नेपालगञ्ज नाकाबाट ३ करोड बढीको प्लाइउड निकासी

सदरलाइन संवाददाता २१ माघ २०८०, आईतवार १८:१८
 

नेपालगञ्ज : नेपाली प्लाइउडको माग भारतका विभिन्न सहरमा बढेको छ । गत आर्थिक वर्ष २०७९/०८० को ६ महिनाको तुलनामा चालु आर्थिक वर्षको २०८०/०८१ को ६ महिनाको अवधिमा नेपालगञ्ज नाकाबाट प्लाइउड भारत निर्यातमा ३२५ प्रतिशतले वृद्धि भएको नेपालगञ्ज भन्सार कार्यालयले जनाएको छ ।

नेपालगञ्ज भन्सार कार्यालयले दिएको जानकारी अनुसार गत आर्थिक वर्षको साउनदेखि पुससम्मको ६ महिनामा यो नाकाबाट तीन करोड २५ लाख २३ हजार रुपियाँको प्लाइउड निर्यात भएको थियो भने चालु आर्थिक वर्षको साउनदेखि पुससम्मको ६ महिनामा १३ करोड ९४ लाख ५० हजार रुपैयाँको निर्यात भएको छ ।

गत वर्षको तुलनामा यो वर्ष ६ महिनाको अवधिमा १० करोड ६९ लाख २७ हजार रुपैयाँ बढीको प्लाइउड निर्यात भएको हो ।

निर्यात बढ्न थालेपछि नेपालगञ्जका प्लाइउड व्यवसायी निकै उत्साहित भएका छन् । खासगरी नेपालमा उत्पादित उत्तिसका बिरुवाबाट निर्मित प्लाइउडको माग भारतीय बजारमा प्रशस्तै रहेको उद्योगी व्यवसायीले बताएका छन् ।

भारतमा प्लाइउडको कच्चा पदार्थको मूल्य बढ्नु र प्लाइउडलाई पनि निर्यातमा नगद अनुदान पाइने वस्तुको सूचीमा समावेश गरिनुले नेपालबाट हुने यसको निर्यात लगातार बढिरहेको नेपाल प्लाइउड उत्पादक सङ्घका अध्यक्ष होमप्रसाद घिमिरेले जानकारी दिए ।


उनले नेपालबाट जाने सस्तो मूल्यको प्लाइउडको खपत भारतको लखनउ, कानपुर, दिल्ली, आगरा, देहरादुनलगायतका बजारसम्म हुने गरेको बताए ।

नेपालगञ्जका प्लाइउड उद्योगी पशुपतिदयाल मिश्रले भारतमा नेपाली प्लाइउडको माग बढ्दै गएपछि उत्साहित भएको र यसबाट नेपालको व्यापार घाटा कम गर्न ठुलो सहयोग मिल्ने बताए ।

नेपालबाट प्लाइउडको निर्यात वृद्धि भइरहेकै समयमा भारतले प्लाइउड निर्यातमा नयाँ शर्त लगाएर निर्यातमा अवरोध गर्न खोजेको उद्योगी व्यवसायीको आरोप छ ।

भारतले सन २०२४ को फेब्रुअरी २८ देखि लागू हुनेगरी प्लाइउड आयातमा भारतीय गुणस्तर प्रमाण (आइएसआई) अनिवार्य गरेर निकासीमा अवरोध पुर्याउन खोजेको नेपाल प्लाइउड उत्पादक सङ्घका अध्यक्ष होमप्रसाद घिमिरेको भनाइ छ ।

भारत सरकारले गत भदौ १४ गते राजपत्रमा सूचना प्रकाशित गर्दै यही फेब्रुअरी २८ पछि प्लाइउडमा आइएसआई प्रमाण अनिवार्य गरेको हो । नेपाली प्लाइउड उद्योगीले नेपालको उद्योग मन्त्रालयसँग विभिन्न चरणमा छलफल गरेर यसको सहजीकरणको पहल गरिदिन आग्रह गरेको जनाएका छन् । यस्तै यसैको सहजीकरणका लागि भारतीय राजदूतावाससँग अनुरोध गरिएको नेपाल प्लाइउड उत्पादक सङ्घका अध्यक्ष घिमिरेले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोहलपुरमा अन्डर १९ महिला राष्ट्रिय टि २० क्रिकेट हुने

२१ माघ २०८०, आईतवार १८:१८
नेपालगञ्ज : बाँकेको कोहलपुरको क्रिकेट मैदानमा यही माघ २७ गते देखि फाल्गुन ३ गते सम्म सुशिल कोइराला मेमोरियल अन्डर १९ महिला राष्ट्रिय टि २० क्रिकेट प्रतियोगिता सञ्चालन हुने भएको छ । कोहलपुर नगरपालिकाको आयोजना र कोहलपुर नगर खेलकुद बिकास समितिको ब्यवस्थापनमा प्रतियोगिता सञ्चालन हुने पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ […]