नेपालगञ्जस्थित भेरी अस्पतालमा ‘एमआरआई’ सेवा शुरु

सदरलाइन संवाददाता २५ माघ २०८०, बिहीबार १७:४२
 

नेपालगञ्ज : पश्चिम नेपालको विशिष्टिकृत अस्पतालका रूपमा विकसित भइरहेको नेपालगन्जस्थित भेरी अस्पतालमा एमआरआई (म्याग्नेटिक रेजोनेन्स इमेजिङ) मेसिन सञ्चालनमा आएको छ ।

बिहीबार नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट र अस्पताल विकास समितिका अध्यक्ष वीरेन्द्रबहादुर शाहले एक कार्यक्रमबिच एमआरआई मेसिन सञ्चालन सेवाको उदघाटन गरेका हुन् ।

नेपालगञ्ज उपमहानगर प्रमुख प्रशान्त विष्टले लामो प्रतीक्षापछि भेरी अस्पतालमा एमआरआई सेवा सञ्चालनमा आएपछि बिरामीले राहत पाउने बताए । उनले एमआरआई सेवा सञ्चालनसँगै यसलाई कसरी दिगोपना दिन सकिन्छ सोको बारेमा सोच्नुपर्ने बताए । नगरप्रमुख विष्टले सेवा सञ्चालनका लागि हालको विकास समिति तथा अस्पताल प्रशासन र पूर्व विकास समिति र अस्पताल प्रशासनलाई धन्यवाद समेत प्रदान गरे । उनले एमआरआई सेवा सञ्चालनलाई आवश्यक पर्ने भौतिक तथा आर्थिक सहयोग समेत उपमहानगरले प्रदान गर्ने प्रतिबद्धता जनाए ।

अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.पवनजङ्ग रायमाझीले लुम्बिनी प्रदेशकै सरकारी अस्पतालमध्ये भेरी अस्पतालमा पहिलो पटक विशिष्ट क्षमताको म्याग्नेटम भिटा सिष्टमको थ्री टी एमआरआई मेसिन सेवा सञ्चालनमा आएको बताए । उनले यो मेसिनले बिरामीका विभिन्न रोगहरू पहिचान गरी रोग निदानको माध्यम हुने बताए ।

एमआरआई सेवा लिने बिरामीलाई अस्पतालले न्यूनतम शुल्क तोक्नै पर्ने बाध्यता भएको भन्दै उनले सबै नागरिकलाई सरकारले लागू गरेको स्वास्थ्य बिमा गर्न पनि सल्लाह दिए । बिमा कार्यक्रममा आवद्धत भएपछि हरेक नागरिकले यो सेवा पनि निःशुल्क पाउने उनको धारणा थियो ।

रेडियोलोजी विभाग प्रमुख डा.विश्वनाथ शर्माले विशिष्ट क्षमताको म्याग्नेटम भिटा सिष्टमको थ्रि टी एमआरआई मेसिनले बिरामीका शरीरभित्रका विभिन्न अङ्गहरू तथा नसाहरूसम्म पुगेर सूक्ष्म तरीकाले हेर्न सकिने बताए । मानिसका शरीरमा भएका चुम्बकीय शक्तिका कारण यो मेसिनमार्फत साना–साना रोगहरू पत्ता लगाउन सहज हुने उनले बताए । एमआरआई गर्दा सामान्य आधादेखि एक घण्टाको समय लाग्ने भन्दै उनले मानिसलाई यसको प्रयोगबाट साइड इफेक्ट तथा कुनै किसिमको नकारात्मक प्रभाव हुने सम्भावना एकदमै कम हुने उनको भनाइ थियो ।


