नेपालगञ्ज : बाँकेमा सोमबार साँझ परेको बेमौशमी वर्षातका कारण किसानले काटेको धानबालीमा क्षति पुगेको छ । जलबायुमा आएको परिवर्तनका कारण बाँकेमा धान रोप्ने समयमा लामो खडेरी पर्ने र काटेर भित्र्याउने बेलामा पानी परेर खेती भित्र्याउन कठिन हुने गरेको हो ।
लामो खडेरीका कारण ढिलो रोपाई सकेका बाँकेका किसानलाई काटेर भित्र्याउन ठिक्क पारेको धान सोमबार साँझ परेको बेमौसमी झरीका कारण खेत मै डुवाएको र काट्न ठिक्क परेको धान खेतमा नै झारि दिएर विचल्ली बनाएको हो ।
नेपालगञ्ज–२० राँझाका स्थानीय किसान सन्तोषकुमार बर्माले काटेर थ्रेसर लगाउन तयार पारेको दुई बिघा बढीको धान खेत मै भिजेर नोक्सानी भएको गुनासो गरे । उनले भने–‘ सोमबार साँझको बेमौशमी वर्षातका कारण काटेर भित्र्याउन लागेको धानमा ठूलो नोक्सानी पुराएको छ । करिव २ विगाहको काटेको धान खेतमै डुवेर नोक्सानी भएको छ ।’
उनले मजदुर लगाएर काटेको धान थ्रेसर लगाउने पालो पर्खदै गर्दा अचानक परेको पानीले ठूलो नोक्सानी पुराएको बताए । उनले भने–‘ वर्षभरी खाने धान राखेर बचेको धान बेचिन्थ्यो तर, पानीले सबै चौपट बनायो । काटेको धानको बाला सबै पानीमा डुवेको छ । कही कतै उम्रनपनि लागेको छ । भिजेको धान पराल कुनै पनि काम लाग्दैन ।’
सोमबार साँझ भएको वर्षातका कारण सुईया गाउका किसान हरीलाल यादवले काटेर थ्रेसर लगाउने तयारी अवस्थाको १४ कठ्ठामा लगाएको धान डुवेर नोक्सानी पुराएको बताए । उनले खेतमा डूबेको धान हेर्दै भने–‘कत्रो दुख कष्ट सहेर धान रोपियो भकारीमा लैजाने बेलैमा परेको पानीले सबै चौपट बनायो ।’
नेपालगञ्ज–१९ बनघुस्राका किसान सन्तोषकुमार काँदुले खडेरीमा जेनतेन गरी रोपेको धान भित्र्याउने बेलामा परेको बेमौशमी वर्षातले आफु जस्ता किसानलाई निराश बनाएको गुनासो गरे ।
खेतमा डूबेको धान सडकको पेटीमा सुकाउदै गरेका उनले भने–‘ डुबेको धान सुकाउदा केही भएपनि जोगिन्छ कि भनेर मेहनत गर्दै छौ । वर्षभरीको मेहनत एकै छिनमा खत्तम भयो ।’
माथीका बर्मा, यादव र काँदु त प्रतिनिधि पात्र मात्र हुन उनीहरु जस्ता किसानका लागि सोमबार राती परेको पानी अभिसाप नै बन्न पुगेको छ । खडेरीको सामना गर्दै खेत रोपेका उनीहरु माथि धान भकारीमा लैजाने बेलामा अचानक परेको बेमौशमी बर्षातले खेतमै डुवेर उम्रेको टुलुटुलु हेर्न बाहेक केही नबचेको भनाई छ ।
कृषि ज्ञान केन्द्र बाँकेका कार्यालय प्रमुख विनोद घिमिरेले बेमौसमी वर्षातले काटेको धानमा ठूलो क्षति पुराएको बताए । अचानक परेको पानीले काटेको धानलाई क्षति पुर्याएको र के कति क्षति भयो भन्ने तथ्याङ्क सङ्कलन कै क्रममा रहेकोले यकिन तथ्याङ्क आउन समय लाग्ने जानकारी दिए ।
लामो खडेरीकै बीचमा करिव ३६ हजार ५ सय हेक्टरमा बाँकेमा यो वर्ष धान खेती गरिएकोमा धानको उत्पादन बढ्ने अनुमान गरिएकोमा धान काटेर खेत मै पानीमा डुवेको कारण धान र पराल काम नलाग्ने अवस्थामा पुराएपछि बाँकेका धान खेती गर्ने किसानमा निराशा छाएको छ ।