सदरलाइन / रुद्र सुवेदी
३ असोज, नेपालगन्ज : भेरी–बबई डाईभर्सन परियोजनाको सुरुङ्ग खन्नको लागि प्रयोग हुने ‘डबल शिल्ड टनेल बोरिङ’ मेशिन ( टिबिएम) आयोजना स्थलमा ल्याई पु¥याईएको छ । परियोजनाको १२ किलोमिटर लामो सुरुङ खन्नका लागि भित्र्याइएको डबल शिल्ड टनेल बोरिङ मेशिन परियोजना स्थलमा ल्याई पुराएपछि यतिबेला धमाधम सो मेसिनको ‘एसेम्बलिङ्ग’ गर्ने कार्य सुरु भएको परियोजना प्रमुख शिवकुमार बस्नेत जानकारी दिए ।
उनले दिएको जानकारी अनुसार २७४ मिटर लामो यो मेशिन जडान गर्न मात्र करिब दुई महिना लाग्ने र मेसिन जडान लगत्तै कात्तिकबाट तीब्र गतिमा सुरुङ्ग निर्माणको कार्य अघि बढ्ने छ । नेपालमा ठूलो परियोजनामा पहिलो पटक यसरी टिबिएम मेशिन प्रयोग गर्न लागिएको हो । आयोजनामा मेसिन विना गर्न सकिने कामसहित सुरुङको मुख्यद्वारसमेत निर्माण गरि सकिएको छ । आयोजनाले टीबीएम मेसिन सञ्चालन गर्नका लागि आवश्यक पर्ने ४ मेगावाट ऊर्जाको समेत व्यवस्था गरि सकेको प्रमुख बस्नेतले बताए । चीनको समुद्रपार इन्जिनियरिङ ग्रुप र चिनियाँ रेलवे ब्यूरो लिमिटेडको संयुक्त निर्माणमा बनेको डबल शिल्ड टनेल बोरिङ मेशिन नेपाल ल्याइएको हो । यो मेसिन ठेकेदार कम्पनीको हो ।
नेपालको इतिहास मै यस्तो खाले उत्खनन् मेशिन पहिलो पटक भित्रिएको जानकारी दिदै परियोजनाका सिनियर डिभिजनल ईञ्जिनियर जगदिश्वरमान श्रेष्ठले भने–‘मेसिन जडानका लागि प्री–टनेल एरेञ्जमेन्टको काम सकिएको छ । नोभेम्बर महिनाको १० तारिकबाट टीबीएम मेसिन प्रयोग गरी टनेल खन्न सुरु गर्ने गरी तयारी गरिएको छ ।’ उनले टिबिएम मेसिनले टनेल खन्न सुरु गरेपछि कुनै बाधा र अवरोध नआए २ वर्षमा टनेलको कार्य सम्पन्न हुने आफुहरुको लक्ष रहेको बताए ।
उनले भने–‘महिनामा कम्तीमा पनि ५ सय मिटर खन्ने लक्षका साथ अघि बढेका छौ । कुनै बाधा र अवरोध नआए निर्धारित अवधीमै टनेलको काम सम्पन्न हुनेछ ।’ उनले टिबिएम मेसिन चलाउनलाई आवश्यक पर्ने उर्जाको लागि दैनिक २० हजार लिटर डिजलको आवश्यक पर्ने भएकोले करिव १० दिनको ईन्धन भण्डारण गर्ने क्षमता मात्रै आफुहरुसंग भएको बताए ।
राष्ट्रिय गौरवको यो परियोजना अन्तर्गत भेरी नदीको पानी बबई नदीमा खसाल्नका लागि १२ किलोमिटर लामो सुरुङ खन्न टीबीएम मेसिन प्रयोग गर्न लागिएको हो । यो प्रविधि नेपाल मै पहिलोपटक भित्रिएको हो । बबई नदीको किनारबाट सुरुङ खनेर सुर्खेत भेरीगंगा नगरपालिकास्थित चिप्लेबाट भेरीको पानी बबईमा खसालिने छ । टनेल बोरिङ मेशिनले नेपालको उत्खनन् क्षेत्रमा ठूलो अपेक्षालाई साकार तुल्याउने दाबी गरिएको छ ।
परियोजना सिनियर डिई श्रेष्ठका अनुसार दुई महिनाअघि चीनको सङ्घाईमा निर्माण सम्पन्न भएर कलकत्ता भन्सारमा पुगेपछि अगष्ट २७ मा कलकत्ता भन्सारको सबै क्लियरेन्स पूरा भएको र त्यहाँबाट गत सेप्टेम्बर २ मा नेपाल प्रवेश गर्ने गरी सबै भन्सार प्रक्रिया पनि पूरा गरिएको थियो । तीव्र गति र लामो गहिराईसम्मका टनेल खन्ने क्षमता भएको यस मेशिनको व्यास ५ दशमलभ ६ मिटर छ । ५४ वटा कन्टेनरमा र १२ वटा हेभि ट्रकमा राती मात्र बाटो एकतर्फि गराउदै आयोजनास्थलमा पु¥याईएको हो ।
