बाँकेको परसपुर–गौघाट सडक निर्माणमा ढिलाई

सदरलाइन संवाददाता ४ फाल्गुन २०८०, शुक्रबार १७:३९
 

नेपालगञ्ज : परसपुर–गौघाट सडक खण्ड निर्माणको जिम्मेवारी पाएको कन्काई–गणपति जेभीलाई कारबाही गर्ने प्रक्रिया अगाडी बढेको छ । सम्झौता अनुसार निर्माण कार्यको प्रगति सन्तोषजनक नभएको भन्दै सडक डिभिजन कार्यालय नेपालगञ्जले कन्काई–गणपति जेभी सहित ९ वटा कम्पनीलाई सातदिन भित्र कार्य सम्पादन सन्तोषजनक नभएको बारेमा लिखित प्रतिवेदन सहित कार्यालयमा सम्पर्क गर्न सुचना जारी गरेको थियो ।

सडक डिभिजन कार्यालय नेपालगञ्जका प्रमुख सिनियर डिभिजन इन्जिनियर निरज शाक्यले हालसम्म १२ प्रतिशत मात्रै काम सम्पन्न भएकोले कारबाहीका लागि पहिलो चरणको प्रक्रिया अगाडी बढाउनु परेको बताए ।

उनले भने, “परसपुर–गौघाट सडक खण्डको निर्माण कार्य निकै सुस्त छ । निर्माणको जिम्मेवारी पाएको कम्पनीको कार्य प्रगति सन्तोष जनक नभएकोले प्रक्रिया अनुसार हामीले पहिलो चरणमा कार्यसम्पादन ढिला हुनुको कारण मागेका छौं ।“

कार्यालय प्रमुख शाक्यले परसपुर–गौघाट सडक खण्ड अब निर्धारित समयमा सम्पन्न हुन निकै कठिन भएको बताए । उनले भने, “अब करिब ६ महिना बाँकी छ । यस अवधिमा काम सम्पन्न गर्न कठिन छ । त्यसैले सम्झौता अनुसार काम नगर्ने कम्पनीलाई कारबाहीको प्रक्रिया अगाडी बढ्छ ।“

बाँके पश्चिमतर्फको सीमावर्ती क्षेत्रमा पर्ने परसपुर–गौघाट सडक खण्ड निर्धारित समयमा सम्पन्न हुने सम्भावना सकिँदै गएको छ । जानकी, खजुरा र बर्दिया बढैयातालका जनताहरुले नेपालगञ्ज आवात जावतमा प्रयोग गर्ने सडक समयमै नबन्ने करिब पक्का देखिएको छ ।


संघीय सरकारको बजेटमा निर्माण हुन लागेको परसपुरदेखि गौघाटसम्म १० किलोमिटर सडक निर्माणको लागि कन्काई–गणपति जेभिले १४ करोड रुपैयाँमा ठेक्का पाएको थियो ।

निर्माण कार्य सम्पन्न गर्न करिब ६ महिना बाँकी रहँदा कामको प्रगति सन्तोषजनक छैन । ठेकेदार कम्पनीले काम गर्छु भनेर आश्वासन दिएपनि निकै सुस्त गतिमा निर्माण कार्य अघि बढिरहेको बताउँछन् खजुरा गाउँपालिका वडा नम्बर २ का अध्यक्ष धनराम ओली । उनले भने, “स्थानीय जनतालाई निकै कठिन भैरहेको छ । अहिले धुलोले समस्या पारेको छ, वर्षातमा हिलोले जनतालाई आवतजावतमा अप्ठयारो पर्ने गर्छ । निर्माणको ठेक्का पाएको कम्पनीलाई बारम्बार दबाब दिएपनि कामको गति सन्तोष जनक छैन ।“

परसपुर–गौघाट सडक खण्डको अवस्था बिग्रिएका कारण दैनिक रुपमा बाँके र बर्दियाका जनताले दुःख पाउँदै आएका छन् । सम्झौता अनुसार कन्काई–गणपति जेभिले २०७९ वैशाख देखि निर्माण कार्य शुरु गरेर २०८१ भदौ २५ सम्म योजना सम्पन्न गर्नुपर्ने हुन्छ । तर कन्काई–गणपति जेभिले सम्झौता भएको १६ महिनापछि मात्रै काम शुरु गरेको थियो । सम्झौता भएर पनि काम शुरु नभएपछि स्थानीय जनताले बिरोधद जनाउँदै आएका थिए ।

कन्काई–गणपति जेभिका प्रमुख तुलसीराम भण्डारीले निर्माण कार्य सम्झौता अवधिमै सम्पन्न गर्ने दाबी गरे । तर उनले भने अनुसार उक्त सडक खण्ड सम्झौता अवधिमा सम्पन्न हुन कठिन देखिएको छ ।

एक दशकअघि उक्त सडकको कालोपत्रे गरिएको थियो । तर सडकको अवस्था बिग्रदै गएपछि २०७४ सालमा कालोपत्रे भत्काइएको थियो । त्यसपछि बजेट अभाव कारण उक्त सडकखण्ड निर्माणमा ढिलाई भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

‘गुणस्तरीय काम गर्ने व्यवसायीलाई सम्मान गरिने’

४ फाल्गुन २०८०, शुक्रबार १७:३९
नेपालगञ्ज : भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले विकास निर्माणका आयोजनामा हुनेगरेको ढिलासुस्ती र गुणस्तरमा सरकारले कुनै सम्झौता नगर्ने बताएका छन् । राष्ट्रिय गौरवको हुलाकी सडक आयोजना अन्तर्गत निर्माणाधीन नेपालगञ्ज–गुलरिया सडक खण्डको स्थलगत अनुगमन तथा निरीक्षणपछि शुक्रबार बाँकेको खजुरामा आयोजित अन्तरक्रियामा मन्त्री ज्वालाले भने, ‘ठेक्का लिने, काम नगर्ने निर्माण व्यवसायी […]