सुर्खेतका स्वास्थ्यकर्मीलाई सञ्चार अभिमुखीकरण

सदरलाइन संवाददाता २१ फाल्गुन २०८०, सोमबार १७:१९
 

सुर्खेत : कर्णाली प्रदेशका स्वास्थ्यकर्मीलाई विपदको समयमा कसरी सही र आधिकारिक सूचना सञ्चार गरी जोखिम कम गर्ने भन्ने विषयमा दुईदिने अभिमुखीकरण आयोजना गरिएको छ ।

स्वास्थ्य मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले कर्णाली प्रदेशका जिल्ला जनस्वास्थ्य प्रमुख, पालिकाका जनस्वास्थ्य शाखामा कार्यरत संयोजक एवं अन्य स्वास्थ्यकर्मीका लागि जोखिम सञ्चार तथा सामुदायिक सहभागितासम्वन्धी अभिमुखीकरण आयोजना गरिएको हो ।

विपदको समयमा आधिकारिक र सही सूचनाको अभावमा अफवाह बढी फैलने र जसका कारण सर्वसाधारणमा त्रासको वातावरण हुने भएकाले स्वास्थ्यकर्मीले समयमै आधिकारिक र सही सूचना प्रवाह गर्न सके सम्भावित जोखिम कम हुन्छ ।


अभिमुखीकरणमा कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशक डा. रविन खड्काले विपदको बेला स्वास्थ्य क्षेत्र अत्यावश्यक हुने भएकाले समयमै आधिकारिक र सही सूचना सम्प्रेषण गरी सम्भावित जोखिम कम गराउनुपर्ने बताए । उनले विपत्को बेला लक्षित समूहलाई गलत सूचना प्रवाह हुन नदिन स्वास्थ्य संस्था र तिनीहरूका आधिकारिक व्यक्तिको भूमिका गहन हुने भएकाले सही र गलत सूचना छनोट गर्नुपर्ने बताए ।

मन्त्रालयका स्वास्थ्य शिक्षा प्रशासक डा. राधिका थपलियाले विपदमा जहिले पनि सङ्कट आउने भएकाले स्वास्थ्यकर्मीले सही र आधिकारिक सूचना प्रवाह गर्नुपर्ने बताइन् । उनले पालिकाले गरेका काम राम्रोसँग भन्न नसक्दा, भन्न नजान्दा समस्या आउन सक्ने भएकोले निर्देशिकालाई अवलम्बन गर्न आग्रह गर्दै यसले काममा पारदर्शिता र जनतालाई विश्वास दिलाउन पनि सहज हुने बताइन् ।

सामाजिक विकास मन्त्रालयका स्वास्थ्य सेवा महाशाखा प्रमुख वृषबहादुर शाहीले गलत सूचना नै अहिलेको मुख्य चुनौती भएको टिप्पणी गरे । प्रदेश आपूर्ति व्यवस्थापन केन्द्रका निर्देशक डा. शक्ति सुवेदी, स्वास्थ्य सेवा निर्देशनालयका श्यामलाल आचार्य, किरण शर्माले विपदमा गरेका कामबारे जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सिधनियाघाटमा सात सय मिटर लामो पुल निर्माण शुरु

२१ फाल्गुन २०८०, सोमबार १७:१९
नेपालगञ्ज : हुलाकी सडक अन्तर्गत राप्ती नदीस्थित सिधनियाघाटमा सात सय मिटर लामो पुल निर्माण शुरु भएको छ । भौतिक पूर्वाधार मन्त्री भएका बेला जनता समाजवादी पार्टीका नेता मोहम्मद इस्तियाक राईले पुल निर्माणका लागि योजनासँगै वजेट विनियोजन गरेका थिए । राप्ती नदिमा आएको बाढीले पटक–पटक सडक तथा कल्भर्ट बगाउन थालेपछि तत्कालिन […]