अस्पताल विकास समितिका अध्यक्ष वीरेन्द्रबहादुर शाहले लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम क्षेत्रका जनताको रिफरल सेन्टरका रूपमा रहेको भेरी अस्पतालमा एमआरआई सेवा सञ्चालनसँगै नागरिकले चर्को शुल्क तिरेर निजी अस्पतालमा धाउनुपर्ने बाध्यता हटेको बताए । उनले एमआरआई गर्नुपर्ने बिरामीले अब भेरीबाटै न्यूनतम शुल्कमा सेवा लिन सक्ने बताए । सरकारले लागू गरेको स्वास्थ्य बिमामा सम्पूर्ण नागरिकहरू आबद्ध भए यो सेवा पनि निःशुल्क हुने बताउँदै उनले जिल्लाका सबै स्थानीय तहका प्रमुखहरूसँग यस विषयमा छलफल गर्ने योजना बनाएको पनि जानकारी दिए । एमआरआई सेवासँगै अस्पतालमा अन्य विशिष्टकृत सेवाहरू पनि निरन्तर सञ्चालन गरिने उनले बताए ।

यस्तै, अस्पतालमा बिहीबार एमआरआई मेसिन उदघाटन गरिएसँगै सेवा पनि शुरु भएको छ । अस्पतालले उदघाटनकै दिनमा पहिलो एमआरआई सेवा लिने सेवाग्राहीलाई निःशुल्क सेवा प्रदान गरेको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाका १९ वर्षीया निलम वर्मालाई पहिलो सेवा प्रदान गर्न लागिएको रेडियोलोजी विभागका रेडियोटेक्नोलोजिष्ट इन्चार्ज स्निता गुरुङले बताए । गुरुङका अनुसार बिरामी निलम केही दिन अघि अस्पतालकै गाइनो वार्डमा सुत्केरी भएकी थिइन् । सुत्केरी भएकी वर्माको शिशुको मृत्यु भएको थियो । तत्पश्चात् बिरामी वर्माको हातखुट्टा नचल्ने समस्या देखिएको थियो । सम्बन्धित विभागका चिकित्सकको सिफारिस अनुसार वर्माको एमआरआई गर्न लागिएको गुरुङले बताए । आर्थिक अवस्था एकदमै कमजोर भएका कारण अस्पतालले निःशुल्क सेवा दिन लागेको हो ।

प्रमोद धिताल अध्यक्ष रहेको तत्कालीन अस्पताल विकास समिति तथा तत्कालीन अस्पताल प्रशासन प्रमुख मेसुहरू डा.प्रकाश थापा, डा.रेन्द्रबहादुर चन्द र डा.बद्री चापागाईँको अथक पहलपश्चात् गत साउन महिनाको पहिलो हप्ता भेरी अस्पतालमा उक्त एमआरआई मेसिन आइपुगेको समितिका पूर्वसदस्य कृष्णप्रसाद श्रेष्ठले जानकारी दिए ।

बुधबार मात्र बसेको अस्पताल विकास समितिको पहिलो बैठकले अस्पतालमा एमआरआई मेसिन तत्काल सञ्चालन गर्ने निर्णय गरेको अस्पताल विकास समितिका सदस्य डा.डक्टप्रसाद धितालले बताए ।

न्यूरोसर्जरी, आर्थोस्कोपी लगायत विभिन्न विशिष्टिकृत सेवा शुरु भइसकेको सरकारी भेरी अस्पतालमा एमआरआई मेसिन जडानपश्चात् सेवा प्रवाह भएपछि एमआरआई गर्नुपर्ने बिरामीहरू अब निजी अस्पतालमा पुगेर चर्को शुल्क बुझाएर सेवा लिनु नपर्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

निकुञ्ज क्षेत्रभित्र विकास निर्माणको काम अगाडि बढाइने

२५ माघ २०८०, बिहीबार १७:४२
नेपालगञ्ज : भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले निकुञ्ज क्षेत्रभित्र विकास निर्माणको काम अगाडि बढाउन समस्या देखिएकाले समाधानका लागि संसदमा छलफल भइरहेको बताएका छन् । बाँकेको चप्परगौडी हुँदै सल्यानको घुइयाबारी जोड्ने सडकको बिहीवार अनुगमन गर्ने क्रममा मन्त्री ज्वालाले निकुञ्जको विद्यमान नीतिलाई संशोधन गरेर भएपनि समस्या समाधान गर्ने बताए । […]