नेपालगञ्ज : ईस्लाम धर्मावलम्बीको महान पर्व रमजान मंगलवारदेखि शुरु भएको छ । सोमवार राती चन्द्रमा देखिएपछि मंगलबारदेखि रमजान शुरु भएको हो ।
एक महिनासम्म चल्ने यो पर्वमा मुसलमान समुदाय दिनमा निराहार बस्छन् । एक महिनासम्म चल्ने यस पर्वमा मुस्लिम सुमदाय दिनभर पानी समेत नपिई व्रत बस्ने गर्छन् । जसलाई रोजा पनि भन्ने गरिन्छ ।
सूर्योदय हुनुअघि अर्थात् बिहानको नमाज पढ्नुअघि केही खानेकुरा खाई प्रारम्भ हुने रोजा बेलुकाको नमाजको आजान सुनेर खोल्ने चलन छ । रोजाको समय दैनिक सूर्य उदाउने र अस्ताउने समयसँगै समय तालिक पनि परिवर्तन भइरहन्छ ।
रोजा बस्न बिहान तोकिएको समय अगावै र बेलुका तोकिएको समयपछि आहार लिने गर्दछन । उर्दू पात्रोअनुसार हिजरी सम्बत्को रमजान नवौँ महिना हो । रमजानमै मुसलमानहरुको सबैभन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएको हो; भने यस महिनामा अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास लिइन्छ । दान गर्न, गरिब र दीन दुःखीलाई सेवा गर्नु, जकात निकाल्नु यो महिनाको ठूलो विशेषता हो ।
शरीरलाई चोखो राखेर मात्र रोजा बस्नुपर्छ भन्ने मान्यता छ । त्याग, तपस्या र बलिदान सबै जोडिने यस पर्वमा मुसलमानहरु रोजा बस्नुलाई गर्व गर्दछन् । नाबालक, बिरामी, जटिल रोग लागेका र गर्भवतीलाई रोजा बस्न अनिवार्य गरिएको छैन। रमजानको अन्तिम दिन फेरि चन्द्रमा हेरेर ईद मनाउने गरिन्छ ।
साउदी अरबसहित अन्य मुलुकमा भने सोमबारबाटै रमजान सुरु भएको छ । साउदी अरबमा आइतवार साँझै चन्द्रमा हेरेको हुँदा सोमवारबाट रामजान सुरु भएको हो ।