सिधनियाघाटमा सात सय मिटर लामो पुल निर्माण शुरु

सदरलाइन संवाददाता २१ फाल्गुन २०८०, सोमबार १७:३१
 

नेपालगञ्ज : हुलाकी सडक अन्तर्गत राप्ती नदीस्थित सिधनियाघाटमा सात सय मिटर लामो पुल निर्माण शुरु भएको छ । भौतिक पूर्वाधार मन्त्री भएका बेला जनता समाजवादी पार्टीका नेता मोहम्मद इस्तियाक राईले पुल निर्माणका लागि योजनासँगै वजेट विनियोजन गरेका थिए ।

राप्ती नदिमा आएको बाढीले पटक–पटक सडक तथा कल्भर्ट बगाउन थालेपछि तत्कालिन भौतिक पूर्वाधार मन्त्री राईले सात सय मिटर लामो पुल बनाउने योजनासँगै वजेटको सुनिश्चितता गरेका थिए । त्यति बेलाको योजनामा परेको पुल निर्माण हुन थालेको हो । सम्झौता भएको ५३ महिनामा निर्माण सक्नेगरि लुम्बिनी–रौताहा बन्दना भगवती जेभीले पुल निर्माण शुरु गरेको छ ।

सिधनियाघाटमा रहेको पुल साँघुरो र छोटो भएकोले सात सय मिटर लामो पुल निर्माण गर्न लागिएको छ । अहिले सञ्चालनमा रहेको पुलमा एउटा गाडीमात्र ओहोरदोहोर गर्न मिल्ने छ ।

०८४ असार मसान्तमा सम्पन्न गर्ने गरि ०७९ माघमा सम्झौता भएको निर्माण कम्पनीका इन्जिनियर राजेश पटेलले बताए । उनका अनुसार अहिले निर्माण भइरहेको पुल सात सय मिटर लामो, ११ मिटर चौडा छ र दुवैतर्फ १ दशमलव ७५ मिटर फुटपाथ निर्माण गरिने छ ।


भ्याटसहित एक अर्ब १९ करोडमा निर्माणाधिन उक्त पुलको पाइलिङको काम भई रहेको छ । पाइलिङ र जाली बुन्ने काम सँगसँगै भइरहेको निर्माण कम्पनीले जनाएको छ ।

निर्माण कम्पनीका अनुसार तीन वर्षमा निर्माण सम्पन्न गर्ने गरि काम भइरहेको छ । लामो पुल नहुँदा राप्ती नदीमा आएको बाढीले सडक बगाउँदा गर्मी र हिउँदमा समेत आवतजावत गर्न समस्या हुने गरेको छ । बाढी बग्ने ठाउँमा सडक भएकोले हरेक वर्ष आउने बाढीले सडकका साथै कल्भर्ट समेत बगाएको छ ।

पुल निर्माण शुरु भएको सुनेपछि खुशी लागेको पूर्व मन्त्री मोहम्मद इस्तियाक राईले बताए । उनले आफूले ल्याएको योजना कार्यान्वयन हुँदा गर्व महशुस भएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भ्रामक सुचना नियन्त्रणबारे सञ्चार साक्षरता कार्यशाला

२१ फाल्गुन २०८०, सोमबार १७:३१
नेपालगञ्ज : बाँकेको गनापुरमा मिथ्या र भ्रामक सुचना नियन्त्रणबारे सञ्चार साक्षरता कार्यशाला सम्पन्न भएको छ । पाल्पा विकास केन्द्रको आयोजनामा विभिन्न सामाजि सञ्जाल तथा अनलाइन एवं सञ्चार गृहबाट सम्प्रेषण हुने समाचार र सुचनाहरु कतिसम्मका मिथ्या र भ्रामकसमेत हुने गर्छन् भन्ने बारे सहभागीहरुलाई सचेत गराउँदै केन्द्रका किरण कोशलले सञ्चार साक्षरता सम्बन्धी […]