सरकारलाई असफल हुने छुटछैन : सञ्चारमन्त्री गुरुङ

सदरलाइन संवाददाता १२ श्रावण २०८१, शनिबार १८:५०
 

पोखरा :  सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले वर्तमान सरकारलाई असफल हुने छुट नभएको प्रष्ट बटम लाइन तोकिएको बताएका छन ।

गृह प्रदेश गण्डकीको पोखरामा नेपाल पत्रकार महासंघ कास्कीले आज आयोजना गरेको पत्रकार सम्मेलनमा सञ्चारमन्त्री गुरुङले यस्तो बटमलाइन सुनाएका हुन ।

सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री गुरुङले सवै बिकल्प सकिएपछि संसदको पहिलो र दोस्रो ठूलो दल मिलेर सरकार बनाइएको प्रष्ट पारे ।

उनले वर्तमान सरकारले एक वर्षभित्रमा परिर्वतनको अनुभूति हुनेगरी काम गर्ने जानकारी पनि दिए । ‘देशलाई अघि बढाउनु छ । जनतामा छाएको निरासा चिरेर उत्साहित बनाउनु छ । त्यो गर्ने भनेको कामबाटै हो । त्यसकारण देश बनाउने अठोटसहित गठन भएको वर्तमान सरकारलाई असफल हुने छुट छैन । प्रधानमन्त्रीले पनि यस बिषयमा हामीलाई स्पष्ट दिशानिर्देश गर्नुभएको छ,’ सञ्चारमन्त्री गुरुङले भने ।

मन्त्री गुरुङले राजनीतिक स्थायित्वसहित सुशासन र विकासको गतिलाई तीव्रता दिन संसद्का दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार बनाइएको बताए । ‘संसदीय अभ्यासमा प्रमुख दुई ठूला दलको सरकार विरलै बन्ने गर्छ । देशलाई अघि बढाउन मिल्नै पर्ने बाध्यात्मक अवस्थामा मात्रै दुई ठूला दल मिलेर सरकार बनाउनु पर्ने अवस्था हुन्छ । बिगतमा पनि त्यही भयो । अहिले पनि हामीले यसलाई अन्तिम विकल्पका रुपमा प्रयोग गरेका हौं,’ एमाले उपमहासचिव तथा गण्डकीका संस्थापक मुख्यमन्त्रीसमेत रहेका सञ्चारमन्त्री गुरुङले भने ।


उनले अहिलेको सरकारपनि असफल भए जनतामा चरम निरासा छाउने भएकोले कामको परिणाम ल्याउनै पर्ने अन्तिम बिकल्पमा आफूहरु रहेको बताए । ‘यो सरकार पनि असफल भए मूल धारका पुराना राजनीतिक दलप्रतिको जनविश्वास टुट्छ । जनतामा बाँकी रहेको आत्मबल पनि सकिन्छ । त्यसैले अहिले रमाउने होइन, काम गरेर परिणाम दिने हो भन्ने साझा अठोट प्रधानमन्त्रीले गराउनु भएको छ,’ सञ्चारमन्त्री गुरुङको भनाई थियो ।

नेपाल पत्रकार महासंघ कास्कीकी अध्यक्ष बिमला भण्डारीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा सञ्चारमन्त्री गुरुङले सरकारले अर्थतन्त्र सुधार, रोजगारी सिर्जना, सुशासन र विकास गतिविधिलाई केन्द्रमा राखेर काम गर्ने खाका पनि सुनाए ।

यस्तै उनले डिजिटल नेपालको अवधारणाअनुसार विद्युतीय शासन सञ्चालनमा सरकारले जोड दिने जानकारी दिए । सञ्चार क्षेत्रसँग सम्बन्धित ऐन, कानुनलाई समयसापेक्ष ढङ्गले परिमार्जन गरिने पनि मन्त्री गुरुङको भनाइ थियो ।

‘अहिले पनि पुराना ऐन, कानुनबाट कतिपय सञ्चार संस्था चलिरहेका छन्, तिनलाई संशोधन र परिमार्जन गर्नुपर्छ, आवश्यक परेका कानुन निर्माणमा सञ्चार मन्त्रालयले विशेष पहल लिन्छ’, सञ्चारमन्त्री गुरुङले भन्नुभयो, ‘हुलाकलगायत संस्थालाई आधुनिक ढङ्गले सञ्चालन गर्न आवश्यक छ ।’

मन्त्री गुरुङले दूरसञ्चार सेवालाई थप गुणस्तरीय बनाइने तथा सञ्चारमाध्यमको सवलीकरण र पत्रकारको वृत्तिविकासका लागि कार्ययोजना बनाएर काम गर्ने जानकारी पनि दिए । यस्तै उनले आफू नाम लेखाउन मात्र आएको नभई एक बर्षभित्र ठोश परिणाम ल्याउने प्रतिवद्धतासहित सहयोग र सहकार्यका लागि मिडियादेखि सूचना प्रविधि क्षेत्रका सवै सरोकारवाला पक्षलाई आग्रह गरे ।

गुरुङ सञ्चारमन्त्री नियुक्त भएपछि पहिलो पटक गृहप्रदेश गण्डकी आएका हुन । गृहजिल्ला लमजुङ जाने क्रममा पोखरा आएका सञ्चारमन्त्री गुरुङसँग पत्रकार महासंघले पत्रकार भेटघाटको आयोजना गरी आफ्नो समस्यासमेत सुनाएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लायन्सको पदहस्तान्त्रण कार्यक्रम सम्पन्न

१२ श्रावण २०८१, शनिबार १८:५०
नेपालगञ्ज : लायन्स क्लव ईन्टरनेसनल डिष्ट्रिक ३२५एन, एरिया नम्वर ४ अन्तरगतका क्लवहरुको पदहस्तान्त्रण कार्यक्रम सम्पन्नभएको छ । नेपालगंञ्जमा आयोजित कार्यक्रममा ८ वटा क्लवका लायन बर्ष २०२३/२०२४ अध्यक्षद्वारा बर्ष २०२४/२०२५का अध्यक्षलाई संयुक्तरुपमा पद हस्तान्त्रण गरिएको हो । कार्यक्रममा एरिया नम्वर ४ अन्तरगतका क्लवहरुका लायन्स क्लव अफ नेपालगंञ्ज सिद्धिविनायकका अध्यक्ष नारायण भण्डारीद्वारा […]