाएका स्वास्थ्यका कमजोर सुचकहरुमा मिलेर काम गर्न जरुरी छ । प्रदेशमा बाल मृत्युदर, मातृ मृत्युदर, बाल विवाह, कुपोषण जस्ता समस्या निदान गर्न मिलेर अघि बढ्नुपर्ने आवश्यकता छ ।’
विश्व स्वास्थ्य संगठनले अहिले लुम्बिनी प्रदेशमा खोप तथा स्वास्थ्यकर्मीको दक्षता अभिवृद्धि गर्न प्रशिक्षण लगातका क्षेत्रमा सहयोग गर्दै आएको छ । आगामी दिनमा मानसिक स्वास्थ्य र नसर्ने रोगको उपचारकोलागि पनि सहकार्य गर्ने बारेमा विश्व स्वास्थ्य संगठनलाई अनुरोध गरिएको स्वास्थ्य सचिव डा.बासुदेव उपाध्यायले जानकारी दिए ।
मुख्यमन्त्री आचार्यसंग विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधि डा.राजेश पाण्डवको नेतृत्वमा रहेको प्रतिनिधि मण्डलले भेट गरेको थियो । सो भेटमा स्वास्थ्य मन्त्री खेमबहादुर सारु, प्रदेश योजना आयोगका उपाध्यक्ष डा.डिल्लीराज अर्याल, स्वास्थ्य सचिव डा.बासुदेव उपाध्याय, मुख्यमन्त्रीका स्वकीय सचिव कुशल भुसाल लगायत सभागी थिए ।