भन्सार गेट अगाडि अवरुद्ध रात्रिकालीन आवागमन सुचारु गराइने

सदरलाइन संवाददाता २४ फाल्गुन २०८०, बिहीबार १७:१६
 

नेपालगञ्ज : नेपालगञ्जस्थित भन्सार कार्यालय अगाडि रातिको समयमा आवागमनमा हुँदैआएको अवरोध हटाउन जिल्ला प्रशासन कार्यालय बाँकेले तयारी अघि बढाएको छ ।

भन्सार कार्यालय अगाडि भारतीय सीमानजिक जमुनाह–नेपालगञ्ज सडकखण्डको बिचभागमा रहेको सुरक्षा ढाटका कारण रात्रिकालीन आवागमनमा अवरोध हुने गरेको जनगुनासोपछि सुरक्षा प्रमुख र भन्सार कार्यालयका प्रमुखसहित स्थलगत अनुगमन गरिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी पोखरेलले भने, ‘वास्तविकता बुझेर आवश्यक सुधार गर्ने प्रतिबद्धतासहित अनुगमन गरेका छौँ । जिल्लास्थित सुरक्षा कार्यालयका प्रमुख र भन्सार प्रमुखसहितको बैठकले रात्रिकालीन समयमा आवागमन सुचारु गर्न विभिन्न निर्णय गरेको प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए ।


राजमार्गमा रहेका ट्रक, ट्याङ्कर, मालवाहक कुनै पनि साधनलाई भन्सार यार्डमा मात्र पार्किङ हुने प्रबन्ध मिलाउने र रोडमा पार्किङ गर्नेलाई कारबाही गरिने प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए । जमुनाहादेखि भन्सार गेटसम्म जथाभाबी सवारीसाधन पार्किङले आवागमनमा समस्या हुनेगरेको छ ।

यसैगरी भन्सारनाकामा रहेका सुरक्षा ब्यारियरलगायतका अन्य संरचनालाई रङ्गरोगन तथा मर्मत सम्भार गरिने भएको छ । रात्रिकालीन आवागमनमा जाँचमा रहेका कर्मचारी र सुरक्षाकर्मीले नागरिकको व्यवहारिकता बुझेर आवागमनलाई सहज बनाउने तयारी गरिएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।

स्थानीय क्षेत्रका नागरिकको रात्रिकालीन आगमनलाई सहज तुल्याउन गरिएको निर्णय केही समयमै पूर्ण कार्यान्वयनमा आउने प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए । हाल राति १० बजेपछि आवागमन बन्द हुने भएपछि भारतका विभिन्न शहरबाट फर्किने नेपालीहरू तीव्र गतिमा भएपनि जमुनाहा पुग्नुपर्ने बाध्यताका कारण पटक–पटक सवारी दुर्घटना हुने गरेको भन्दै नेपालगञ्जवासीले रात्रिकालीन आवागमन नियमित गराउन माग गर्दैआएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बर्तमान सत्ता गठबन्धन प्रगतिशील र अग्रगामी हो : पूर्व सभामुख सापकोटा

२४ फाल्गुन २०८०, बिहीबार १७:१६
कोहलपुर (बाँके) : पूर्व सभामुख तथा माओवादी केन्द्रका उपाध्यक्ष एवम पार्टी प्रचार विभाग प्रमुख अग्नीप्रसाद सापकोटाले बर्तमान सत्ता गठबन्धन प्रगतिशील र अग्रगामी गठबन्धन भएको ठोकुवा गरेका छन् । प्रेस सेन्टर नेपाल लुम्बिनी प्रदेशको आयोजनामा आजदेखि बाँकेको कोहलपुरमा सुरु भएको दुईदिने लुम्बिनी प्रदेशस्तरिय मिडिया सम्मेलनको उद्घाटन गर्दै सो कुराको ठोेकुवा गरेका […]

सम्बन्धित