दाङ्ग : लुम्बिनी प्रदेश सभामा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोधका कारण लुम्बिनी प्रदेशसभाको आजको बैठक स्थगन भएको छ । प्रदेशसभाको शुक्रबार अपराह्न १ बजे बसेको बैठकमा नेपाली कांग्रेसका सांसदहरूले विरोध जनाएपछि बैठक केही समयका लागि स्थगन गरिएको थियो ।
त्यसलगत्तै सभामुख तुलाराम घर्तीले प्रतिपक्षी दलसँग छलफल गर्दा सहमति जुट्न नसकेपछि प्रदेशसभा सचिवालयले शुक्रबारको अर्को बैठक बस्न नसक्ने सूचना जारी गरी आइतबार बिहान ८ बजे बस्ने गरी स्थागन गरिएको हो ।
प्रदेशसभामा सरकारका तर्फबाट असार १ गते ल्याइएको आर्थिक वर्ष २०८१÷८२ को बजेटमाथि बिहीबारदेखि छलफल सुरु भएको थियो । बजेटमाथिको छलफलका क्रममा आजको बैठक सुरु हुने बित्तिकै नेपाली कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले सरकारले जनतामैत्री र सङ्घीयता विरोधी बजेट ल्याएको धारणा राखेका थिए ।
नेता चौधरीले धारणा राखिसकेपछि कांग्रेसले सदन अवरुद्ध गरेको हो । दलका नेता बोलिसकेपछि कांग्रेसका सदस्यहरुले उठेर विरोध जनाएका थिए । नेता चौधरीले सरकारले कृषिमा कर लगाएको, चालु आर्थिक वर्षभन्दा रु ५७ करोड बजेट घटाएको, किसानमैत्री बजेट नल्याएको आरोप लगाए । उनले आमजनतालाई मलबीउ पु¥याउन नसक्ने तर औचित्यहीन क्षेत्रमा रकम खर्चने बजेट मान्य नहुने बताए ।
उनले प्रस्तुत बजेटले पर्यटन क्षेत्रलाईसमेत धरापमा पारेको बताउँदै विगतको सरकारले स्थानीय जनजातिहरूको आयआर्जनका लागि लिएको मदिराको नीति अहिले काटिएकामा विरोध जनाए ।