सुरुङभित्र आफै खन्दै बाटो बनाउँदै सर्पझैँ घिस्रिँदै अगाडि बढ्ने यो मेसिन विकसित देशहरूमा खासगरी भूमिगत मेट्रो रेलमार्ग निर्माणमा प्रयोग गरिन्छ । त्यस्तै जलविद्युत आयोजना वा खानेपानी आयोजनाको सुरुङ खन्न पनि यो मेशिन प्रयोग गरिन्छ । यो काम कुनै व्यवधान नभए सन् २०२० सम्म सम्पन्न हुने आयोजनाका सिनियर डिई श्रेष्ठले जानकारी दिए ।
उनले २४ घण्टा काम सञ्चालनमा रहेको जानकारी दिए । मेसिनले सुरुङ्ग खन्न सुरु गरेपछि माटो फाल्दै स्लेप ढलान राख्दै जानु पर्ने भएकोले स्लप सेगमेन्ट बनाउने कार्य नियमित भई रहेको बताए । उनले हाल ६५ जना चिनियाँ र २सय ५० जना नेपाली जनशक्ति २४ सै घण्टा काममा खटिएको जानकारी दिए ।
भेरी बबई सिचाई तथा जलविद्युत परियोजना राष्ट्रिय गौरवको आयोजना हो । जसलाई रणनीतिक महत्व दिएर सरकारले निर्माण कार्य अगाडि बढाइरहेको छ । १५ मिटर अग्लो यो ड्यामबाट प्रतिसेकेण्ड ४० क्यूविक मिटर पानी भेरीबाट बबई नदीमा फाल्ने योजना छ । निर्माण परियोजनामा १२ किलोमिटर गहिराइसम्म खन्ने क्षमता भएका यस्ता मेशिनले विकासको मार्गमा अघि बढेको नेपाललाई ठूलो सहायता पुग्नेछ ।
पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्यका साथ सुरु भएको परियोजना सम्पन्न भए ४८ मेगावाट जलविद्युत उत्पादन हुनेछ भने बिजुली निकालिएको पानीबाट बाँके र बर्दिया जिल्लामा ५१ हजार हेक्टर क्षेत्रफलमा १२ महिनै सिचाईं सुविधा हुनेछ । यो परियोजनाबाट उत्पादन भएको विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोडिने छ ।
अबको दुई महिनाभित्रै सुरुङ खन्ने काम सुरु हुने भएकाले यस क्रममा आइपर्ने बाधाहरु हटाउनका लागि सबैको सकारात्मक सहयोग आवश्यक रहेको आयोजना प्रमुख बस्नेतले बताउछन । मध्यपश्चिमको आर्थिक समृद्धिसँग जोडिएको उक्त बहुउद्देश्यीय आयोजनाको काम तीव्र भएसँगै सर्वसाधारण उत्साहित देखिएका छन् ।
आयोजना निर्माणका लागि सिँचाइ विभाग र चाइना ओभरसिजबीच २०७१ माघ १६ गते ठेक्का सम्झौता भएको थियो । १६ अर्व खर्च लाग्ने अनुमान गरिएको आयोजनाको २०७१ चैत १९ गते तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले शिलान्यास गरेका थिए । आयोजनाले सुर्खेतका २२, सल्यानका ३ र बर्दियाको १ गाविसलाई समेटेको छ । आयोजना निर्माणको जिम्मा चिनियाँ ठेकेदार कम्पनी चाइना ओभरसिज इञ्जिनियरिङ ग्रुप कम्पनी लिमिटेडले पाएको छ ।
![](https://sadarline.com/wp-content/uploads/2023/06/355735841_163168713323414_6806641009584846467_n.jpg)
![](https://sadarline.com/wp-content/uploads/2023/10/Ntc-add-1-.jpg)