सञ्चारिका समूह पत्रकारिता पुरस्कार श्रेष्ठ र मल्ललाई

सदरलाइन संवाददाता १९ बैशाख २०८१, बुधबार २०:०४
 

नेपालगञ्ज  :  सञ्चारिका समूह बाँकेले दुई जना महिला पत्रकारलाई सञ्चारिका पत्रकारिता पुरस्कार २०८० द्वारा सम्मान गरेको छ ।

सञ्चारिका समूह नेपाल बाँके शाखाको सिफारिसमा नेपालगञ्ज उपमहानगरपालिकाद्वारा प्रदान गरिएको नगद राशीसहित २०८० को वर्ष पुरस्कारद्वारा पत्रकारद्वय डा. मुना श्रेष्ठ र रेजिना मल्ललाई बुधबार सम्मान गरिएको हो ।

वि.स ०४९ सालदेखि पत्रकारितामा सक्रिय भएर निरन्तर महिला पत्रकारलाई पत्रकारितामा स्थापित गर्न र महिला पत्रकारलाई पत्रकारितामा सक्षम बनाउनका लागि पुर्याएको योगदानको कदर स्वरुप डा. मुना श्रेष्ठलाई सञ्चारिका सम्मान पत्र २०८० प्रदान गरिएको हो ।

यसैगरी वि.सं. २०६५ सालदेखि नै कान्तिपुर टेलिभिजनमा आवद्ध भएर हालसम्म पनि निरन्तर रुपमा पत्रकारितामा सक्रिय भएको हुनाले कान्तिपुरकर्मी रेजिना मल्ललाई सञ्चारिका सम्मान पत्र २०८० प्रदान गरिएको थियो ।


डा. श्रेष्ठलाई सञ्चारिका समूह नेपालको पहिलो निर्वाचित अध्यक्ष वन्दना राणाद्वारा सम्मान पत्र प्रदान गरिएको थियो भने कान्तिपुरकर्मी मल्ललाई बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोख्रेलले पुरस्कार वितरण गरेका थिए । पुरस्कृत हुने दुवैजना महिला पत्रकारहरुलाई नेपालगञ्ज उपमहानगरपालिकाद्वारा प्रदान गरिएको नगद राशी भने नेपाल पत्रकार महासंघ बाँके शाखाका अध्यक्ष दामेदर भण्डारीले हस्तान्त्रण गरे ।

सञ्चारिका समूह नेपाल बाँके शाखा र साथीको संयुक्त आयोजनामा सम्पन्न सो कार्यक्रममा सञ्चारिकाले २०८१ सालको भित्ते पात्रोको पनि विमोचन गरेको थियो ।

भित्तेपात्रोलाई संयुक्त राष्ट्रसंको महिलाविरुद्ध हुने विभेद उन्मूलनको समिति (सिड) को सदस्य समेत रहेकी बन्दना राणा र पत्रकार महासंघ बाँके शाखाका अध्यक्ष दामोदर भण्डारीले संयुक्त रुपमा बिमोचन गरेका हुन ।

कार्यक्रममा राप्ती सोनारी गाउपालिकाका अध्यक्ष तप्तबहादुर पौडेल, खजुरा गाउपालिकाका अध्यक्ष डम्बर विक तुफान, द्वन्द्वपीडित एकल महिला सञ्जाल बाँकेकी अध्यक्ष एकमायाँ विक, ईन्सेकका सरस्वती मल्ल, एडभोकेसी फोरमका बसन्त गौतमलगायतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

‘कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुदैन’

१९ बैशाख २०८१, बुधबार २०:०४
नेपालगञ्ज :  उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुन नहुने बताएका छन् । बाँकेको बैजनाथ गाउँपालिका–३ नौबस्ता कारागारको उद्घाटन गर्दै गृहमन्त्री लामिछानेले कैदीबन्दीले माफी मिनाहा पाउने कुरा उनीहरूको अधिकारको विषय भएको उल्लेख गरे । ‘कैदीबन्दीको कैद मिनाहा माफीमा राजनीतिक दबाब र आर्थिक चलखेलको गुनासो […]