जसपा नेपालमा यादवको हैकमकाबिरुद्ध जसपा निर्माण भएको हो : महासचिव राई

सदरलाइन संवाददाता २९ बैशाख २०८१, शनिबार १९:५२
 

नेपालगञ्ज  : नवगठित जनता समाजवादी पार्टी (जसपा) का महासचिव मोहम्मद इस्तियाक राईले जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टीमा एकलौटी निर्णय गरेकै कारण आफूहरु अलग भएको बताएका छन् ।

पार्टी विभाजनपछि पहिलोपटक आफ्नो गृहनगर नेपालगञ्जमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमपछि पत्रकारहरुसँग कुरा गर्दै जसपा नेपालका अध्यक्ष यादवकै कारण जसपा नेपालबाट धेरै नेता, कार्यकर्ता बाहिरिएको दाबी गरे ।

उनले पार्टीमा उपेन्द्र यादवकै कारण विजय गच्छदार, महन्थ ठाकुर, राजेन्द्र महतो, डा. बाबुराम भट्टराई लगायतका नेताहरुले अर्को पार्टी निर्माण गरेको आरोप लगाउदै भने–‘पार्टीमा एकलौटी निर्णय गर्ने, नेता, कार्यकर्तालाई दाश सम्झिने, हैकमवाद लाद्ने उपेन्द्र जीको प्रबृत्तिले पार्टीबाट एकपछि अर्को बारिने अवस्था आएको हो ।’


उनले उपेन्द्र यादवमा सत्ता मोह भएको बताउँदै सत्ता मोहका कारण मधेस, जनजाती, थारु, मुस्लिम लगायतको आन्दोलनबाट प्राप्त उपलब्धी विर्सदै गएको आरोप लगाए । ‘मधेस लगायत विभिन्न आन्दोलनको मुद्धालाई विर्सेर आफूमात्र सत्तामा बस्ने उपेन्द्र यादवजीको प्रबृत्ति छ,’ उनले भने, ‘मधेस, जनजाति, थारु, मुस्लिम लगायतबाट प्राप्त उपलब्धिको रक्षा र अधिकार स्थापित गर्न नयाँ पार्टी गठन गर्न परेको हो ।’

पार्टीलाई बलियो बनाउन पार्टीका नेता, कार्यकर्ताले दिएको सुझावलाई रद्दी टोकरीमा फाल्ने र आफू नजिकका नेता, कार्यकर्तालाई मात्र सदस्यता दिने अभियान थालेपछि पार्टीमा बस्नुको औचित्य नदेखेको कारण जसपाको स्थापना गर्नु परेको महासचिव राईको भनाई थियो । उनले महाधिवेशन प्रतिनिधि छनोटका बेला उपेन्द्र यादवले आफ्ना मान्छेलाईमात्र सदस्यता वितरण गरेको आरोप समेत लगाए ।

उनले मुल आयोजक कमिटी गठन नगरेर उपेन्द्र यादवले महाधिवेशन गर्न खोजेको दोषारोपण गर्दै भने–‘अमेरिका जानुअघि कार्यकारिणीका अल्पमत सदस्यबाट निर्णय गराएर महाधिवेशन मुल समिति बनाउन खोज्नु भयो । उहाँ (उपेन्द्र) जीले पार्टीमा एकलौटी निर्णय गरि अगाडी बढ्न खोज्नु भयो, त्यसको परिणाम तपाईहरु सामु छदैछ । महाधिवेशनलाई प्रदेश अधिवेशन जस्तो बनाउन खोज्नु भयो । यो सरासर गलत थियो । उहाँको हैकमवादी चरित्रबाट वाक्क दिक्क भएर अर्को पार्टी बनाउने निर्णयमा पुग्यौँ ।’

उनले पार्टी फुट्नुको कारण र उद्देश्यमाथि जानकारी दिन बाँके आएको बताउँदै उनले सवैजना जसपामा आबद्ध हुन आग्रहसमेत गरेका छन् । ‘नयाँ पार्टी गठन भएपछि नेता, कार्यकर्तामा एकखालको अलमलको अवस्था आएको छ । नयाँ पार्टी गठनको औचित्य पुष्टि गर्न म बाँके आएको छु,’ उनले भने, ‘बाँकेका अधिकांश नेता, कार्यकर्ताले नयाँ पार्टीमा आवद्ध हुने प्रतिवद्धता जनाएको पाउँदा औधि खुसी लागेको छ । अलमलमा रहेका अरु नेता, कार्यकर्ताहरुलाई पनि जसपामा आवद्ध हुन आग्रह गर्दछु ।’

जसपा बाँके सचिव राजेन्द्र बिश्वकर्माको अध्यक्षतामा भएको कार्यकर्ता भेटघाट कार्यक्रममा लुम्बिनी प्रदेशका कृषी मन्त्री भण्डारीलाल यादव, लुम्बिनी प्रदेशसभा सदस्य आदेशकुमार अग्रवाल, जसपाका लुम्बिनी प्रदेश सदस्य असलम अन्सारी, माजिद शेख, जुनेद कादरी, थरुहट प्रदेश सचिव चिन्टु बर्मा, नेपालगञ्ज उपमहानगरपालिका १४ का वडा अध्यक्ष मजहत साइँ, वडा नं. ५ का वडा अध्यक्ष सराफत खान, वडा नं. २२ का वडा अध्यक्ष गफ्फार हल्वाई, समाजबादी महिला संगठन बाँके अध्यक्ष गिता मल्ल लगायतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लुम्बिनी प्रदेशसभाका दुई सांसद अहिर र अग्रवाल अशोक राईतिर लागे

२९ बैशाख २०८१, शनिबार १९:५२
नेपालगञ्ज : लुम्बिनी प्रदेशसभाका दुई जना प्रदेश सभा सदस्यहरु नवगठित जनता समाजवादी पार्टी (जसपा) लाई समर्थन गर्दै सनाखत गरेका छन् । प्रदेशसभामा रहेका तीनमध्ये दुई सांसद अशोक राई नेतृत्वमा जसपामा खुलेर निर्वाचन कार्यालय पुगेर सनाखत गरेका हुन् । बाँके निर्वाचन क्षेत्रनं. १ क र ख बाट प्रदेशसभामा निर्वाचित सदस्यहरू भण्डारीलाल […]

सम्बन्धित